बिदेशमा आमाको सम्झना!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

** नेपालमा आज आमाको मुख हेर्ने दिन - तेसैले यो कथा** - आइडिया एक मित्रले दिएकी हुन, मैले लेखिदिएको मात्रै ! कस्तो छ कमेन्ट गर्नुहोला ! धन्यवाद ! - फोनको घण्टीले दिलिप झल्याँस्स बिउँझियो। भाईबर मा आमाको कल आएको रहेछ। आँखा मिच्दै, आङ तान्दै दिलिपले हेल्लो, भन्यो। "बाबु, छोरा सन्चै छस?" "सन्चै छु ममी। हजुरलाई नि? बुबालाई कस्तो छ ?" "सब ठिक छ, बाबू। पढिरहेको छौ नि? तिम्लाई गार्हो त भाको छैन नि? समयमा खानु, समयमा सुत्नु है बाबु," ममीले एकै सासमा मनका चिन्ता, चासो, माया, भावना सबै पोख्नु भयो। आमाको मन न हो। "हस ममी," भक्कानिएको स्वर सम्हाल्दै, आँसु पुछ्दै उसले फोन काट्यो। दिलिप दश जोड दुइको पढाइ सक्ने बित्तिकै गुँड छोडेर उडेको थियो। जिन्दगीमा पहिलो पटक घर छोडेर उच्च शिक्षाको निहुँ पारेर उ अमेरिका पुगेको पनि अहिले त दुई बर्ष बितिसकेको छ। यो दुई बर्ष उसलाइ दुई जुनी बिताए झैं लामो लागेको छ। पुरुष भएको पुरुषार्थको ढोंग गर्नु नपर्ने भएको भए, उ पहिल्यै एक कायर जस्तो भागेर आमाको काखमा लुटपुटिन गइ सकेको हुन्थ्यो। एक कायर बन्न पनि ठूलै आँट चाहिने रहेछ बाबै! पुरुष भएर रुनु हुँदैन भन्ने थाह नभएको भए उ सायद फोनमा आमालाइ सुनाएरै घुँक्क घुँक्क रोइदिन्थ्यो होला। यो आडमबरको मान राखिदिनैको लागि उसले फोन काटेरै आँखा भरी आँशु पारेर थुचुक्क बस्यो, दुइ घुँडाको बिचमा टाउको घोप्टाएर निस्फिक्री रुन थाल्यो। तर, मन्छे भएपछि रुन हुँदैन, भनेको जस्तो उसको रूम पार्टनर आएर "काममा जाने बेला भएन?" भनेर सोध्यो। काममा नगएर के गर्नु? उ नगए पिटरको डाइपर कस्ले फेरिदिन्छ। कार्थरलाइ कस्ले नुहाइदिन्छ। पिटरले र कार्थरले पो जिन्दगिको सबै उतारचढाव भोगि सके, डाँडापारिको घाम जस्तै भइ सके, दिलिपको त सिंगै जिन्दगी बाँहि छ। आँफ्नो त कहाँ हो कहाँ, आमाकै सपना पनि पुरा गर्न भ्याइसेकेको छैन। तेसैले उ जर्याकजुरुक उठेर पाउरोटी टोस्टरमा हाल्यो। टोस्ट हुँदै गर्दा लुगा लगायो। हतारै हतारको बिचमा एकछिन बस्न पाउने भएरै होला, उसलाई सबै भन्दा आरामदायी ट्रेनको सिट लाग्छ। आखिर भोजन भन्दा भोक नै मीठो भए जस्तै, सुविधा भन्दा बिश्राम नै बढी मीठो हुने रहेछ। काममा पुगेपछि ट्रेनको जत्तिकै भए पनि कुर्चिमा बस्न पाउने भएको भए पनि उसलाई ति प्लाष्टिकका सिटले बिझाउँथे होला। तर, काम भरी त आराम गर्ने समय नै मिल्दैन। ट्रेनमा को झ्यालपट्टीको सीटमा आरामले बसेपछि प्लाष्टिकको जिपलकमा कोचिएको स्याण्डविच छोडाउँदै बाहिरको दृष्यावलोकन गर्नु उसलाई एक स्वर्गीय अनुभव जस्तो लाग्छ। उसलाइ आँफुले बनाएको स्याण्डविच नमीठै लाग्ने त होइन, तर, यो पाउरोटिको खोष्टो भन्दा त जे आमाले जे छोए पनि मिठो हुन्थ्यो भन्ने सोचले सँधै उसलाइ खिन्न चाँहि बनाउँछ। साँच्ची, यो स्वाण्डविचलाइ एकचोटी आमालाइ छुवाउन पाए कस्तो हुन्थ्यो होला? हुन पनि, आमाले छुने बित्तिकै जादु को छडी घुमेको जस्तो हुन्थ्यो। पुरानो कुरा सम्झिंदा दिलिपलाई अमीलो अनुभव भयो। आमाको मायामा उ यति पुल्पुलिएको थियो कि, जति सुकै मीठो लागे पनि आमालाई "मीठो" भन्न चाँहि सक्दैनथ्यो, नमिठो भएको नाटक गर्थ्यो। आमा न भइन, उसलाई साँच्चिकै मन परेको, मन नपरेको र नाटक गरेको सबै दुधको दुध पानीको पानी छुट्याइ हाल्थिन। एकचोटी आमाले मुछेको भात खाँदा प्रलय मिठो भएको अनि, "आँफुले चाँहि यति मीठो भात खानी रहिछिन।" भनेर गुनासो गरेको सम्झँदै दिलिपले रुन्चे हाँसो हास्यो। अनि, तुरुन्तै अरु कसैले देख्यो कि भनेर यता उता पल्याक पुलुक हेर्यो। खाली ट्रेनमा भएका दुई चार जाना सबै उ जस्तै, आँ-आँफ्नै धुनमा थिए। जिन्दगी रेल नदेखेकी आमालाइ यस्तो रेल चढाउन पाए उनि कति खुशी हुन्थिन होला? दिलिपले मनको लड्डु घिउसंग खायो। मन खिन्न भयो, पाउरोटि चपाउँदा कार्डबोर्ड चपाएको जस्तो लाग्यो। दिलिपले खाँदा खाँदैको स्याण्डविच झोलामा कोचेर नेपथ्यमा तिर हेरेर टोलाउन थाल्यो। अरु तिर जागिर पाएको भए दिलिपले सिनिएयर होममा त मरिगए काम गर्ने थिएन। उता घरमा बुढी आमाको स्याहार गरिदिएने कोही छैन, यता दिलिपलाई चिन्नु न जान्नुका मर्ने बेलाका बुढाबुढीको स्याहार गर्नु परिरहेको छ। आमाको भए पो गुहु मुत स्याहर्न पनि गाह्रो हुन्थेन। दिन दिनै नुहाइ दिंदा पनि चिसो लाग्थेन। यी चिन न जानका लठैतहरुको स्याहार सुसार गर्नु भन्दा त आंफ्नै आमाको स्याहार गर्न कति रमाइलो हुन्थ्यो होला है?

AnandNepal · May 11, 2021 3:33 PM · 1,474 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion