:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

नेप्चे निकै खुसि थियो, घाम चर्केँ छँदा उसको डोकोको आधा भन्दा बढि फर्सी बिकिसकेको थियो र गालेको डोको अझै लगभग भरिएको थियो। गाले टुलुटुलु बजारमा आवत जावत गर्ने मान्छेको अनुहार तिर हेरिरहेको थियो र ऊ तिर बढेर कसैले फर्सी किनिदिने आशमा थियो।

" तरकारी च्युरा खान्छस?"

नेप्चेले पटुकाबाट केहि गुजुमुजु परेका नोट निकाल्दै गाले तिर हेरेर भन्यो।

गालेले पुलुक्क नेप्चेलाई हेर्यो र बिस्तारै भन्यो-

"फर्सि बिक्या छइन, पइसो नि छइन क्यारि खानु, भोक त ला थो!"

नेप्चेले गालेको कुरा सुनेर अनुहारमा घमन्डको भाव ल्याउँदै भन्यो-

" हाम्रो बिको नि फर्सि, पइसो चाइँदइन म ख्वाउँछु तँलाई!"

गालेले झन लाटो अनुहार बनाउँदै नेप्चेतिर हेरेर दाँत देखायो र भन्यो-

कति भओ तेरो?

भयो नि गोडा तीन बिस चानचुन, एसो बोल्नु गफ गर्नु हाँस्नु अन्खेरुन पो भन्या दाम्मा फर्सि बिक्छ! चुपोss लाएर तेरा तरिकाले त डोकैमा कुइएर बस्छ, खाजा खान नि नपा'र भुँडि दोबारेर बस्छु पर्छ अनि!

नेप्चेले गालेको सोझोपनलाई हल्का होच्याउँदै आफ्नो सम्पूर्ण फर्सि बिकेको अभिमान प्रदर्शन गर्न थाल्यो; शायद उसको आफ्नो फर्सि बिकेकोमा भन्दा ऊ गाले भन्दा बाठो भएको कारणले फर्सि बिकेको सम्झेर बढि घमन्डमा थियो।

म पसलाँ ग'र तरकारी चिउरा किनेर ल्याउँछु!

नेप्चे गुजुमुजिएको पैसा संगाल्दै एकातिर लाग्यो।

गाले नेप्चेको तरिकाले प्रभावित देखिन्थ्यो। गालेले नेप्चेको कुरा बुझ्यो तर उसले देखाएको अभिमान बुझेन। उसले बस स्विकार गरेको थियो कि नेप्चेलाई बोल्न र फर्सि बेच्न उसलाई भन्दा धेssरै आउँछ।

भुइँमा बोरा ओछ्छ्याइएको थियो र बोरामै फर्सिले भरिएको डोको ढालेर राखिएको थियो। जसले गर्दा केहि फर्सि बोरामा थिए र डोकामा पनि थिए। गाले एउटा ढुङ्गामा बसेको थियो। बाटोमा मान्छेहरु कहिलेकाहिँ हिँड्थे, पुलुक्क फिँजाइएको फर्सीमा एकछिन हेर्थे र पुलुक्क गालेतिर एक उपेक्षित नजर दिँदै आफ्नो बाटो लाग्थे।

गालेले फर्सिको थुप्रोतिर नजर लग्यो।

हरिया छिर्बिरे गोलाकार ताजा र रसिला फर्सी थिए। गालेले एकटकले फर्सिहरु हेरिराख्यो। उसको पसिना, उसको सपना, उसको मिहिनत सबै यहि फर्सि थिए। कलिला फर्सिका डल्लाहरु उसलाई सुन्दर लागे। उसले बिस्तारै दाहिने हातले एउटा फर्सि छोयो र केहि बेर मुसार्यो। बुढि औँलाको नङ अलिकता गाड्यो र फर्सिमा घाउ बनायो। नङको आकार जस्तै गाढा हरियो देखियो त्यो भाग!

फर्सि त अनपारको छ! नेप्चेको छिप्पिसक्या फर्सि चाहिँ किन्छन् मान्छेहुर मेरो क्यार्न नकिन्या होलान्?

उसले सोच्यो र फेरि बाटोतिर कोहि आउने आशामा टुलुटुलु हेर्न थाल्यो।

रातो खास्टो टाउकाको पछाडि सम्म ओढेर फटाफट हिँड्दै एकजना युवती गालेको फर्सि हो या गालेलाई हेर्दै आउँदै गरेको गालेले देख्यो। उ सतर्क भयो र ढुङ्गामा तन्किएर बस्दै यता आउँदै गरेकी युवतीलाई हेर्न थाल्यो।

युवती वास्तवमा नै यतै आउँदै थिइन्। गालेको अगाडि आएर उनि टक्क उभिइन् र मुसुक्क गालेतिर हेरेर हाँसिन्। गाले वाल्ल पर्यो। उसले थाहा पाए देखि र ऊ जवान भए देखि कुनै पनि स्त्रीले उसलाई हेरेर मिठो हाँसो मुखमा ल्याएको उसलाई थाहा थिएन। फर्सि किन्न आउने स्त्रीहरु पनि रुखो स्वरमा फर्सीको भाउ सोध्थे, रिसाउँदै घटाउँदथे र फत्फताउँदै महंगो भयो भनेर पैसा गालेतिर हुर्याएर फर्सी लिएर जान्थे! उसले पल्याक पुलुक यताउता हेर्यो। वरिपरी कोहि थिएनन्। उसले फेरि युवतीतिर हेर्यो, उनि अझै गालेलाई हेरेर मुस्कुराउँदै थिइन्। गालेले युवतीलाई चिन्यो। सधैँ बजारमा केहि बेच्न आउँदा उसले खाजा खाने गरेको पसलेको छोरी बसन्ती थिइन्। चिनेपछि गाले झन वाल्ल पर्यो। खाजा किन्न पसलमा जाँदा उसले बसन्तीलाई देख्ने गर्दथ्यो र उसलाई देख्नासाथ गाले भित्रभित्रै केहि खुम्चिएको हुन्थ्यो। देख्नासाथ एकैपटक उसलाई आफू युवा भएको , गरिब भएको, सोझो भएको र व्यक्तित्वविहिन भएको थाहा हुन्थ्यो।

कुनबेला आयौ गालु तिमी फर्सि बेच्न?

बसन्तीको स्वर सुनेर गाले तिनछक पर्यो। उसले महशुस गरे सम्म कयौँ पटक बसन्तीको पसल गयो होला ऊ, तर बसन्तीले कुनै दिन पनि उसलाई देखेकि थिइनन् वा हेर्दिनथिइन् र अहिले बसन्ती ऊ भएको ठाउँमा आउनु र अझ मायालु पाराले 'गालु' भनेर सम्बोधन गर्नु उसको लागि कुनै चमत्कार जस्तो थियो। अझ बढि चमत्कार त उसको नाम बसन्तीलाई थाहा हुनु थियो। उसलाई हल्का लाज लागेको जस्तो भयो।

फ् फर्सि हउरभर्खरहइन ब्यान!

उसले जवाफ दिँदा उसलाई मुख सुखेको अनुभव भयो र उसको अस्पष्ट बोलि निस्कियो। बोल्दाखेरि उसको देब्रे हत्केलाले उसको नाक र मुख लगभग छोपेको थियो र दाहिने हात एउटा फर्सीमा थियो र शायद काम्दै थियो। शायद उको मुटु पनि जोडजोडले ढुकढुक गर्दै थियो।

आँखा झिमिक्क पनि नगरी ऊ बसन्तीलाई हेर्न थाल्यो।

बसन्तीले मायालु पाराले हँसिलो अनुहार लिएर गालेलाई हेरिन् र फेरि भनिन्-

कठैबरा ब्यान देखुन आ रेछ, भोक लाग्यो होला हई?

गाले अक्क न बक्क भयो। उसलाई के भन्ने उत्तर नै आएन। सबैकुरा नौलो भइराखेको थियो।

लाया छछइन….नेप्चेसाथि लिन गा छ तरकारि चिउरा!

गालेले बल्ल बल्ल उत्तर दियो।

बसन्तीले 'बिचरा को भावमा फेरि मुस्कान बिछाइन् र टुक्रुक्क अगाडि बसिन्। खास्टो भित्र लुकाइ राखेको हात निकालिन् र कागजले पोको पारेको केहि चिज झिकेर गालेको अगाडि राखिदिँदै भनिन्-

गालु, भोक लाया छ तिम्लाई मइँले दोटा फुल ल्याइद्या छ यो मजाले खाऊ, अन्खेरुन बिचरा फर्सी नि बिक्या रइन्छ, म एकछिनपछि आर तिम्रो फर्सि सपै किन्दिन्छु है?

गालेलाई मध्य निद्रामा सपनामा उड्दै कतै झर्दै गरेको अनुभव भयो।

गालेको बोलि घाँटिमा कतै अड्कियो, ऊ केहि बोल्न खोज्दै थियो बसन्ती कुखुराको फुलको पोका त्यहिँ राखेर जुरुक्क उठेर फटाफट हिँड्दै पसलतिर लागिन्।

परबाट नेप्चे एउटा प्लास्टिकको थैलामा कुनै तरकारीको पँहेको झोल र अर्को प्लास्टिकको थैलामा च्यूरा लिएर आउँदै थियो।

गालेको संसार अझै उड्दै थियो।

उसले बिस्तारै कागजको पोकातिर हात बढायो र पोको फुकाउन थाल्यो। भित्र दुईवटा उसिनेको कुखुराका फुल थिए। एकछिन किर्कर्तव्यविमूढ भावमा त्यसै वाल्ल परेर बस्यो र परतिर हेर्न थाल्यो। नेप्चे नजिक आउँदै थियो।

गालेले केहि सोच्यो र एउटा फुल छोडाउन थाल्यो। फुल छोडाएर हातमा लिँदै लगभग आधा फुल क्वाप्प मुखमा हाल्यो र सुख्खा घाँटिबाट किक्लिक्क गर्दै निल्न थाल्यो।

नेप्चे आइपुग्यो।

गालेले फुल खाएको देखेर नेप्चे अचम्ममा पर्यो। तरकारी च्युरा खाने पैसा समेत नभएको सोझो गाले, कपाकप उसिनेको कुखुराको फुल खाँदै थियो।

गालेलाई हेर्दै ढुङ्गामा बस्दै नेप्चेले सोध्यो-

काँटि ल्याइस बज्जे फुल?

गाले जवाफ दिन खोज्दै थियो तर मुखभरि फुल भएकोले केहिबेर फुल चपाउँदै ठुला ठुला आँखा पारेर नेप्चेतिर हेर्दै गर्यो र अन्त्यमा निकै सकसका साथ फुल घाँटिभित्र हुलेर भन्यो-

तो खाजा पसलाटि बसन्तीले ल्याइदेकि, म भोकाएँ भनेर रे!

गालेले अचम्ममा पर्दै उत्तर दियो।

नेप्चे सतर्क देखियो। त्यस्ती पोटिली, रसिली र राम्री बसन्तीले गाले जस्तो सोझोलाई भोक लाग्यो भनेर कुखुराको फुल ल्याइदिएको कुरा उसलाई पचाउन गाह्रो भयो तर उसलाई थाहा थियो गालेले झुटो कुरा गर्न जान्दैनथ्यो।

नेप्चेले बसन्तीलाई सम्झियो र पसलमा चिया खाजा खाँदा उसले लुकेर बसन्तीलाई चिहाएको सम्झियो। बसन्ती हिँड्दै पसलमा यताउता गरेको सम्झियो। त्यहि बसन्तीले गालेलाई भोक लाग्यो भनेर फुल ल्याइदिएकी रे! यो चानचुने कुरा थिएन।

नेप्चेको पेट पोल्यो।

खुर्खुरु आर तँलाई फुल ल्यार दि तेल्ले?

नेप्चेले सशंकित पाराले सोध्यो।

गालेले अर्को गाँसमा फुल सबै मुख भित्र हुल्यो र एकछिन चपाउँदै निलेर आश्चर्य र खुसि मिश्रित स्वरमा जवाफ दियो-

खुर्खुरु आर मलाई भोक लाग्यो होला भनेर फुल देर गइ, फर्सि नि सपै किन्दिने रे मेरो!

नेप्चेको पेट पोलाई झन तिव्र भयो। केहि बेर केहि सोच्यो। गालेलाई निकैबेर तलदेखि माथि सम्म हेर्यो र फेरि केहि सोच्यो, गालेलाई माया गरेर बसन्ति जस्तो राम्रि तरुनि केटिले कुखुराको फुल ल्याएर दिनु उसलाई लगभग असंभव लाग्यो।

यस्तो हेर्दै गोज्याङ्ग्रेलाई नि हेर्लि अब कोइ नपार तेस्ति अप्सरा जस्तिले!

नेप्चेले आफ्नो मन बुझायो।

भोको गाले चुपचाप अर्को फुल छोडाउनमा व्यस्त थियो।

नेप्चेले प्लास्टिकको थैलामा कुहिनु सम्म दाहिने हात छिरायो र मुट्ठी भरि च्यूरा लिएर हल्का टाउको ठाडो पारेर सबै चिउरा मुखमा हुलेर चपाउँदै च्यूराको थैला गालेतिर बढाउँदै फेरि सोध्यो-

हैन खुर्खुरु नै आर केइ नभनि तँलाई फुल देर सपै फर्सि किन्दिन्छु भनेर गइ रे?

गालेले फुल छोडाउन छाडेर नेप्चेले दिएको थैलाबाट एक मुठि च्यूरा निकाल्यो र फुल बेरेको कागजमा राख्दै भन्यो-

मेरो त नाउँ नि था रेछ तेल्लाई!

गालेले फेरि बाँकि फुल छोडाउन थाल्यो।

के रे?

नेप्चेको मुखबाट अबिश्वास निस्कियो। उसले च्यूरा चपाउन बिर्सियो।

तँलाई तेल्ले, गाले तँ भोकाइस फुल खा भनेर नै भनि तेल्ले?

नेप्चेले एकोहोरो गालेलाई हेर्दै सोध्यो।

तेइ त भन्या, गालु तिम्लाई भोक लागो होला भनेर फुल देर फर्सि किन्दिन्छु भनेर गइ भन्या!

गालेले दोश्रो फुलको पहिलो गाँस मुखमा हुल्दै बोल्यो।

नेप्चेलाई चपाइराखेको च्यूरा घाँटिमा कतै अड्किएको आभाष भयो। एक पटक नराम्रो संग खोक्यो र हत्त पत्त तरकारीको थैलिको मुखमा मुख राखेर थैलि घोप्ट्याएर मुखभरि तरकारि हालेर निल्यो। निकैबेर केहि सोच्दै गालेले कुपुकुपु फुल खाएको हेर्न थाल्यो। नेप्चेको पेट पोलाई अझै तिव्र भएर आयो।

कसरि था पा होलि मेरो नाउँ है?

गालेले फुलको अन्तिम गाँस निल्दै नेप्चेतिर हेरेर भन्यो।

नेप्चेले गालेलाई नियालेर हेर्यो। उसलाई यस पटक गाले त्यति हेर्न नहुने लागेन।

राम्रो त राम्रै हो बज्जे!

मनमनै भन्दै केहि सोच्दै तन्किएर बसेर प्रत्यक्षत: नेप्चेले हँसिलो हुँदै गालेको उत्तर दिँदै भन्यो-

तेरो नाउँ त मइँले सधैँ तेसको पसलमा भन्छु नि मेरो सइँ भनेर!

गालेले तुरन्तै विश्वास गर्यो र अनुग्रहित भएको पाराले नेप्चे तिर हेर्यो र भन्यो-

तइँले भन्या रेछस र पो मेरो नाउँ था पा रेछे त!

नेप्चेले सहमतिमा टाउको हल्लायो र घोरिएर सोच्न थाल्यो।

उसले बेला बेलामा खाजा खान जाँदा बसन्तीलाई हेर्ने गरेको सम्झियो।

बिछट्ट राम्रि छे छन नि!

बसन्तिलाई सम्झँदै मनमनै भन्यो।

गाले तिर हेर्यो। उसको पेट फेरि पोल्न थाल्यो।

निकै बेर केहि सोच्यो र जुरुक्क उठेर गालेलाई हेर्दै भन्यो-

च्या खान मन लाओ मलाई म च्या खार अलिब्यारमा आम्छु है?

गालेले पुलुक्क नेप्चेलाई हेर्यो र सहमतिमा टाउको हल्लायो। (क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:00 PM ] | Viewed: 2054 times [ Feedback]


: