:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

सबैजना क्रमश: नजिक आइपुग्दै थिए र कुम्लेलाई भाउन्न हुँदै थियो।

पुन्टे बुढाले जे जे सुने पनि बुढि यतिबेला स्वास्थ्यचौकीमा आएकोमा बुढा भुन्भुनाइरहेका थिए। रिट्ठे वाल्ल परेर टुलुटुलु सबैलाई हेरिरहेको थियो।

नेपे बुढा र मदनवा नजिकै आइपुगे तर अगाडिबाट आउँदै गरेका गाउँलेहरुलाई देखेर वाल्ल परेर हेर्न थाले।

"कथि भयो चैली बहनको?"

चेलिमायालाई बोकेर उनका पति नजिक आउनासाथ मदनवाले सोध्यो?

खै पँधेरा लडिछिन् दीपबाउ संग ठोक्केर खुट्टा मर्को जस्तो छ हिन्न सक्तिनन् हेर्दिनपरो डाउडर!

चेलीमायाको पतिले सबैलाई सरर हेर्दै मदनवातिर मुख गरेर भने।

छिटो भितरको लियावनुस हजुर!

मदनवाले हतार गर्दै चेलीमायालाई भित्र लैजाने इशारा गर्यो र दीपलाई डोर्याउँदै गरेकी माष्टरनी नानीतिर हेरेर दीपलाई पनि भित्र लैजाने इशारा गर्यो।

माष्टरनी नानिले दीपलाई चेलिमाया र उनको पतिको पछि पछि भित्र जाने इशारा गरिन्, शबु दीपसंगै चुपचाप पछि लागिन्।

घराँ लाइथाज छैन तिमी बुढा एता हल्लेर बस्या छौ?

पुन्टेनी भाउजुले आखिर बोलिको झटारो हान्ने मौका पाइन्।

पुन्टे बुढा अक्क न बक्क भए केहि उत्तर दिन मुख खोलेका मात्र थिए, सान्नानीलाई देखेर भने-

हन तिमी हराएउ भनेर बिस्टे बुडा र भउते खोज्न निस्क्या थे ब्यानै, दोभानेतिर लाए, कता गाथेऊ?

पुन्टे बुढाको प्रश्नले पुन्टेनि बुढि पनि चुप लागेर सान्नानी र माष्टरनीलाई हेर्न थालिन्।

हिजै राति भान्जी भोकाइन् भनेर घर लगेकिम के रे, तेतै निदाइछिन्!

माष्टरनिले सान्नानीको टाउको मुसार्दै उत्तर दिइन्।

पुन्टेनि भाउजुले फेरि मौका देखेर पुन्टेदाईतिर रिसले हेरेर बोल्न खोजेकि मात्र थिइन् पर बाट नेप्चिलाई बोकेर आउँदै गरेका ठूल्दाईलाई देखेर चुप लागिन्।

सबैजना त्यतै हेर्न थाले।

लौ के भा हो सपै गामलाई, सपै बिरामि पर्न थाले त!

सबैजना अन्यौलमा परे, धमाधम गाउँलेहरु एक पछि अर्को बिरामी भएर आउँदै थिए।

सबैले चुपचाप एक अर्काको मुख हेर्दै नेप्चिलाई बोकेर आउँदै गरेका ठूल्दाईलाई हेर्दै थिए।

मदनवा ढोकाबाट निस्कियो र ठूल्दाईले बिरामी नेप्चिलाई बोकेर ल्याएको देखेर केहि भन्न खोज्दै थियो त्यत्तिकैमा पुन्टे बुढाको आवाजले उसको ध्यान खिच्यो।

लौ अब चइनि गाममा देवी नै लागो जस्तो छ!

मदनवा लगायत सबैको नजर पुन्टे बुढाको अनुहार हुँदै पर आँगनको डिलबाट यता आउँदै गरेका मानिसहरुमा पर्यो।

गालेले बिस्टे बुढालाई पछाडि बोकेको थियो र संगै भउते हातमा पाखि र कुम्लो बोकेर यतै आउँदै थिए।

हजूरबाsssss!”

सान्नानीको मुखबाट खुसिको चित्कार निस्कियो।

----

 

मदनवाले आँगनमा अरु २ वटा गुन्द्रि ल्याएर ओछ्याएको थियो।

दीप, चेलीमाया, नेप्चि र बिस्टे बुढाको प्राथामिक उपचार भर्खरै सकिएको थियो र सवैजना स्वस्थ महशुस गर्दै थिए। चेलीमायाको खुट्टा हल्का मर्किएको रहेछ उनि खुट्टामा झुम्रो बाँढेर पति संगै बसेकि थिइन्। दीपको घाउ सानो थियो र सेतो पट्टि बाँधेको थियो। नेप्चिलाई खासै केहि भएको रहेनछ, कमजोरीले गर्दा र मनमा पिर लिएकोले रिंगटा लागेको रहेछ, यहि खुसियालीमा ठुल्दाईले अघि नै मदनवासंग मागेर गैँडा चुरोट सल्काईसकेका थिए। बिस्टे बुढा तल दोभानेमै पानी छादेर बाँचिसकेका थिए, यता नातिनीलाई देखेर उनको शरीरमा नया स्फुर्ती आइसकेको थियो। उनि नातिनीसंगै बसेका थिए। भर्खरै उपचार सकिएको थियो र सबैजना गुन्द्रिमा चुपचाप थिए। भर्खरै छलफल चलेको थियो र गुन्द्री अगाडि उभिएर गाले र भउतेले बिस्टे बुढा डुबेर बाँचेको कुरा सुनाएका थिए र संगसंगै गालेले बाटोमा भेटेको दुईजना अवतारीहरुले बुढा डुबेको दृष्य देखेपछि पारिबाट नै डराएर फर्केको कुरा पनि सुनाएको थियो। गुन्द्रिको एक छेऊमा केहि ढल्केर बसेको दीप र अर्को कुनामा माष्टरनी संग बसेकि शबुको कयौँ पटक नजर चार भैसकेका थिए र त्यो क्रम अझ जारि थियो। सबै बिरामिहरु मध्ये, रिट्ठे जवान भईकन पनि केहि नभइ बेहोश भएकोमा सबैले उसलाई जिस्क्याउँदै थिए। पुन्टेनि भाउजु पुन्टे बुढालाई खाउँला जसरि हेर्दै थिइन् र पुन्टे बुढा नेपे बुढा संग बसेर खुसुरफुसुर बात मार्दै थिए। कुम्ले औँला पड्काउँदै यताउता हेर्दै थियो।

ल अब किन सपै चुप लाया हुन? अब कोइलाई नराम्रो केइ भ'न ठिकै जो भयो!

भऊतेले मुसुक्क हाँस्दै सबैको ध्यान भंग गर्यो। केहि सोच्यो र गालेतिर हेरेर भन्यो-

साँच्चि गाले तो अइ बगराँ तैँले भिजाको खामको चिठि सुकार हाल्या थिस नि गोजिमा रिट्ठेको भन्या हैन?

भउतेको कुराले गालेले केहि सम्झे जस्तो गर्यो र एक पटक आत्तियो। बसन्तीले कसैलाई नभन्नु भनेर दिएको चिट्ठि भिजेपछि बरबाद भयो भन्ने ठानेर उसले भउतेलाई भनेको थियो अनि भउतेले सुकाउने सल्लाह दिएको थियो, र अहिले सबै भएको ठाउँमा भउतेले चिट्ठिको कुरा गर्दै थियो। गालेलाई आफूलाई माया गर्ने बसन्तीको बचन राख्न नसकेकोमा दुख लाग्दैथियो तर उसले अब के भन्ने र के गर्ने थाहा पाएन।

भउतेको कुरा सुनेर रिट्ठेको कान अघि नै ठाडो भैसकेको थियो र उसलाई उसको मुटुको धड्कन तेज  भएको जस्तो अनुभव हुँदै थियो।

दोभाने पारीको पसलबाट कुनै युवतीले रिट्ठेलाई पठाएको चिठिको कुरा निस्केको थियो  र सबैको ध्यान यता जानु स्वाभाविकै थियो।

सबैले उत्सुकतापूर्वक गालेलाई हेर्न थाले।

गालेलाई अप्ठ्यारो भयो। उसको सोझो मनले मनमनै बसन्तीसंग माफि माग्दै चिठी समात्यो र अगाडि बढेर रिट्ठेलाई दियो।

रिट्ठेले हल्का कामेको हातले गालेको हातबाट चिट्ठि लियो।

यत्तिकैमा पुन्टे बुढा जुरुक्क उठे र हात हल्लाउँदै भन्न थाले-

एउडा कुरो, हामि सपै ह्याँ भा बेलाँ, तँ रिट्ठे बजिया नि मरेर बाँच्या बेलाँ तेरा पुर्पुरो बल्नालाई चिठि आ छ ल सपैलाई सुनार पड् त?

पुन्टे बुढाको कुरामा भउते, गाले ले सहि थापे। दीपले पनि एक पटक शबुलाई हेर्दै पढेरै सुनाउनु पर्ने कुरामा जोड गर्यो।

रिट्ठे लजायो।

अब तँलाई हुने भ म पडेर सुनाइदिन्छु के रे!

भउतेले हँसिलो मुख लाउँदै भन्यो। रिट्ठेले निकैबेर लगाएर आखिर भउतेलाई चिठि पढेर सुनाउन दियो।

सबैको नजर भउतेतिर थियो। भउतेले सबैलाई एकपटक हेरेर पढ्न सुरु गर्यो-

 

प्यारो रिट्ठु,

टुकिको रातो उज्यालोमा म दुखि बअन्ति सेतो कागतमा निलो मसिले चिठि लेख्तई छु। जिन्तखिमा कइलेई केई राम्रो लाएन मलाई! ब्यान ब्यानै देखुन पारिको तिम्रो गामको भित्तो देखेर मन रित्तो हुन्च। दोभानेको खोलो सुसाम्दा पनि आफ्नै आँखो रसाम्छ।…”

रिट्ठेको शरिरको रौँहरु ठाडा भए! सबैले रिट्ठेलाई हेरे, रिट्ठेले एक पटक सबैलाई हेर्यो र रोमांचित हुँदै भुइँतिर हेरेर चिट्ठी सुन्न थाल्यो।

भउते पढ्दै थियो-

 

“….तिम्ले कुरो बुज्या छौ रिट्ठु तिमि मकै बेच्न बर्खमा एक पालि एता आम्दा मेरो मुटुमा भक्कानो छुट्च, तिम्लाई हेरिरन्छु ब्यान देखुन बेल्का सम्म। बर्खा बडेसि खोलो कराम्छ तिमि पारि हुन्चौ म वारि हुन्चु अन्खेरुन मेरो मन डराम्च। कइले बर्खा सक्केला र तिम्रो मयालाग्दो अउतार हेर्न पाम्ला भनेर डाँडाको देवि भाक्छु। केट्केटि देखुन तरुनि भइँ कइले नि कोइ मुन्चेको अउतार हेर्न मन लाउदैन तर तिमि आएसि मन कुटुकुटु खान्च र हेरिरन मन लाउच। दिनभरि पसलाँ बस्ता बस्ता केइ गर्न नि मन लाउदैन। च्या खान आम्ने मुन्छेहरुले क्वार्क्वार्ति हेर्चन ति असत्तिहरुको आँखो फुटाम्न मन लाउच। मनमा मेरि बास्सै नानाभाँति कुरो खेल्च सुनाम्ने ठाम कतै नाईँ। बाउ बुडोलाई सुनाम एक त के कुरो सुनाम्नु अर्को भएभरको बल लार कुरो गरेसि मात्रै सुन्चन्। दाजुभाई दिदि बइनि कोइ भा भ मनको कुरो अरेर हाइसन्चो मान्नु हुन्तो, म अभागिको भाग्गेमा भउवानले भाइबइना लेखेनचन्। बाउ अब मेरो ब्या अर्दिने भन्चन् ब्या अरेर कता पठाम्ने हुन डरले मुटु हल्लिन्च।

 

प्यारो रिट्ठु, तिमी मकै बेच्न हाम्रा पसल अगाडि बसेर टुलुटुलु मलाई हेर्दा तिम्रो नाकबाट खस्न लाएको सिआन तिम्ले सुट्ट पारेर फेरि नाकमै हुल्दा 'कठैबरा भन्दै रुमाल लेर पुछ्दिन मन लाउच। तिमि हिन्दा बेला बेलामा सुरुवाल तान्या देखेर कठैबरा ईँजार बाँध्ने ढङ्ग नि छइन के गरेर घर चलाउँदो हो जस्तो लाउच। तिम्रो कपालाँ धुलो कट्कट्टेर लट्टा पर्या देख्ता त रिट्ठु मेरि बास्सै, रिट्ठा घोटेर तिउँरो कपाल न्वाइदिन मन लाउच, मेथि फुरार तिम्रा तालुमा तेते घस्दिन मन लाउच। कति मया मान्चु मइले तिउँरो भन्ने कुरो कि त मइ अभागिलाई था च कि त भउवानलाई था च। तिम्रा आँखाले चिप्रा पुछ्तै मलाई हेर्दा तिम्ले नि कम्ता मया मान्दैनउ भन्ने बुज्या चु मइँले।……….”

 

यति सम्म पढ्दा रिट्ठेको मुटु ठेगानमा थिएन। मुख खुसिले खुलेको खुल्यै थियो र पुलुक पुलुक वरिपरि बसेका सम्पुर्ण गाउँलेलाई हेर्दै थियो।

सवैजना अवाक भएर रिट्ठेलाई हेर्दै थिए तर गाले बिचराको मन भने रोएर अहिले नै आँशु निक्लेला जस्तो भएको थियो। उसलाई थाहा थियो त केवल बसन्ति उसको अगाडि आएर हाँसेको, उसलाई माया गरेर खाजा दिएको र उसको सबै फर्सी किनिदिएको। यो सबै रिठ्ठेलाई माया गर्नलाई गरेकि रहिछे बसन्तीले, भनेर गालेले बुझ्दैथियो र संगसंगै मन बुझाउँदै पनि थियो।

रिट्ठेले उफ्रेको मुटुलाई केहि नियन्त्रणमा लियो र फेरि सुन्न थाल्यो-

“….के गर्नु रिट्ठु परमेस्सोरले म अभागिलाई बाउको घरमा एक्लै पठाए, आफ्नो भन्नु कोइ छइन। ब्या अर्ने बेला भयो रे सम्झेर अत्यास लाउछ। बा ले खोज्न त खोज्लान कस्तो खोज्लान, कुन गामका खोज्लान, कति बुडो खोज्लान था छइन। प्यारो रिट्ठु, यतिमाथि कुरो गरेसि त बुज्यौ होला मइले मनमनमा तिमि जति नजिकको तिमि जति हेलमेल गर्न गारो नलाग्ने मुन्छे कोइ नपार तिम्लाई सपै भन्दा नजिकको ठान्या चु। साउन पनि लाउन लायो अब, यो बर्खा सकिएसि दशैँ आम्छ दशै पचि त्यार आम्छ अन्खेरुन फेरि मेरो मुटुमा भक्कानो छुट्च। तर यसपालि चाडबाडाँ म एक्लै बस्न सक्तिन। मेरो बाबु, मैले यतिभाँति तिउँरो सिआन पुछिदिन मुन लाओ, इँजार बाँधिदिन मुन लाओ, न्वाइदिन मुन लाओ भन्या तेत्तिकै हइन आफ्ना दाइ भाई कोइ नभर तिम्रो थुतुनो देख्यो कि मेरा नि भाइ भा भ एस्तै हुन्तो होला भन्ने लाउच। मेरो ब्या, बा ले अर्ने भन्चन तर बाबु एउडै कोखाको नभ नि मुइँले भाई मानेसि तिउँले नि दिदि मानेर मेरो ब्या अर्न तेइ गाममा एउडो तिमि जस्तै बेबार बुज्ने सोजो केटो खोज्देऊ बाबु यो दुखिलाई, अन्खेरुन यसपालि त्याराँ म तिम्लाई भाईटिको लाइदिन्चु तेइबेलाँ हाम्रा बा संअ कुरो गर्देऊ।

रिट्ठु यो चिठि पाएसि गाले अर्को पालि फर्सि बेच्न एता आम्दा सपै कुरा गरेर मलाई चिठि पठाउ है बाबु।

सेतो कागतमा लेख्ने कालो मसि सक्किन लाओ, टुकिको तेल नि सक्किन लाओ, बाइर झ्वाउँकिरि कराइरच, अब कलम बन्द अर्छु।

उहि दुखि अभागि

बअन्ती

 

रिट्ठेको मुटु अगिसम्म उफ्रेको भन्दा फरक ढङ्गले झन जोडले उफ्रिन थाल्यो र सबै गाउँले सहानुभूतीको भावले रिट्ठेलाई हेर्दै थिए।

खै किन हो, गाले अब खुसिले नाच्न मात्र सकेको थिएन!

चिट्ठी सकिँदा नसकिँदै दीप र शबु त्यहाँ थिएनन, उनिहरु चौतारिबाट पनि तल दोभानेतिर एक अर्काको हात समात्दै झर्दै थिए र कुम्ले त्यहाँबाट लुसुक्क हिँडेर कतै हराइसकेको थियो!

(समाप्त!)

   [ posted by Birkhe_Maila @ 02:50 PM ] | Viewed: 2401 times [ Feedback]


: