:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

पुन्टे बुढालाई यतैतिर आउँदै गरेको देख्नासाथ कुम्लेको अनुहारमा हल्का डर व्याप्त भयो र उसलाई खैनिको तीव्र तलतल महशुस भयो। छिटो छिटो खैनि झिकेर मुखमा हालेर छेउमा पिचिक्क थुक्यो र भर्खरै काटिएको भालेतिर हेर्यो। गाढा राता र काला काला छिर्के मिर्के प्वाँख सहितको भालेको शरीर र रातो लामो सिऊर; पुन्टे बुढाले आफ्नो भाले चिन्न सक्ने सम्भावना धेरै थियो! बुढा आँगनको डिलबाट नजिकै आइपुगिसकेका थिए।

" ए डाउडर पानी तातो?"

कुम्लेले पुन्टे बुढा आउँदै गरेको हेर्दै मदनवालाई सोध्यो।

ओह सला पुनटे दाजुको देइखके पानी उबालेको भुलिहालेछु, तपाइँ पुन्टे बुह्रो संग बतियावनुहोस हमि पानी लियावँछु!

मदनवाले उठ्ने तरखर गर्दै भन्यो!

पर्दैन डाउडर, बरु बुढा केइ परेर' होलान् तपाइँ बुढालाई लेर भित्र जानुस म गरिआल्छु नि काटकुट्!

कुम्लेले भाले राखेको बोरा अलिकता छेऊ पल्टाएर भालेलाई केहि छोप्दै भन्यो।

क्यार्दै हो कम्पाउडरे र कुम्ले तिमारु?

बुढा अलि परैबाट कराउँदै आए!

डाउडरले भाले खाने भनो अनि काटिरा!

टुक्रुक्क बसिरहेको कुम्लेले अलिकता ठाउँ सर्दै पुन्टे बुढाको नजरबाट भालेलाई छेक्ने कोशीस गर्दै उत्तर दियो।

मदनवा उठेर पुन्टे बुढा भएतिर गयो र भन्यो-

कथि काइमसे आवनुभयो पुनटे दाजु तपाइँ? सब कुस्ले मंग्ले त छ हेन?

मलाई त के हुन्तो र, बिस्टे बुडाको नातिनी सान्नानी हराइछिन राति, तेसइलाई खोज्दै आ एतातिर!

बुढाल नजिकै आइपुगे र भाले हेर्दै भने।

भालेको टाउको र पुछ्छरपट्टिको आधि जिऊ बोराले छोपिएको थियो। काटिएको घाँटि र पेट सम्मको केहि भाग देखिएको थियो।

भाले त झक्किको देखिन्छ नि?

बुढाले मुख रसिलो बनाउँदै कुम्लेतिर हेरेर भने।

हेँहेँहेँ

कुम्लेले दाँत देखायो।

अभि काटनुभएछ अब, पानी डालके पवाँख उवाँख उखाडनेको बादमा टुकडा बनावने और पकावने हो!

मदनवाले लगभग र्र्याल चुहाउँदै भन्यो।

के भएछ पुन्टे बाजे बिस्टे बुडाको नातिनीलाई?

कुम्लेले विषय परीवर्तन गर्यो।

खै ब्यान ब्यानै चौतारीमा भेट्या थेँ, राति नै हराकि रे। भउते बज्जे र बुढा खोज्न भनेर पारी जान लाया रेछन!

पुन्टे बुढा टुक्रुक्क बस्दै बोले र फेरि भालेतिर लोभि नजरले हेर्न थाले।

कुम्लेको ढुकढुकि फेरि बढ्यो।

सला हमि सोचेँछु यो बरषातमा गावँमा ठिक होने वाला छेन, अभि केहि टेम पहले रिठे दाजु बेहोश भइके आवनुभएछ, अभि सुनेँकि सनानि हराइलिएछ!

मदनवा ले उभिइ उभिई भन्यो।

रिट्ठे बजिया बेहोश भयो रे? कइले?

पुन्टे बुढाले चाख देखाएर सोधे।

म हिनिराथेँ, ड्याम्म म संग ठोकिओ त्याँसि त फुस्रा आँखा पल्टाइहालो नि, मइँले त मरो भन्ठान्या जिम्दै रेछ, बल्ल बल्ल बोकेर ह्याँ सम्म ल्याइपुराको!

कुम्लेले बयान गर्यो।

ह्यइँ छ अइले नि तो मारोगी?

पुन्टे बुढाले सोधे।

यहि हुनुहुन्छ सैलान पानी दिएछुँ भितर हुनुहुन्छ! तपाइँ रिठे दाजुको देइखनेको जानुहोस हमि पानी लियावँछ पवाँख उखाडनेको लागि!

मदनवाले भन्यो र घरतिर जिउ बढाएर टक्क अडिएर पुन्टे बुढालाई कुर्यो।

लौ हेरम न त रिट्ठे बजियालाई के भ छ! त्याँसि भाले खाम्ला, हाम्रो भाग छ कि छैन?

बुढाले पँहेला दाँत देखाउँदै कुम्लेलाई हेरेर सोधे!

कुम्लेले अझ धेरै दाँत देखाउँदै भन्यो-

तपाइँकै भाले भन्ठान्नोस, जति खाए नि हुन्च!

पुन्टे बुढाले खुसि भएर उठ्दै भने-

त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!

यति भनेर बुढा कुम्लेको उत्तरको प्रतिक्षा नगरि मदनवा संग रिट्ठेलाई राखेको कोठा तर्फ लागे।

कुम्लेको सास आयो।

डाउडर तपइँ पुन्टे बाजेसित रिट्ठेलाई हेर्न गए हुन्छ तो के जाति पानी सकिओ कि, एताको बेबस्ता म गरिआल्छु नि!

ठूलो स्वरमा कुम्लेले टुक्रुक्कै बसेर मदनवा र पुन्टे बुढा तिर टाउको घुमाएर भन्यो।

ठिके बात करनुभयो! भन्दै मदनवा पुन्टे बुढासित रिट्ठे भएतिर लाग्यो।

कुम्लेले मदनवा र पुन्टे बुढा कोठामा पसेको देख्यो। जुरुक्क उठ्यो र मदनवाको कोठा भित्र गयो। चुल्होमा पानी भकभक उम्लिरहेको थियो। कुम्लेले यताउता हेर्यो। एउटा कुनामा पुरानो लुंगिको टुक्रा रहेछ। त्यो लिएर दुवैहातले उम्लेको पानिको भाँडो समात्यो र पानीको वाफबाट अनुहार जोगाउन घाँटि अलिकता बाङ्गो बनाउँदै पानी लिएर कुखुरा राखेको ठाउँमा आयो। पानी एकातिर राखेर उसले भाले छोपेको बोरा फैल्यायो र कुनै ढिलो नगरि भालेको खुट्टा समातेर सम्पूर्ण भालेलाई उम्लेको पानीमा डुबाएर एकछिन घुमायो र माथि उचाल्यो। प्वाँख र भाले तातोपानिले भिजेको गन्ध उसको नाकमा छिर्यो। एकछिन भालेको शरिरमा लागेको पानी तर्कन दियो, बोरामा भाले राख्यो र दुवै हातका औँला प्रयोग गरेर भालेको प्वाँख लुछ्न थाल्यो। केहि बेरमा नै भाले प्वाँखरहित नाङ्गो थियो। उसले टाउको पनि पानीमा डुबायो र सकेसम्म टाउकाको प्वाँखहरु पनि उखेल्यो। भाले र टाउको बोरामै एकातिर राखेर कुम्लेले सबै प्वाँखहरु जम्मा गरेर सोहोर्यो, आँगनको डिलबाट तल फालिदियो र फर्केर भाले भएकै ठाउँमा आएर टुक्रुक्क बस्यो। दाहिने हातको चोर औँला मुखमा भित्र सम्म हुल्यो र च्यापिराखेको खैनि हुत्तयाएर पर फाल्यो अनि बोराकै एक छेऊले औँला पुछ्यो। अचानो सोझ्याएर राख्यो र अचानो माथि भाले अड्यायो र एकछिन केहि सोचेर खल्तिबाट खैनि झिकेर फेरि एक चिम्टि जति मुखमा हुल्यो र पिचिक्क छेउमा थुक्यो। खैनि लागेको हात फेरि बोराको अघिकै भागले पुछ्यो र खुकुरी समात्यो। भालेको दाहिने खुट्टा कुम्लेको बायाँतिर थियो र बायाँ खुट्टा खुकुरी समातेको दाहिने हात तिर थियो। कुम्लेले बायाँ हातले उत्तानो पारेर राखोएको भालेको बायाँ खुट्टा समातेर हल्का उचाल्यो र केहि बायाँ नै ढल्कायो र खुकुरीले भालेको दायाँ खुट्टा र पेटको बिचको कापमा स्वाट्ट पारेर काट्यो र काट्दै गयो। भालेको तिघ्राको जोर्निमा बडो कुशलतापूर्वक कुम्लेले खुकुरी चलायो र दायाँ खुट्टा अलग गरेर बोरामा राख्यो। यसैगरि बायाँ सपेटा पनि छुट्ट्याएर राख्यो र कुखुरालाई उत्तानै पारेर तलपट्टिबाट पेट अलिकता चिर्यो र खुकुरी बोरामा राख्यो। दायाँ हात पेट भित्र कुशलतापूर्वक चलाउँदै हत्केलाले सम्पूर्ण आन्द्रा र भित्र्याँस समातेर बाहिर निकाल्यो, एकातिर राख्यो र मासुका टुक्रा बनाउन तल्लिन भयो।

 ******

 

कोठा बाहिरै गुन्द्रि ओछ्छ्याएर रिट्ठे, पुन्टेबुढा, कुम्ले र मदनवा बसेका थिए। बिचमा एउटा थालमा भर्खरै स्वादिस्ट बनाएर भुटिएको भालेको मासु थियो भने कुम्ले र पुन्टे बुढाको अगाडि २ वटा स्टिलको गिलाँसमा तिनपाने पनि थियो। रिट्ठेको सलाइन पानी अघि नै सकिएको थियो र कुम्लेले भाले काटेपछि मदनवाले बडो चाख दिएर मासु पकाएको थियो।पुन्टे बुढाले रिट्टेको आत्मवृतान्त सुनेर सहानुभुति पोखे र संगसंगै भाले संग तिनपाने नभै नहुने जिद्दि गरेपछि मदनवाले लुकाएर राखेको रक्सी दिनु परेको थियो। रक्सि दिन परे पनि मदनवा खुसि थियो किनकि धेरै पछि उसले भालेको मासु भनेजस्तो किसिमले पकाएर भने जति खान पाएरहेको थियो। कुम्ले आफ्नो पोल नखुलेकोमा खुसि थियो र रिट्ठे बाँचेकोमा भगवानलाई धन्यवाद दिँदै थियो।

पुन्टे बुढाले एक टुक्रा मासु मुखमा हुलेर चपाए र लगत्तै रक्सीको गिलाँस आधि सकेर मदनवातिर हेरेर भने-

हातमा चिल्लो लागो, पुछ्न केइ चिज छ?

मदनवाले पुछ्ने चिज सोच्दै भन्यो-

वहि हमि भि सोचिरखेँछु, पुरा तेइल तेइल भएछ हमरो हाथ भि!

मदनवा सोच्दै थियो, कुम्लेले नजिकै राखेको रिट्ठेको डोकोबाट भालेको मुख बाँधेको सुरुवाल झिक्यो र पहिला आफ्नो हात पुछेर पुन्टे बुढातिर बढायो।

बुढाले सुरुवालले हात मजाले पुछे र सुरुवाल मदनवालाई दिँदै कुम्ले तिर हेरेर प्रभाबित नजरले भने-

एल्ले गर्च काम चाइँ, भाले नि ल्याओ पुछ्ने लुगा नि ल्याओ!

कुम्लेले पँहेला दाँत देखायो। मदनवा हात पुछ्न थाल्यो।

दोश्रो पटक बुढालाई छातिको टुक्रा परेछ, एकै पटक दायाँ गाला मुनिबाट बङ्गारामा हुलेर 'किटिटिटिक्क आवाजका साथ बुढाले भालेको करङ् फोरेर स्वाद मानि मानि चपाउँन थाले। केहि नबोली एकछिनमा गप्ल्याक गुप्लुप गरेर निलेपछि बुढाले गिलाँस उठाए र आधि भरिएको गिलाँस एकै सासमा सिनित्त पार्दै, रिट्ठे तिर हेरे। रिट्ठे दाँत फुक्लेको बुढाले जसरि नरम मासु हल्का ओठ चलाएर चपाउँदै थियो मानौँ अलि स्वाद लिएर चपायो भने ऊ फेरि बेहोश हुन्छ।

बडा मजा आइलियो!

मदनवाले सपेटा तान्न थालतिर हात बढाउँदै भन्यो।

कुम्लेले सित्तैमा भाले ल्याइदिएसी मजा आईआल्छ नि तँलाई!

भन्दै पुन्टे बुढाले हत्त न पत्त मदनवाले उठाउन लागेको सपेटा उठाएर फेरि बङ्गारामा हुले!

अक्क न बक्क भएको मदनवाले हत्त न पत्त अर्को सानो टुक्रा उठाएर खायो र मुख केहि बिगार्यो। पाङ्ग्राको टुक्रा परेछ।

चारैजना गुन्द्रिमा एक अर्काको मुखामुख गरेर बसेका थिए र मजाले मासु खाँदै हात पुछ्दै, मुख पुछ्दै रमाउँदै थिए।

अचानक नजिकैबाट एउटा स्वर आयो-

मदनवा कपाउँडार? कपाउँडार?

सबैको ध्यान खानबाट भङ्ग भयो र सबैले आवाजको दिशामा हेरे। थकित र बिरामी जस्ता देखिएका नेपे बुढा उहि घुँडा सम्म आउने धर्का भएको लामो कट्टु लगाएर सवैलाई वाल्ल परेर हेर्दै मदनवालाई भन्दै थिए-

खै कपाउँडार बाउ, ब्यान देखुन सात पालि भन्दा बडि भओ पखाला ला लाएइ छ, सराद्दे गर्न हिन्या सुर्वाल नि कुन असत्तिलाई कालले लान नसकेर चोरेर लओ, मर्छु कि जस्तो भो, केइ ओखती छ होला? परानै जाला जस्तो भो गाँठे!

यति भन्दै नेपे बुढाले सबैलाई सरसर्ती हेर्दै थुचुक्क गुन्द्रीमै बसे र अगाडि राखेको मासुमा एक नजर दिँदै कुम्लेले मुखको चिल्लो पुछ्दै गरेको सुरुवाललाई हेरे!

कुम्लेलाई मासु सर्कियो र नराम्रो संग खोक्यो!

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:40 PM ] | Viewed: 2473 times [ Feedback]


: