हेलिकप्टर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उसलाई आजकल यो शहर प्रत्येक दिन नौलो लाग्न थालेको छ। कति धेरै काम भएको ! प्रत्येक दिन भित्तामा सार्कको छाप देखिन्छ। अनि आउन लागेका मोदिको आधिपत्य पनि।विचरा कलिलो उ कसरी वुझोस् यि कुरा, मात्र कुदिरहेको गाडीको ढोकावाट हेर्छ उ वदलिँदै गरेको शहर ।प्रत्येक दिन नयाँ देखिँदै गरेको शहर। नगरवधु जस्तै सिंगारिएको शहर। "ओइ मान्छे देखिनस् ?करा न ! यस्तो लाटो पनि खलासी अरे।" गुरुजीले पछाडी फर्केर उसलाइ झपारेपछि उ झसंग भयो। "ट्राफिक छ दाइ !" उसले सिमेन्ट घोल्दै गरेका दुइजना काला मान्छेलाई नियाल्दै भन्यो। हिजो ति मान्छे त्यहाँ थिएनन्,भोली पनि हुन्नन्।भोली अर्कै ठाउँमा काम छ। "कति धेरै खटिएका ज्यामराजहरु पनि !" "सार्क आउन्जेल यस्तै हो भाई !" छेवैको वुढो मान्छेले गुरुजीलाई सान्त्वना दियो।गुरुजीको पिडा वुझेजस्तो!गुरुजीले पुलुक्क हेर्यो।गुरुजीलाई उत्तर चित्त वुझेन। सार्कसँग उसलाई के मतलव र ? सार्कमा आउने मान्छे उसको गाडी चढ्दैनन्। सिंहदरवार हुँदै वानेश्वरको वाटो भक्तपुरसम्म पुग्दैनन। उसले ट्राफिक नभएको ठाउँ फेला पारेर ढोका खोलेर फेरि चिच्यायो "वानेश्वर कोटेश्वर पेप्सिकोला !" ।साँझको चिसो हावा उसको छाति छेडेर छिर्यो। जिससको लकेट देखाउनलाई शर्टका टाँक खोलेको थियो।खप्न सकेन। ढोका वन्द गरेर शर्टका टाँक लायो।ढोकामा रेखा थापाको फोटो हाफ पायन्ट लाएको।हिरोइनहरुलाई उ जत्ति जाडो हुन्न। रेखाथापा जति चिसो भए पनि हाँसिरहन्छिन् ढोकामा! "फेरि वन्द गर्यो ढोका मुजीले, मान्छे कसरी भित्र छिर्छन ?" गुरुजी रिसायो। उसले सरक्क ढोका खोल्यो।अनि फेरि सुस्तरी वोल्यो " वानेश्वर,कोटेश्वर पेप्सिकोला !" ***************** ***************** ***************** ****************** ******** विहान गाडी पुछिसकेर चिया र डुनट खाँदै गर्दा छेवैको वुढा मान्छेले पढ्दै गरेको पत्रिकामा उसले देख्यो एउटा दाह्री भएको मान्छेको फोटो। "मोदी जनकपुरवाट हेलिकप्टरमा काठमाण्डौ आउने"। "जौँ हिँड !" गुरुजी करायो। "हुन्छ दाई।" उसले शर्टका टाँक लगायो।उसलाई रुघा लागे जस्तो छ। शर्टको वाउलाले नाक पुछ्यो।भित्रको टिशर्टको अन्डरटेकरलाई रुघा लाग्दैन। उ अस्ति टिशर्ट धुँदा पनि उत्तिकै अजंगको थियो। आज मैलो हुँदा पनि उत्तिकै अजंगको छ। जिससको लकेट अन्डरटेकरको निधारमा ठोक्किरहन्छ। तर अन्डरटेकरलाई दुख्दैन। उसले टिभिमा हेरेको रेस्लिंगमा अन्डरटेकरले धेरैलाई पछारेको देखेको छ। उसलाई अन्डरटेकर झैँ हुन मन छ।त्यति भयो भने गुरुजीले पनि डरले गाली गर्दैनन् कि। *************** ************* *************** ************** ************* ****** विहानै उसले हेलिकप्टर उडेको देख्यो। उसको छेवैवाट गयो। उसले घाँटि आकाशतिर तन्काएर हेर्यो।हरियो रंगको। चिया सुरुप्प पार्दै उसले पसले दाइलाई सोध्यो "दाइ आज कति गते?" "पच्चिस किन?" "किन पनि हैन !" मोदि नौ गते आउने कुरा थियो। आजै हेलिकप्टर उड्यो। किन उड्यो यति चाँडो? मोदिकै घरमा गएर वस्छ होला त्यो हेलिकप्टर दश वाह् दिन। उसको घरमा गाइको गोठ जस्तै हेलिकप्टर राख्ने ठाउँ पनि होला। हेलिकप्टरलाई वाँध्नु चाहिँ पर्दैन। उसले डुनट टोक्यो,चिया सुरुप्प पार्यो। गुरुर्र कुद्दै ढोका ढ्याप ढ्याप पार्दै करायो "रत्नपार्क रत्नपार्क रत्नपार्क !" ******************* *************** *************** **************** ************ "दाइ !" "हँ ?" उसको गुरुजी दाइले भख्खर भट्टिवाट दुइ गिलास तन्काएर आएको छ। "यसपालि साह्रै जाडो होला जस्तो छ।" "सिरक भित्र आइज न !" उसलाई रक्सी गनाउँछ। निन्द्रा लाग्दैन। भन्न सकेन। खुस्रुक्क घुस्रियो। "दाइ !" "हँ !" "त्यो कोहिनुरमा श्रीकृष्ण श्रेष्ठले लाको कोट कति पर्छ ?" "मुजी, मान्छे छ चार भित्ताको शौख हेर न !" उसको दाइले एक लात हिर्कायो सिरक भित्रैवाट।थोरै ढकेलियो उ।सिरक वाट वाहिर निक्लियो। "लडिस् कि के हो?" दाइले फर्केर माया देखायो। "हैन !" उ खिस्स हाँस्यो। अँध्यारोमा उ हाँसेको देखिएन। ************ *************** ***************** ************* ************** ***** त्यो रात उसले अनौठो सपना देख्यो। उसको हातमा स्टेयरिंग छ। विस्तारै उसले थाहा पायो। हेलिकप्टरको स्टेयरिंग।सफा काठमाण्डौको सडकमा हेलिकप्टरका पांग्रा दौडिरहेका ! विस्तारै हेलिकप्टर ले भुइँ छोड्यो। अचम्म ! उसले हेलिकप्टर उडायो। हेलिकप्टरको खलासीमा उसका गुरुजी दाई । ढोका ढ्याप ढ्याप गर्दै "रत्नपार्क रत्नपार्क" भन्दैछन्।ढोकामा रेखा थापाको हाफ पायन्ट लाएको फोटो। छेउमा एकजना सेतो दाह्री भएको मान्छे पत्रिका पढ्दैछन् । अनि पत्रिकामा लेखिएको छ "मोदी जनकपुर हुँदै हेलिकप्टरमा काठमाण्डौ आउने !"    

fucheketo · Nov 20, 2014 10:17 AM · 25,601 views

7 Replies

वाह !

KaliKoPoi · Nov 20, 2014 10:42 AM

I am one of your silent readers. Always admire your creativity. FucheKeto, just wanted to say THANK YOU. Your writing skill is beyond amazing and I always love the way you end your story. Keep on coming many more bro.

mythought · Nov 20, 2014 1:41 PM

kalikopoi- Thank youMy thought- Thank you very much, you all are my inspiration. Thanks to all the readers who read it and liked the story.This is a semi fictional story..Some parts are true and some are fictious.. I would like to thank that kid of Bhaktapur Yatayat and Empty Bus while returning back home and a little chitchat between us .

fucheketo · Nov 21, 2014 5:01 AM

मिठो कुरो गर्छन बच्चाहरु , आफ्नै दुनियामा हराउँछन् , भोलिको आशा र सपनाका जोशिला खोला बगाउँछन् . तेही नै रम्य छ उनीहरुलाइ . फुच्चे र फुच्चेका कथाको सुधारस निरन्तर बगिरहोस .

ThahaChaena · Nov 21, 2014 3:05 PM

Badhai cha Fucheo keto, for publishing ur work at first in Nepal magazine and now in setopati.. still i love this version :) http://setopati.com/sahityapat...

khoikkhoik · Nov 22, 2014 1:20 AM

Thaney- Thank you.. Khoikkhoik- its censored ..त्यहि भएर हो की ;)

fucheketo · Nov 22, 2014 9:20 AM

मेरो बिचारमा यो कथाको बिषयबस्तु धेरै राम्रो छ, तर शब्द प्रयोग पात्र अनुसार सुहाए पनि फुच्चे जस्तो लेखकले साहित्यमा प्रयोग गर्न जरुरी छ जस्तो लाग्दैन।

crazy_love · Nov 24, 2014 9:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion