संविधानसभाको निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो, अप्रत्यासित भयो। संसारको कुनै प्राणीले कल्पनासमेत नगरेको परिणाम देखेर स्वयं माओवादी नेताहरू दंग परे। ठूलो दोकानमा चक्लेटै–चक्लेट देखेर अलमलिएजस्तो अवस्था भयो माओवादी नेताहरूको। उनीहरूलाई परिणाम यसरी नै आउँछ भन्ने लागेको भए वाम तालमेलको कुरा तिनले किमार्थ उठाउने थिएनन्। मेरो कुनै गुनासो छैन जनादेशप्रति। मैले त्यसलाई भित्री मनदेखि नै जनताको आदेश भनेर स्वीकार गरेको छु। यसो गर्नु खाली राजनीतिक औपचारिकता मात्रै होइन। राजनीतिमा लागेपछि जनताले जे भन्छन् त्यो सुन्नैपर्छ। जनताले जे दिन्छन् त्यो लिनैपर्छ। जनताले एमालेलाई पराजय दिएका छन्, यसपालि हामीले दुई हात थापेर त्यो पराजय स्वीकार्नै पर्छ। तर, व्यक्ति खाली राजनेता मात्र हुँदैन। त्यो एउटा नागरिक हुन्छ। त्यो एउटा कवि हुन्छ। त्यो एउटा कलाकार हुन्छ। त्यो एउटा लेखक हुन्छ। त्यो एउटा टिप्पणीकार हुन्छ। राजनेता नभएको यो प्रदीप नेपाल जनादेशलाई स्वीकार्दा स्वीकार्दै पनि यो तीतो सत्य यहाँ ओकल्न बाध्य भएको छ। माओवादीले एकैचोटि चारवटा काम गर्योक। पहिलो र सर्वाधिक प्रभावशाली काम थियो– सन्त्रासको वातावरण। मान्छेलाई थर्काउन माओवादीले के गरेनन्? संसारभरका दुष्टले दिनेगरेका सामान्य धम्की मात्रै दिएनन् तिनले। कसैलाई 'आमा, हामीलाई भोट दिनुभयो भने हामी सबै काठमाडांैतिर लाग्छौँ, दिनुभएन भने यहीँ बसेर तपाईंहरूलाई दुःख दिइरहनेछौँ,' भनेर पनि फकाए। भोजपुर जिल्लाबाट आएको एउटा फोनमा नौवर्षे बालिकाको भनाइ यस्तो थियो, 'माओवादीलाई भोट नदिए त हामीलाई मार्ने भए भनेर बाबाआमाले माओवादीलाई भोट दिनुभयो।' अस्पतालमा भर्ना भएकी एउटी बिमार महिलालाई 'अहिले मत खसाल्न नजानूस्, तपाईंको स्वास्थ्य ठीक छैन' भन्ने डाक्टरलाई ती बिमार महिलाले जवाफ दिएकी थिइन्, 'मत खसाल्न गइन भने त मसँगै मेरा सन्तान पनि मारिनेछन्, मत खसाल्न जाँदा मरिहालेँ भने पनि मेरा छोराछोरी त बाँच्नेछन्।' माओवादीले गरेको पहिलो र असाध्यै निन्दनीय काम थियो यो। माओवादीको जितमा ८० प्रतिशत हिस्सा यही धम्की र सन्त्राससँग जोडिएको थियो। त्यसैले निर्वाचनले जनादेश त दियो माओवादीलाई, तर त्यसले जनताको मन जित्न सकेको देखिएन। माओवादीले गरेको दोस्रो काम राजनीतिक नै थियो। माओवादीले राम्रै कुरा उठाएका थिए। 'अरूले अवसर पाए बारबार, हामीलाई मौका दिनूस् एक बार,' सायद यस्तै सार निस्किने नारा थियो तिनीहरूको। जनताको एउटा हिस्साले उनीहरूको नारालाई आत्मसात गर्योन। यद्यपि, माओवादी आतंकको सिकार भएका जिल्लामा यो नाराको औचित्य उहिल्यै समाप्त भइसकेको थियो। तर, जहाँ माओवादी आतंक फैलिएको थिएन, हेरिहालौँ न त माओवादीलाई भनेर मतदान गर्नेको संख्या पनि साह्रै सानो छैन। माओवादीले गरेको तेस्रो काम पनि राजनीतिक नै थियो। संविधानसभा हाम्रो नारा हो भनेर उनीहरूले राम्रै प्रचार गरे र सहरिया बुद्धिजीवीको एउटा हिस्साले त्यसलाई रामरी नै स्वीकार गरेको देखियो। माओवादीले गरेको चौथो कामचाहिँ विशुद्ध संसदीय एवं छली थियो। वृद्धभत्ता पाँच हजार पुर्याउउने, पानी–बिजुली छ्यालब्याल पार्ने, नयाँ चमत्कार गरेरै देखाउने जस्ता भाषण उहिले कृष्णप्रसादको सिंगापुर बनाउनेदेखि अहिलेका पुष्पकमल दाहालको नेपाललाई संसारको सबैभन्दा धनी देश बनाउने भाषणलाई पनि मतदाताले पत्याइदिए। यद्यपि, माओवादीले अहिलेसम्म मार्ने, घाइते पार्ने, भत्काउने र जलाउनेबाहेक अर्को कुनै काम गरेका छैनन्। तथापि, अहिले झिँगापुर भएको काठमाडांैलाई सिंगापुर बनाउने कांग्रेसी भाषणको भ्रममा परेजस्तै अहिले लोडसेडिङ र इन्धनको अभावबाट वाक्क भएका नेपाली मतदातालाई माओवादीले आकर्षित गर्यो । माओवादीको जितका पछिल्तिर अरू पनि कारण होलान्, तर अहिले यत्तिकै चर्चा पर्याप्त हुन्छ। अब अलिकति टिप्पणी गरौँ एमालेका हारका बारेमा। एमालेले हार्नुका पछिल्तिर पनि मूलतः चारै कारण विद्यमान छन्। पहिलो कारण हो पार्टीभित्रको आन्तरिक गुटबन्दी। सारा दुनियाँले जान्नेगरी एमालेभित्र गुटबन्दी चर्किएको छ। गुटबन्दीले सबैभन्दा ठूलो घाटा पार्टीलाई नै गर्छ भन्ने जान्दाजान्दै पनि एमालेका नेता किन गुटबन्दी गरिरहन्छन् भन्ने जानकारी कुनै इमानदार नेपाली नागरिकले पाउन सकेको छैन। दोस्रो कारण हो– राजनीतिक वैचारिक दृष्टिकोणमा आएको व्यापक स्खलन। कमिटी निर्माणमा पार्टीको सिद्धान्त, नीतिको अनुशरण, त्यसको सिर्जनात्मक प्रयोगभन्दा बढी व्यक्ति कुन गुटसँग सापेक्षता राख्छ भन्ने पक्ष प्रधान रहेको भेटियो। यस्तो तरिकाले पार्टीलाई एकीकृत ढंगले अगाडि बढाउन दिँदैन र एकीकृत ढंगले नचलेको पार्टीले कार्यकर्ता र जनताको नेतृत्व पनि गर्न सक्दैन। तेस्रो कारण हो– जनता र कार्यकर्ताबीच, कार्यकर्ता र नेतृत्वबीच सम्बन्ध चटक्कै चुँडिएको देखियो कतिपय जिल्लामा। यसपालिको चुनावी आँकलनमा लुम्बिनी अञ्चलको नेतृत्वबाहेक अरू त खलास भएको पनि देखियो। जनता के सोचिरहेका छन्, कार्यकर्ता कसरी परिचालित भइरहेका छन्, तल्लो कमिटी र माथिल्लो कमिटीबीचको सम्बन्ध कत्तिको जीवन्त छ भन्ने जानकारी पार्टीको नेतृत्वमा कहिल्यै आउन भ्याएन। चौथो कारण हो– नेता कार्यकर्ताको कर्मशीलता। अञ्चल इन्चार्जहरू काठमाडांैमा घर बनाएर बस्ने, कतिपय अञ्चल कमिटीका बैठक काठमाडौंमै आयोजित हुने पार्टीको कमिटी प्रणाली गाउँको तहसम्म कसरी क्रियाशील हुनसक्थ्यो? यति हुँदाहुँदै पनि अहिलेसम्म एमालेको शाख अरू कुनै पार्टीभन्दा माथि नै छ। किनभने त्यसले जनताको मन जितेको छ। माओवादीले जित्दा पनि त्यसलाई मान्यताको वैशाखी चाहिएको छ र एमालेले पराजित हुँदा पनि जनताको सहानुभूति प्राप्त गरेको छ। जनताले एमालेलाई तिरस्कार गरेका छैनन्। तिनले एमालेको कार्यशैलीप्रति असन्तोष जाहेर गरेका छन्। सारा दुनियाँलाई थाहा भएको सत्य हो– नेकपा (एमाले) नाउँ गरेको पार्टी हुँदैनथ्यो भने नेपालमा शान्ति छाउँदैनथ्यो। नेकपा एमाले हुँदैनथ्यो भने सरकार छाडेर बाहिरिएको अनि खुलामञ्चबाट संविधानसभाको चुनाव बिथोल्ने सार्वजनिक धम्की दिएको माओवादी फेरि फर्किएर संसद्मा आउँदैनथ्यो। अन्तिम सत्य पनि सबैलाई थाहा हुनुपर्छ– नेकपा एमाले पार्टी हुँदैनथ्यो भने, नेपालमा संविधानसभाको चुनाव पनि हुँदैनथ्यो। त्यसैले हारमा पिरिनुपर्ने कुनै आवश्यकता छैन। भौतिकवादमाथि विश्वास राख्ने नेता, कार्यकर्तालाई थाहा हुनुपर्छ– जेको पनि अन्त हुन्छ, अनन्त कोही हुँदैन। समयसँग दौडिन नसक्नेको भविष्य पनि हुँदैन। अनि हामी सबैलाई थाहा भएको कुरो हो– उग्रवामपन्थी जडताको सिकार भएको माओवादी पार्टीले आफूलाई १८० डिग्री घुमाएर रूपान्तरण गरेन भने त्यसको अन्त पनि साह्रै टाढा जाने छैन। एमाले पंक्तिले आफ्ना कमजोरी सच्याउने मौका पाएको छ। साढे दुई वर्षको समय राजनीतिमा कुनै अर्थ हुँदैन। शून्यमा झरेको नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरेर यहाँसम्म ल्याइपुर्या उने नेता अहिले पनि जीवितै छन्। अत्यन्त कष्टकर समयमा तिनलाई साथ दिने कार्यकर्ता अहिले पनि ज्यँूदै छन्। जनताको हित सम्झिएर मिहिनेतपूर्वक काम गरौँ– अन्तिम विजय हाम्रै हुनेछ। माओवादी हिजो–अस्ती परेको त्यस्तो आँधीको असिना हो जो केही घन्टामै स्वात्तै बढारिएर गएको थियो। आउनूस्, हामी माओवादीले नेतृत्व गरेको सरकारलाई शुभकामना दिउँ्क– बोलेको कुरो पुर्याोउनुहोला, राज्यको सञ्चालन धम्कीबाट गर्न सकिँदैन भन्ने सत्यबोध गर्नुहोला। अन्यथा राजावादीसँग गठबन्धनले तपाईंहरूलाई पनि उही ०६३ साल वैशाख ११ गतेको भाग्य जुराइदिनेछ।
http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9127
|