कमरेडले गाईलाई गधा, बाघलाई जरायो,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो!
जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द
नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले
आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड
आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
।
।
।
।
।
आज बिहान शब्दकोष हेर्दा ‘क्रमभंग’ शब्द कतैपनि देखिएन। कतै ‘क्रमभंग’ले आत्महत्या त गरेन?!
(सूचना:यो
'क्रमभंग' महिमाको प्रतिलिपि अधिकार खुल्ला छ। जोसुकैले कमरेडहरुका
'क्रमभंग'का उदाहरणहरु थप्न, अरुलाई पठाउन वा जे सकिन्छ त्यहि गरेर
'क्रमभंग' गर्न सक्नेछ:)
(Also posted in
http://www.basantagautam.com/ )
Last edited: 15-Dec-08 12:48 AM
Last edited: 15-Dec-08 12:49 AM