:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

चिया गुलियो थियो तर यसको एक एक घुट्कि नेप्चेलाई तितो लाग्दै थियो। एक त चिया पाक्न नै ढिलो भएको थियो, अर्को बुढा निकै नै ढिलो थिए, सकेसम्म मोटो शरीरलाई चलाउन खोज्दैनथे।

बसन्ती गएको निकै बेर भैसकेको थियो। नेप्चे हतार हतार चिया सकाउन खोज्दै थियो।

"गफ गर्दै होलान्!"

नेप्चेले सोच्यो।

गाले बजिया नि मख्ख परेर हाँस्दै होला, असत्ति!

नेप्चेले चियाको घुट्कि लाउँदै सोच्यो।

बर्खाले बाटो कत्तिओ चिप्लो बना'छ हँ गाममा?

भित्रबाट बुढाको प्रश्न सुनेर नेप्चेलाई दिक्क लाग्यो। उसको मन उथलपुथल भैराखेको थियो उता बुढालाई गाउँको चिप्लो बाटोको चासो!

तो मासुको थुप्रो एक कान्ला चढेसि सिदै नरक पुग्ला जस्तो छ बाटो कत्तिको चिप्लो भो रे!

नेप्चेले मनमनै बुढालाई गालि गर्यो र प्रत्यक्षत: भन्यो‍-

चिप्लो भा छ हउर सारइ नै!

चिप्लो भाछैन?

कान कम सुन्ने बुढाले उल्टो बुझेर फेरि सोधे।

नेप्चेले ठूलो स्वरले अलि कराएको जस्तो गरेर भन्यो र अन्तिममा नक्कली हाँसो हाँस्यो-

चिप्प्प्प्प्लो भा छ सारइ नइ, चौतारिआँ खुट्टा टेको भन्देखुन खुरमुरिएर बेँशि झरिन्छ!

ए चिप्लो भा रेछ!

बुढा यति भनेर केहि सोच्न थाले।

नेप्चेले चियाको अर्को चुस्कि लायो र केहि बेर चिया मुखमा कुलुकुलु गरेर घुटुक्क निल्यो।

उसले बाहिर बाटो तिर हेर्यो।

परबाट बसन्ती अघि अघि र पछि पछि डोको बोकेर गाले आउँदै थिए।

नेप्चेलाई रिस, जलन र अत्यास एकैपटक लाग्यो।

गालेले नेप्चेको फर्सी बेबारिस छोडेर बसन्ती संग आएछ! जोसुकैले पनि डोको, फर्सी सबै चोरिदिन सक्थ्यो। अब गालेको सबै फर्सी बिक्नु र उसको सबै चोरि हुनु कुनै गाह्रो थिएन। उसलाई औडाहा भयो र सिधै गएर गालेलाई छप्काउने मन भयो।

बसन्ती र गाले पसल आइपुगे।

बसन्तीले नेप्चेतिर एक उपेक्षित नजर दिँदै पसल भित्र छिर्दै गालेलाई भनिन्-

यता भित्र ल्यार खन्याऊ डोको!

गालेले नेप्चेतिर अत्यन्तै खुसिसाथ हेर्यो र दाँत देखाउँदै बसन्तीको पछि पछि लाग्यो।

नेप्चेले बसन्तीलाई कौतुहलताका साथ हेर्यो र भित्र नछिरेसम्म हेरिरह्यो अनि गालेलाई खाउँला जस्तो गरेर हेर्यो र चियाको अन्तीम चुस्कि लियो।

कुकुरका त दिन आम्छ भन्थे!

नेप्चेले चियाको गिलाँस भुइँमा राख्दै आफ्नो चित्त बुझायो।

उसले पैसा झिक्दै भित्र हेर्यो।

गालेले फर्सि एउटा कुनामा राखिसकेको थियो र बसन्ती संग नजिकै दुवैजना केहि झुकेर फर्सी तह लगाउँदै थिए र बसन्ती झिनो स्वरमा गालेलाई केहि भन्दै थिइन्। उसलाई सुन्ने इच्छा भयो र कान ठाडो पार्दै ध्यान दिन थाल्यो।

छिटोपुग्ने बित्तिकै…..खुसुक्ककसइले थानपाऊन   म रिसाउँछु नि!

उसको कानमा बसन्तीले बोलेको केहि वाक्य र शब्दहरु सल्बलाए!

हन यो गोफ्लेसित भाग्ने कुरो अरेकि त हइन एल्ले?

मनमा शंका मान्दै नेप्चे फेरि चनाखो भएर भित्रको वार्तालाप सुन्न थाल्यो।

उता बुढा तमाखु तान्दै भित्ता हेरिरहेका रहेछन्।

नेप्चेलाई फेरि अलपत्र परेको उसको फर्सीको भारीको याद आयो। उसलाई छटपटि भयो।

भित्र बसन्ती र गाले उठे। गालेले खालि डोको बोक्यो। बसन्तीले गालेलाई भरपुर नजरले हेरि र मुसुक्क हाँसेर फेरि भनिन्-

होस गर है गालु, था पाउलान फेरि!

'गालु! नेप्चेले मनमनै दोहोर्यायो।

उसको पेट भतभति पोल्न थाल्यो।

गाले डोको बोकेर बाहिर आयो पछि पछि बसन्ती आइन्।

मेरो त सपै फर्सी बिको नेप्चे, फेरि गाम गर गर्नु पर्ने काम भ्याई-नभ्याई छ म चाइँ लागेँ अब पारितिर!

गालेले हँसिलो मुखले नेप्चेतिर हेरेर भन्यो।

नेप्चेले पुलुक्क बसन्तीलाई हेर्यो बसन्ती भावबिहिन आँखाले नेप्चेलाई हेर्दै थिइन्। नेप्चेलाई नमिठो लाग्यो।

गालेलाई मुखभरीको गालि गर्न मन लागिरहेको थियो उसलाई; थोरै उसको फर्सी अलपत्र छोडेर हिँडेकोमा र धेरै बसन्ती संगको उसको शंकास्पद सम्बन्धमा! तर बसन्ती अगाडि थिइन्, उसले त्यस्तो केहि भनेन र गालेतिर हेर्दै रिस दबाउँदै भन्यो-

हुन्छ त नि, फर्सी बिकिआलो क्यार्छौ त नि ह्याँ बसेर?

गाले फुरुङ्ग परेर बसन्तीतिर हेर्दै जाने इशाराले हात घुमाएर पारी गाउँ देखायो र बसन्तीले पनि टाउको हल्लाएर बिदा गरिन् र भित्र छिरिन्। गाले खाली डोको बोकेर बाटो लाग्यो। नेप्चे, घरि भित्र हेर्दै थियो घरि गाले क्रमश: पर जाँदै गरेको हेर्दै थियो। भित्र बुढा अझै भित्ता तिर एकोहोरो हेर्दै तमाखु तान्नमा व्यस्त थिए र बसन्ती भर्खरै नेप्चेलाई एक नजर पनि नहेरि माथि कोठामा उक्लिसकेकि थिइन् र माथिबाट उनले गाएको कुनै गीतको सुरिलो धुन नेप्चेको कानबाट सररर बहेर भित्र छातिमा पुगेर छाति पोलाउँदै  थिए। अचानक उसलाई आफ्नो फर्सीको भारिको याद आयो। पैसा झिकेर बुढालाई ठूलो स्वरले बोलाएर फुत्त पैसा फालिदियो र फटाफट भारि मनले फर्सी भएतिर लाग्यो। 

 

पटुकामा पोको पारेको पैसा सुरक्षित थियो, पेट टन्न थियो र आँखामा बसन्तीको ओठ चलेको मिठो दृष्य सिनेमा जसरि आउने जाने गरिरहेका थिए। गाले आफैँमा मस्त खोलाको बगर हिँड्दै थियो र उसले बोकेको खालि डोको पनि गालेको खुसियालीमा साथ दिन होला ढलपल ढलपल गर्दै हल्लिँदै थियो।

बगरमा हिँड्दै जाँदा गालेले अलि पर ठूलो ढुङ्गाको छेउमा कोहि बसेको देख्यो। त्यसको पोशाक रंगिचंगि थियो। गालेलाई अलिकता डर लाग्यो। त्यस्ता मान्छे उसले एक दुई पटक बजारमा देखेको थियो र उनिहरुले उसलाई हेर्ने नजर जहिले पनि डरलाग्दो हुन्थ्यो। उसले सुनेको थियो कताकताबाट औतारी मान्छेहरु आउँछन् र गाउँलेलाई काटेर पैसा लुटेर लान्छन्। उसको मुटु उफ्रियो। गालेका पाइलाका गति कम हुँदै गए। नजिकै एउटा झाडि रहेछ। गाले बिस्तारै झाडिभएतिर गयो र छेकिएर बस्यो। उसले देख्यो, त्यस्तै रंगिचंगि लुगा लाएको अर्को मानिस उताको ढुङ्गामा बसेर झुकेर केहि गर्दै थियो। गालेले यता उता हेर्यो; कतै कुनै गाउँलेलाई देखेन। उसलाई झन धेरै डर लाग्यो। उ त्यहिँ छेकिएर उभिएर हेर्न थाल्यो। ढुङ्गा पछाडि बसेको मान्छे उठेर अर्को ढुङ्गामा बसेको मान्छेतिर गयो। उनिहरुले केहि बोले जस्तो लाग्यो। गालेले देख्यो एउटाले चुरोट झिक्यो र दुवैजनाले पालै पालो तान्न थाले। गाले पर्खिएर बस्यो। उनिहरु ढुङ्गामै सुते। जाने बाटो नजिकैबाट थियो त्यसैले गाले पर्खिरह्यो। निकै बेर उनिहरु उठेनन्। गालेले बसन्ति सम्झियो र ढिलो गर्न नहुने कुरा बिचआर गर्यो, तर डरले उसलाई छोडेको थिएन। गालेले उनिहरु निदाएको अनुमान गर्यो र बिस्तारै बाटोतिर लाग्यो।

ऊ हिँड्ने बित्तिकै ती मानिसहरु उठे र ठूला रंगिन झोला जिऊको पछाडि बोके। गाले फेरि टक्क अडियो।

उनिहरु हिँड्न थाले।

गाम जान लाया होलान् यि अउतारीहरु!

गालेले मनमनै सोच्यो र झन डरायो। उसलाई आफ्नो पटुकामा पोको पारेको पैसाको याद आयो।

ती मानिस हरु खोलाको तल पट्टि जाँदै थिए।

डुबेर मर्ने भए!

जङ्घार माथिपट्टि भएको ज्ञानले गालेले मनमनै भन्यो।

ऊ ती मानिसहरु संग केहि दूरी राखेर जङ्घार तर्फ हिँड्दै थियो। पर पारीपट्टि गालेले दुई जना गाउँले खोलातिर आउँदै गरेको देख्यो। गालेको सास आयो। ऊ जति सक्दो चाँडो जङ्घार तर्फ पुग्न चाहन्थ्यो, र ती गाउँले चिन्न चाहन्थ्यो।

ऊ बेला बेलामा ती दुई अवतारीहरुलाई हेर्दै बेला बेलामा पारिपट्टिबाट क्रमश: नजिक हुँदै गरेका गाउँले हेर्दै खोलातर्फ आफ्नो पाइला बढाउँदै थियो। उसले देख्यो ती अवतारी मानिसहरु खोला नजिक पुगेर अडिएको। ती मानिसहरु पारिपट्टिबाट अब खोला तर्ने तरखर गर्दै गरेका गाउँलेहरुलाई हेरिराखेका थिए। गाले क्रमश: खोलाको नजिक हुँदै थियो। माथि पट्टि पारिबाट दुईजना गाउँले खोला तर्न लुगा फुकाल्दै थिए। तल पट्टिबाट अब ती दुई अवतारीहरु खोलाको किनारै किनार माथिपट्टि आउँदै थिए। गालेको सबैसंगको दूरी कम हुँदै थियो। गालेले पारि हेर्यो र गाउँलेहरुलाई चिन्यो। बिस्टे बुढा र भउते एक अर्काको हात समातेर खोला तर्न लागेका थिए। अवतारीहरु पारी हेर्दै गालेको निकै नजिक आइपुगिसकेका थिए, तर उनिहरुको पछाडिपट्टि भएकोले गालेलाई देखेका थिएनन्। उसले खोला तर्न लागेका बिस्टे बुढा र भउतेको हात फुस्किएको देख्यो र ऊसले उनिहरुले एक अर्काको हात समात्न गरेको संघर्ष पनि देख्यो। अब गालेलाई औतारिहरु संग भन्दा खोला संग डर लाग्न थाल्यो। उसले हेर्दा हेर्दै बिस्टे बुढालाई भउतेले सम्हाल्न सकेन। उसले बुढालाई खोलाको भलले हुत्त्त्याएर लगेको देख्यो। उसको आँखामा बिस्टे बुढाको दयनिय अनुहार आयो। उसले बोकिराखेको खालि डोकोलाई फाल्यो र सकेसम्म बल लगाएर खोलातिर दौडियो।

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:27 PM ] | Viewed: 2201 times [ Feedback]


: