:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

रिट्ठेलाई सम्पूर्ण ब्रम्हान्ड घुमेको जस्तो लाग्दै थियो। टाउकोभित्र कतै तिखो दुखाई थियो र तिघ्राका मासुहरु गलेका थिए! बिउँझिए पनि उसलाई आँखा खोल्न मन लागिरहेको थिएन। छातिमा पनि कतै भित्र पिडा महसुर गर्दै थियो। बिस्तारै आँखा खोल्यो, झलमल्ल बिहानको उज्यालोमा मक्किएको दलिन उसको आँखा अगाडि आयो। टाउकोको दुखाई झन तीव्र भयो। उसले गिदी हल्लिएको अनुमान गर्यो। " धोक्न नि बेसरि धोकेछु डरको सुरमा!" मनमनै बोल्दै जिऊ तन्कायो! "हर्के र दीप नि पसारिराका होलान्! कति बजो कुन्नि?" यति भन्दै बिस्तारै दुखाइले मुख बिगार्दै पल्याक पुलुक दायाँ बायाँ हेर्यो। कोठामा ऊ मात्रै थियो र बाहिर कतै कुकुर भुकेको र केटाकेटिहरु कराएको कल्याङमल्याङ आवाज आइरहेको थियो। एक पटक जिऊ मजाले तन्कायो र हिजो रातीको बारेमा सोच्न थाल्यो। अचानक उसले हिजोको कमाई सोच्यो र जुरुक्क उठेर पटुकातिर हात र नजर एकै पटक बढायो। पटुकाको गाँठो खुलेको थियो र उसका सबै पैसा गायब थिए। नराम्रो संग आत्तियो। कम्मरमा मुजा परेर बेरिएको र अझै सुनिनसकेको सुरुवाल भित्र सम्म हात कोचेर पैसाको पोको खोज्यो। यता उता हेर्यो र आत्तिएको स्वरमा आवाज लगायो- “हर्केss! ए हर्केsss!” “ उठेछ जँड्या!” तलबाट हर्के बोलेको सुनियो। “ ओइ हर्के माथि आइज, लौन बित्याँस परो!” एक त हिजो राति देखि नै दशा लागेको त्यसमाथि हिजोको रक्सीले सम्पूर्ण जिऊलाई असर गरेको र अहिले अचानक दुख गरेर फलाएको मकै दिनभरि बेचेको कमाई हराउँदा रिट्ठे दुख: र अत्यासले ढल्न मात्र सकेको थिएन। उसको शायद आत्मा नै काँप्दै थियो। “ हन के भो? आकाशै खसो कि के हो?” हर्केले लिस्नोको माथिल्लो खुड्किलोबाट कोठामा पाइला राख्दै सोध्यो। “लौन मेरो सपै पैसा कसैले चोरेछ! यि याइँ पटुकामा पोको पारेर राख्या थेँ!” हर्के आएको देखेर झन आत्तिँदै लगभग रोएको स्वरमा रिट्ठेले पटुका छाम्दै भन्यो, कोठैमा कतै खस्यो कि भनेर यता उता हेर्न थाल्यो। “ कता खसालिस त? होस एक पैसाको छैन तँ बजियाको एत्रो लाठे भैसक्दा पनि!” हर्केले सहानुभूती दिने हिसाबले रिट्ठेको पटुका मा पोको खोजे जस्तो गर्दै भन्यो। “ लौन नि म के गरुँ अब!” रिट्ठे रोइहाल्यो आखिर। “ कता खसालिस् त? न त्यो हिजोराति तेरा खप्परमा हामफाल्ने ज्यानमाराले लओ?” हर्केले रुँदै गरेको रिट्ठेको अनुहार हेर्दै निर्दोश पारामा सोध्यो। रिट्ठेले रुन्चे अनुहार लाउँदै केहि सोचे जस्तो गर्यो र भन्यो- “ हइन हइन तो ज्यानमारा भागेसि छाम्या थेँ याइँ थो पैसा!!” “ कि तो किचकन्नि देखेर दौडिँदा खसालिस ए बजिया?” हर्केले अर्को सम्भावना ओकल्यो। रिट्ठेले फेरि केहि सोचे जस्तो गर्यो र भन्यो- “ तेसपछि नि खस्या छइन, मइँले नछामे नि खस्या छइन, तेस्तो बलियो पोको बना थेँ! लौ न नि कता गयो मेरो पइसो?” त्यति भनेर रिट्ठे फेरि छटपटिँदै रुन थाल्यो। किचकन्नि देखेपछि पनि पैसा नखसेको कुरा रिट्ठेले दृढतापूर्वक भनेको सुनेर हर्केको मनमा एकछिनलाई चिसो पस्यो। अचानक, रिट्ठेका आँखा ठुला भए! “ तल! डोको, घुम राख्या ठामतिर परो कि?! हत्त न पत्त लिस्नो तिर बढ्दै रिट्ठेले भन्यो र ओर्लियो। हर्के नि पछिपछि लाग्यो। तल पैसा कसरि होस्। निकै बेर रिट्ठेले यताउता हेर्यो। गुन्द्रि पल्टायो होला करिव ३-४ पटक, भित्ताका सपै खोपाहरु समेत हेर्न भ्यायो। बाहिर आँगनमा धेरै पटक घुम्यो तर पैसा कसरि भेटियोस। हर्के ढोकाको संघारमा उभिएर रिट्ठे छट्पटिएको हेर्दै थियो। “ मेरा हिसापले तइँले पइसा बाटैमा कतै खसालिस् हेर् रिट्ठे! अब याँ आ'र खस्या भ' यतै हुन्तो, हाम्ले देख्या भ’ नि राख्दिन्थेम्, तइँले पइसा बाटैमा खसालिस ल, म लेखेर दिन्छु!” रिट्ठे थुचुक्क आँगनमा धुलोमै बस्यो र शोकमग्न भयो। त्यो पैसाले गर्नु पर्ने कामहरु धेरै थिए! कैले साहुको सामानको दुइ सय रुपियाँ आजै नतिरे त्यो बाटो नहिँडे नि हुन्थ्यो। उसले कैले साहुको छुच्चो बोलि सम्झियो। अस्ति मात्र त्यहि पसलको बाटो हुँदै पँधेरामा नुहाउन जाँदा सबै गाउँलेलाई सुनाएर पैसा मागेको थियो र त्यो भन्दा पनि दुखको कुरा त्यतिबेला बसन्ती पनि पसलमै थिइन; नेप्चि ठुलिआमाकहाँ बस्न गाउँ आएकि थिइन् र आमाछोरी पसलमै केहि किन्दै थिए। रिट्ठेले बसन्तीको अगाडि आफ्नो भएको इज्जत सपै नाङ्गो भएको महशुस गर्दै मनमा इख राखेर मकै बेचेर फर्कनासाथ तिर्ने बाचा गर्दै नतिरे एउटा बाबुको छोरो नभएको कसम खाएको थियो। त्यसपछिको कैले साहुको बोलि र उसको खिस्याउने हाँसो उसलाई सम्झन पनि मन थिएन र ऊ सकेसम्म छिटो कैलेसाहुको अगाडि सबै पैसा पछार्न चाहन्थ्यो। गाउँले सबैको ब्याड हरियो भैसकेको थियो भने कतिले रोपाइँ समेत गरिसकेका थिए। रिट्ठेको ब्याड राख्ने बिऊ किन्नै थियो र त्यसको लागि पैसा चाहिन्थ्यो। हरिया मकै सबै बेच्नलाई अझै एक हप्ता वा पन्ध्र दिन लाग्ने पक्का थियो र उ ब्याड राख्न एकदिन पनि ढिलो गर्न चाहँदैनथ्यो। रिट्ठेको अगि नै घुमेको टाउको झन घुम्न थाल्यो। उसलाई पैसा कता हरायो भन्दा पनि त्यो पैसा हराऊनाले अब उसले पाउने दुखको आभाषले छोप्दै थियो। रिट्ठे सोच्दै थियो र हर्के टुलुटुलु उभिएर रिट्ठेलाई हेर्दै थियो। हर्केलाई एक मन त सबै कुरा भनेर पैसा फिर्ता गर्दिउँ बिचराको भन्ने लागेको थियो, तर अर्कोतिर हात आइसकेको तेत्रो पैसा त्यसै किन मिल्काउनु भन्ने पर्यो साथ साथै यसो भनेमा उसले दीप जस्तो रिसाहाको झटारो भेट्ने पक्का थियो र रिट्ठेले पनि सबै थाहा पायो भने नराम्रो हुने थियो। “अब क्यार्छस त रिट्ठे दशा ला’ रेछ तँलाई, अब पिर गरेर के काम!” हर्केले सम्झाउने पाराले भन्यो र खैनिको पाउच खोल्न थाल्यो। रिट्ठे झोक्राएको झोक्रायै लामो सुस्केरा हाल्यो र मरेको चालले बिस्तारै उठ्दै भन्यो- “मइ गरिपलाई लाग्ने रेछ पर्भु दसा पनि! खै मेरो घुम र रित्तो डोको ले, नन्वाइ भएन न्वाउन जान्छु!” हर्के आज्ञापालक सेवक जस्तो छिटो छिटो खैनिको थुप्रो मुखमा हुलेर डोको र घुम लिन गयो। “लौ त म गइँ अब न्वउन!” हर्केको हातबाट डोको लिएर डोको बोक्दै घुम हातमा लिएर जाने तरखरमा देखियो रिट्ठे। “लौ लौ दीपे नि ब्यान पँधेरा तिरै जान्छु भनेर गा’ थो तेल्लाई नि भेट्लास उसले देख्या भ’ भन्ला नि!” रिट्ठे केहि नबोलि बाटो लाग्यो। केहिबेर हिँडेपछि केहि सोच्यो। त्यो बाटो कैले साउको पसल हुँदै पँधेरा सम्म पुग्दथ्यो। उसलाई त्यो बाटो हिँड्न मन लागेन। उसले ओरालो झरेर चौतारी मुनिको बाटो हुँदै पँधेरा पुग्ने बिचार बनायो र ओरालो झर्न थाल्यो। रिट्ठेलाई अमिलो पानी घाँटि सम्म आएको आभाष भयो, र उसको पेट भतभति पोल्न थाल्यो। अघिल्लो रातको रक्सी र भोको पेट! सातो गएको र कमाई खोसिएको!! रिट्ठे बिरामि जस्तो देखिन थाल्यो। उसका पाइला हिँड्दै जाँदा थरथर काँप्दै थिए। टाउको भुरुङ जसरि घुमेको आभाष हुँदैथियो उसलाई। रिट्ठे चौतारीबाट तेर्सो आउने बाटोमा मिसीन लाग्यो। त्यहाँबाट एकातिर गए चौतारी पुगिन्थ्यो र अर्को तिर गए पँधेरा। खुट्टा कामेको कामेइ थियो। रिट्ठेलाई थचक्क त्यहिँ भुइँमा लडौँ जस्तो लाग्न थाल्यो। लडखडाउँदै जसोतसो हिँड्दै थियो; ढ्वाङ्ग आवाजका साथ कोहि उसको शरीरमा जोडले ठोक्कियो! छातिमा कसैको कुहिनुको नराम्रो प्रहार महशुस गर्यो रिट्ठेले। एकछिनलाई आँखा अगाडि उज्यालो चम्केको जस्तो लाग्यो, डङरङ्ग भुईँमा लड्यो! तीव्र पिडा र कमजोरीले गर्दा उसलाई आँखा खोल्न गाह्रो भएको जस्तो लाग्यो। उसले बल गरेर आँखा खोल्ने कोशिस गर्यो। उसको आँखा सिधा घाममा पर्यो। ऊ उत्तानो परेर लडेको रहेछ! छातीमा झिरले घोचेको जस्तो नराम्रो पीडा महशुस गर्यो।उसलाई फेरि आँखा चिम्लिन मन लाग्यो। उसले अनुमान गर्यो शायद, उसलाई निद्रा लाग्दै छ, हैन ऊ शायद बेहोश हुँदैछ। उसका आँखा बिस्तारै बन्द हुन थाले। आँखा पुरै बन्द हुनु भन्दा अगाडि उसले आफू माथि कोहि उसलाई झुकेर हेरिरहेको चाल पायो। तिरमिर हुँदै आँखाका ढकनि लाग्दा उसले कुम्ले हातमा रातो भाले बोकेर झुकेर उसलाई हेरिरहेको देख्यो। रिट्ठे बेहोश भयो!! (क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:19 PM ] | Viewed: 2176 times [ Feedback]


: