[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 उसलाई हतार छैन।

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 13183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-19-17 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

भाग-१

रात धेरै छिप्पिसकेको हुनु पर्छ, सडकमा मोटरसाइकल त्यति कुदेको छैन। निद्रा पर्दै पर्दैन, हुन त हरेक रात यस्तै हुन्छ उसलाई। सुत्ने बेलामा चिया खाएर हो कि के हो? हरेक रात उ वोल्टे कोल्टे फेर्छ, टिवी हेर्छ, खासै केही मन पर्दैन। टिवी बन्द गरेर उ पल्टिन्छ खाटमा र आँखा बन्द गर्छ। उसको कोठा बाहिरको भरेङमा कोही उक्ले जस्तो सुनिन्छ। उ स्वाश् रोकेर सुन्छ, ध्यानपुर्बक, "टक टक" हिंडेको जस्तो। भुइतल्लामा उ बाहेक कोही बस्दैन, यदी चोर रैछ भने त केही छैन। तर कोही चक्कु लिएर आएको छ भने उसलाई सजिलै मार्न सक्छ। केही गर्नै पर्दैन, एक दुई चोटि छातीमा हानेपछी उ रगत बगेरै मर्छ। कसैलाई थाहा हुँदैन। उसले हिन्दी चलचित्रमा देखेको छ, मुटुमा छुरा प्रहार गरेपछी कोही बाँच्दैन। हात, खुट्टा वा पाखुरामा भए अर्कै कुरा। बाहिर "टक टक" आवाज अरु बढेको छ। कति बज्यो होला? भित्ते घडी हेर्छ, त्यहा त ९ बजेको छ। हैन , नौ बजे नै यस्तो चकमन्न हुन सक्दैन, त्यो घडीले गलत समय देखाएको छ। त्यसपछी उसले आफ्नो पुरानो मोबाइलमा हेर्छ, १२ बजिसकेको छ, १ बज्न धेरै समय बाँकी छैन। बल्ल उसले सम्झिन्छ, भित्ते घडीले समय दिन छोडेको धेरै भैसक्यो। उसको आफ्नो जिन्दगीको समय रोकिएको पनि धेरै भैसक्यो। उसले घडी बिग्रिदा पनि बनाउने इछ्या देखाएन, शायद उसको जिन्दगीमा समयको कुनै अर्थ छैन।

बाहिर भरेङमा आवाज रोकिएको छैन, उ जुरुक्क उठेर बस्छ। शायद, भरेङबाट कुनै मान्छे झर्दैछ वा उस्कै कोठामा आउँदैछ। यदी ढोका फुटाएर भित्र छिर्यो भने उसले प्रतिरक्षामा के गर्न सक्छ? यसो यताउता हेरेपछी एउटा तरकारी काट्ने छुरी देख्यो। तर त्यति सानो छुरीले के काट्ला र? त्यसपछी धेरै दिनसम्म प्रयोग नगरिएको कुनामा बसेर उसैलाई हेरिरहेको एउटा कुचो देख्यो। त्यो पनि काम लाग्न सक्छ। बल्ल उसले सोच्यो, एउटा हतियार त सुरक्षाको लागि राख्नै पर्ने रैछ। काल जमाना ठीक छैन। उ तरकारी काट्ने छुरीलाई सिरानीमुनि राख्यो र कुचोलाई खाटमुनी। हैन, बाहिर त आवाज रोकियो, ढोकामा गएर उसले ध्यानपुर्बक कान लगाएर सुन्यो। छैन, अहिले पटक्कै त्यो आवाज आएको छैन। कोही भरेङमा हिंडेको पनि छैन। शायद, चोर बाहिर गयो। उ ढुक्क भयो। एक गिलास चिसो पानी खायो र खाटमा गएर कोल्टे परेर सुत्यो। सिरानीमै कान राखेर सुत्दा फेरी त्यही आवाज आयो "टक टक", फेरी उ उठ्यो, आवाज आएन, एकछिनपछी फेरी सुत्यो, त्यही "टक टक" सुन्यो। धेरै बेर उठ्यो, सुत्यो, फेरी उठ्यो अनी फेरी सुत्यो। त्यसपछी उसले थाहा पायो। टक टक होइन "ढक ढक" सुनेको रैछ उसले, आफ्नै मुटुको ढुकढुकी सिरानीमा। बेकारमा डराएको! उ फिस्स हास्यो र फेरी पल्ट्यो।
धेरै चिया खान नहुने, खाटमा पल्टेपछी उसलाई पिसाबले च्यापे जस्तो भयो। बाहिर नजाने भनेको चर्पी भरेङमुनी नै छ। हुन त उसले आफ्नै मुटुको ढुक ढुक सुनेको हो नि, डर भनेको आफ्नै मनको कुरा न हो। तैपनि तरकारी काट्ने चक्कु भए पनि बोकेर जानु पर्ला, के थाहा कतै ट्यापे केटाहरु चोर्ने दाउले बाहिर लुकेर बस्न सक्छन। आ, जती सोच्यो त्यति धेरै कुरा। चोर आएपनि उसँग छ नै के र? चोर्नलाई योग्य सामान के छ र? खानेकुरा त छैन, उसले चिया र बिस्कुट खाएको कति दिन भैसक्यो। जम्मा पचास रुपैयाँ होला, त्यो लगे नि लगोस। थोत्रो टिवी छ, त्यो बेचेर कति नै आउछ र चोरलाई ? आजकाल किन खाली यस्तै मात्र सोच्छ। के राम्रो कुराहरु सकी सके? उसको भागमा डर शँका र अनिस्चितता मात्रै छ? ह्या, कति धेरै मनमा कुरा खेलेको? उसले चुकुल खोल्यो ढोकाको। बाहिर अध्यारो थियो, कतै केही थिएन। अध्यारो भएकोले उसलाई आफ्नो छाया पनि साथै छ कि छैन, थाहा भएन।

चर्पी बाहिर निस्केपछी उस्लाई कतै पर सुक्क सुक्क जस्तो सुन्यो। भरेङ नजिकै पुग्दा पर होइन दोस्रो तल्लामा कोही रोएको जस्तो सुन्यो। यती राती किन रुन्छ मान्छे? उ एकैछिन ढोकानिर उभियो र सोच्यो। दोस्त्रो तलाको एउटा झ्याल खुलै छ। अध्यारोमा उसले पर्दा देखेन, तर बेला बेलामा हिक्क हिक्क सुन्यो। उसलाई भुतप्रेतमा विश्वाश छैन, त्यसैले त्यो रुवाइ मान्छेकै हो भन्ने पक्का गर्यो। भित्र कोठामा गयो, रुनलाई एकान्त राम्रो, अझ एकान्त भन्दा रात राम्रो रहेछ। त्यो को होला? राती राती रुने? उसले छिडिमा बसेर माथि तल्लामा को को छन भन्ने कुरा कहिल्यै वास्ता गरेन। डेरा हो, कति आउछन, कति जान्छन। तर उसले दोस्रो तल्लामा धेरै भयो कोही मान्छे नदेखेको। पानी भर्न जादा आकल झुकल माथि तल्लामा बस्ने डेरावालहरु भेटिन्छन् तर उ सँग कमै मान्छे कुरा गर्छन्। उ प्राय मान्छेहरुसँग धेरै अन्तर्कृया गर्न रुचाउदैन। उ सँग कुरा गर्ने बिषय बस्तु छैन।
घडी हेर्दा रातको २ बजिसकेको थ्यो। के गरौ गरु जस्तो भयो उसलाई। चिया पो खाउ कि? तलतल लाग्यो फेरी। निद्रा नपर्ला कि? कहिले पो पर्छ र निद्रा उसलाई? यस्तै सोच्दै उसले बनायो फिका कालो चिया। भोक लागेको हो कि जस्तो भयो, तर उसलाई बिस्कुट खान मन लागेन, चियाले २ घण्टा पेट भर्छ। टिवी हेर्यो, च्यानल चेन्ज गर्दै बस्यो। केही हेर्न राम्रो कुरा छैन। फेरी बन्द गर्यो। चिया पिउन थाल्यो, फोन चेक गर्यो, कसले पो फोन गर्छ र उसलाई। मेसज हेर्यो, फेरी सम्झ्यो को पो छ र उसलाई मेसेज गर्नलाई? कति नै ब्यस्त जस्तो? कोठामा टहल्न थाल्यो। निद्राको अझै कुनै संकेत थिएन। बाहिर भरेङ माथि ढोका घग्रक्क खोलेको जस्तो सुन्यो। अहिले चाँही प्रस्ट रुपमा कोही तल झरेको पदचाप सुन्यो। शायद चप्पल को आवाज, पट्याक पट्याक गरेजस्तो। पदचाप भरेङ मुनी चर्पीतिर लाग्यो। उ सोच्न थाल्यो उ मात्रै होइन, अरु कसैलाई पनि निद्रा परेको छैन। संसारमा उ एक्लै छैन, निद्रासँग अरु कोहिको पनि राम्रो सम्बन्ध छैन। उसले ढोकामा चुकुल लाएको छैन, यसो बाहिर चियाउन मन लाग्यो, चर्पीतिर गएको मान्छेको पदचाप भरेङ्तिर फर्कियो। उसलाई किन किन हेर्न मन लाग्यो त्यो मान्छेलाई। अध्यारोमा केही देखिदैन थ्यो, तर उसले ढोका खोल्ने हिम्मत गरेन। माथि उक्लिरहेको पदचापसङै सुन्यो चुराहरुको "छनछन"। उसको जिउ फुल्यो, के साँच्चै त्यो कुनै किच्कन्नी थिइ ? सानो हुँदा उसले त्यस्तो कथा कति सुनेको थ्यो। उसको आमा भन्नु हुन्थ्यो किच्कन्नीले लोग्नेमान्छेलाई पछ्याउछे, आफ्नो रुपले एकोहोरो बनाउछे र अन्त्यमा मुटु कलेजो झिकेर खान्छे।
उसको मुटु कलेजो के मिठो होला र? उसको मुटु जस्तो अलिनो र बेस्वादको कस्को मुटु होला र?
माथि फेरी ढोका लाग्यो “ढ्याम्म”। उसले कल्पना गरेको किच्कन्नीको आक्रिती भत्कियो । के अघि रुने मान्छे त्यही मान्छे थियो? हैन हैन, लोग्नेमान्छेले चुरा लगाउदैन। त्यो स्वास्नीमान्छे हुनु पर्छ। तर यति मध्यरातमा उ किन रुदैथी?

क्रमश:













 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-20-17 3:39 PM     [Snapshot: 576]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

wtf ....interesting stuff ....need next part...
 
Posted on 03-20-17 3:50 PM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

केजी दि'को नमिठो सस्पेन्स ह्याsss . किचकन्नी त हैन होला हौ, किचकन्नीको त कुर्कुचा अगाडी अनि खुट्टा पछाडी फर्केको हुन्छा रे नि . अन्तर्मुखी पात्रको राम्रो मनोभावना पोखिदै छ है .

लौ क्रेजी दि र रिठ्ठे दुवै लाइ साझामा धेरै पछि झुल्केकोमा सुर्य नमस्कार .

- थाहा छैन
 
Posted on 03-20-17 6:43 PM     [Snapshot: 671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हेल्लो क्रेजी

अलिक समय ब्रेक ले'को क्या त :)

अनि तिम्रो के छ नया नौलो? साँची चौतारीको साँचो कल्ले लुकाइदियेछ है?

थाने ब्रदर के छ हौ? लगे रहो भाय ;)
 
Posted on 03-20-17 11:22 PM     [Snapshot: 781]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Are you writing "SShhhh kohi hey ?" ;) Nice stuff sahili ..waiting for the next part
 
Posted on 03-21-17 12:26 PM     [Snapshot: 918]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

भाग-2

फेरी त्यो मान्छे तल झर्छ कि भन्दै उसले १ घण्टा कुर्यो। केही आवाज आएन, न रोएको सुनियो। न कोही हिंडेको सुनियो। उसकै मनको भ्रम जस्तो। यो घरमा डेरा बसेको धेरै बर्ष भैसक्यो, उसले कहिले केही सुनेको छैन। खाली आजको रात त्यस्तो महसुस भयो उसलाई। आजकाल उसलाई दिनभरी केही हुँदैन, रातपरेपछी अनेकौ तर्कना आउछन। बिहानको ३ बजेतिर पर पर कुकुरहरु रुन थाले, चित्त दुखेको जस्तो, पीडाले कराएको जस्तो। उसको मन अमिलो भयो। उसको गाउमा कुकुर रुनु भनेको अलछिन लाग्नु हो भन्थे। २-३ चोटि राती कुकुर रोएको हुन्थ्यो, दिउसो कोही न कोही मर्थ्यो। एक मनले बिचरा कुकुरहरु भन्ने लाग्यो! मान्छे जस्तो उनिहरु आफ्नो भावनाहरु ब्यक्त गर्न सक्दैनन। दु:ख त उनिहरुसँग नि हुँदा हुन। भन्न नसकेर मात्रै, उनिहरुको पनि कथा हुदो हो, ब्यथा हुदो हो।

हैन यस्तो तरिकाले त निदाउन नसकिने भो, अब जसरी पनि सुत्नु पर्यो। हा--इ गर्यो, जिउ तनक्क तन्कायो, अनी आँखा बन्द गरेर खाटमा पल्टियो। पल्टिनसाथ निद्रा कहाँ आउनु? भोली महिनाभरिको लागि रासन पानी र डेरा भाडाको पैसा लिन जानु पर्छ दिदीकहा। उसको आफ्नै दिदी त होइन तर पनि स्वास्नीको दिदीलाई “दिदी” भने केही फरक पर्दैन। ससुरालीमा कसैले वास्ता गर्दैनन। तैपनी बेलाबखत उ आफन्त सम्झेर जान्छ। भोज भतेरमा बोलाउछन। पहिले पहिले के काम गर्नु हुन्छ भनेर हैरान पार्थे, अचेल केही सोध्दैनन। बरु कुनै न कुनै घरको काम देखाउछन। कहिल्यै कुनै तार मिलाउनु पर्छ, कहिले हिटर बनाउनु पर्छ। त्यती भए पनि काम लागेकोमा उसलाई आँफै माथि गर्ब लाग्छ। काम पाउन सजिलो कहाँ सजिलो छ, न कोइ आफ्नो भनसुन गर्ने मान्छे न त डीग्री। मुखले भनेको जस्तो काम पाउन सजिलो छैन। झन केही गर्न मन नभए पछी काम खोज्न पनि मन लाग्दैन। उहिले उहिले गरियो दिनरात फ्याक्टरितिर। अब कुनै बिजिनेस छैन, त्यस्तो काम पनि छैन।

आँखा गर्हौ हुन थाले, फिलिमको रिलजस्तो कुराहरु दिमागमा घुम्न थाले, अली अली निद्रा जस्तो। बाहिर फेरी आवाज आउन थाल्यो। सर्याक सुरुक, कोही छिटो छिटो हिंडेजस्तो, खस्र्याक खुस्रुक पनि सुनियो। उसको ढोका अघी भरेङमा बङ्रङ लड्यो जस्तो लाग्यो। सपना हो कि बिपना उसले छुट्याउन सकेन। उ उठेन, एकैछिनपछी माथिबाट एउटा आवाज आयो, "त्यहा को हँ?" घरपेटिजस्तो लाग्यो। बाहिर कोही छ, त्यो कुरामा शँका भएन। उसकै ढोकामा कि आगनमा? बाहिर जाने ढोका त खुलेको छैन। घरपेटिले राती ९ बजे त्यो ढोकामा ताल्चा लगाउछन र बिहान ५ बजे मात्र खोल्छन। आ-- को रातै भरी हिंड्ने ? अर्कालाई डिस्टर्ब गर्ने? उसले तरकारी काट्ने चक्कु लियो र हिम्मत गरेर ढोका खोल्यो। उसको ढोकामा कोही थिएन, न त भरेङमा कोही थियो। तर अनौठो आवाज सुन्यो, कसैलाई स्वाश फेर्न गार्हो भएको जस्तो आवाज अाइरहेको थ्यो। घाँटी बन्द भए जस्तो, भित्र बाटै "उँ ----" गरिरहेको थ्यो।

यतिखेरसम्म पनि बाहिरको बत्ती नबालेकोमा उसले घरपेटिलाइ मनमनै सराप्यो। तलमाथि कोही केही नदेखेपछी उसको आँखाहरु बाहिर जाने ढोकातिर गए, आवाज त्यतैतिरबाट आइरहेको थ्यो। बाहिर जाने ढोकाको दाँयातिर नासपातिको रुखमा कोही हल्लिरहेको जस्तो छाया देख्यो। त्यो आवाज पनि त्यतै बाट आएको थ्यो। उ तुरुन्त टर्चलाइट लिन गयो र एकैछिनमा नासपातिको रुखतिर दौडियो । रुखै नजिक गएपछी टर्चलाइटको उज्यालोमा उसले कहिले नसोचेको द्रिश्य देख्यो। एउटी आईमाई रुखमा पासो लगाइ झुन्डिरहेकी थी, छटपटिरहेकी थी, रुख तल एउटा सानो मेच ढलिरहेको थ्यो। उ हत्त न पत्त मेचमा चढ्यो, त्यो आईमाईको खुट्टाहरु समात्यो र भन्न थाल्यो "हुँदैन, हुँदैन!" मेचको सन्तुलन बिग्रिन शुरु भैसकेको थियो, मेच हल्लिन थाल्यो, अघी -पछी, उसले त्यो आईमाईको खुटाहरु अरु जोडले समात्यो।

एकछिनमै घरपेटि लगायत केही मान्छेहरु जम्मा भए, हल्लाखला हुन थालयो, "डोरी काट्नु पर्यो" भन्दै कराउन थाले। कुनै एक पुरुषले रुख चढेर डोरी काटे, त्यो आईमाईसङै उ पनि भुइमा खस्यो । उसलाई त खासै धेरै चोट लागेन, दरफरायो मात्रै। भुइमा हुँदै कसैले "श्वास फेर्दैछे!" भनेको सुन्यो । “सुधा---- के गरेकी यस्तो?” एउटा पुरुष "ह्वाँ ह्वाँ रुदैथ्यो। "लौ न एम्बुलेन्स बोलाउन पर्यो।" घरपेटिको तिखो स्वर सुनियो। कसैले तुरुन्तै मोबाइलबाट फोन गर्यो। "होश छैन, छिट्टो हस्पिटल लानु पर्यो।" कुनै पुरुषको आवाज सुनियो। त्यो हुलमुलमा उ उठ्दै गर्दा भुइमा एक टुक्रा सेतो रुमाल जस्तो देख्यो, छामी हेर्दा कागज रैछ। कसैले देखेनन, उसले छिटो छिटो गोजीभित्र राखे।

के के भयो भनेर सोच्न नपाउदै एम्बुलेन्स आयो र त्यो आईमाईलाई हस्पिटल लग्यो। म दरफराएको घाऊ लिएर आफ्नै कोठामा गयो , कोठामा गएपछी उसले घुँडामा रगत बगिरहेको देख्यो। शायद कुनै ढुङ्गामा ठोकिएको हुनु पर्छ। बाहिर गाइगुइ हुन थालयो।

"नया डेरावाल हुन दिदी?" गाउलेहरु घरपेटिलाइ सोध्दै थे।

"दुइ महिना भयो, लोग्ने स्वास्नी मात्रै भनेर कोठा देको, यस्तो हुन्छ भन्ने के थाहा?" घरपेटि बज्यैको स्वर सुनियो।

"कती राम्रा चखेवा चखेवी जस्ता जोडी थे, के भएछ त्यस्तो?" अर्कै मान्छे सोध्दैथ्यो।

"लोग्ने गतिलो छैन होला, सबै लोग्नेमान्छे उस्तै त हुन नि।" कुनै आईमाईको स्वर सुनियो।

"हेर्दा त दुबै खुशी देखिन्थे, सङै काममा जान्थे, सङै फर्किन्थे।" घरपेटिको उत्तर थ्यो।

"२५-३० होला होइन उमेर, धेरै पाको नि हैन जस्तो छ।" कसैले भन्यो।

"होला, त्यस्तै, बिहे भएको पनि एक बर्ष मात्रै भयो भन्थ्यो लोग्ने चाँही।" यसपल्ट अरु कोहिको आवाज आयो।

लोग्ने स्वास्नी सङै बस्न पाउने, दुबै काम गर्ने हुँदाहुँदै त्यस्तो के कारण हुन सक्छ जसले त्यो केटीलाई जिबनप्रती मोहभङ गरायो? दुबै जवान, बच्चा पनि भएको छैन, सङै काम गर्ने, तैपनी त्यसले किन आत्महत्या रोजी? उसको मनमा प्रश्न माथि प्रश्न उठ्न थाले। अब त्यो केटी बाच्छे कि बाच्दिन? कस्ती अभागी!

उसले पाइट रगतले भिजेको देखेपछी अर्को हाफ पाइट खोज्यो। फुकाल्न लाग्दा गोजीभित्र राखेको कागज भुइमा खस्यो। हतार हतार त्यो कागज टिपेर पढ्न थालयो। उसले सोचे जस्तो त्यो सुसाइड नोट लामो थिएन। गोलो गोलो सुन्दर निलो अक्षरमा एक लाइन मात्रै लेखिएको थ्यो। उसले एकै श्वाशमा पढ्यो।

"माफ गर ! म तिमीलाइ माया गर्न सक्दिन!"

क्रमश:












 
Posted on 03-21-17 12:29 PM     [Snapshot: 920]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hi DK,

Thank you for your comment!

Thaane bhai,

forgot to check heels hai, tyo hernu parne pahila. maile pani suneko the, kichkanneeko khuttaa ulto huncha re.

ritthe,

k hunu naulo? aakhaale bheu paauna chodyo, kapaal fule, budheskaal laagyo.

fuchche,

timro sudha laai maile sapati liye hai.


 
Posted on 03-21-17 11:00 PM     [Snapshot: 1123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

sudha ??? sahili not fair not fair ...सुधालाई त माया गर्न आउँछ , यो अर्कै ठाउँकी सुधा परे जस्तो छ ;) keep posting ....
 
Posted on 03-22-17 9:47 AM     [Snapshot: 1229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गुदी कथा त अहिले पो आउंदै रहेछ . म त तर्साउने भूतको कथा भनेको त यो त मनको भूतको कथा जस्तो छ है .

पढ्दै छु .
 
Posted on 03-22-17 1:09 PM     [Snapshot: 1323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

. ( थोप्लो)
 
Posted on 03-23-17 8:57 AM     [Snapshot: 1481]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पढिराछु है क्रेजीजी !! राम्रो लाग्यो अर्को भाग को प्रतिक्षामा छु!!!

 
Posted on 03-23-17 7:54 PM     [Snapshot: 1637]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

भाग- ३
"मा--फ ग--र!" खुइया सुस्केरा हाल्यो उसले। किन माफ गर्ने? फेरी पढ्यो त्यही नोट " म तिमीलाइ माया गर्न सक्दिन!" किन? मनले गर्ने हो माया, जब चाह्यो मनले माया गर्यो, जब चाहेन माया गर्न सक्दिन भनेर हुन्छ? त्यस्तो माया गर्न सक्ने र नसक्ने बटन मान्छेको शरीरमा भए उ के गर्थ्यो? मायाको बटन नै "अफ" गर्थ्यो, एकोहोरो मात्रै माया पनि त काम छैन नि।? शुरु शुरुमा त खुब गर्यौ होला माया, अब के भयो? के मायाको पनि जन्म र मृत्यु हुन्छ मान्छेको जस्तै? कि माया एक्स्पायर हुन्छ कुनै समय पछी। किन माया गर्न नसक्ने? माया गर्न नसक्नु को कारण के? ल माया त गर्न सकेन रे तर आत्महत्या गर्नु किन? माया गर्न सक्दिन भनेर लेख्ने हिम्मत गर्नेले बाँच्नु पनि सक्नु पर्छ हो? बेकारमा खैलाबैला के लाई गर्नु? मान्छे निदाउन सकिरहेको छैन यहाँ, उसलाई मर्न हतार!

कारण चाहियो कारण ! किन माया गर्न नसक्नुको कारण। के माया खर्च भयो? रित्तियो? सिद्धियो? कसरी? त्यो पनि त भन्नु पर्यो। माया त बैन्कमा राख्न सकिदैन, न सापटी लिन मिल्छ? हैन कसरी सक्दैन माया गर्न? उसले सम्झ्यो कसैले, हैन हैन, आफ्नै मान्छेले, मतलब जसलाई उ आफ्नो अझै आफ्नै सम्झिन्छ। पराया त भएकी छैन शायद। उसको आफ्नै मान्छे तर पर पर भएकीले भनेको थ्यो उसलाई "म तिमीसङ जिन्दगी बिताउन सक्दिन।" एउटा वाक्यले उसको जिन्दगीलाई तितरबितर पार्न खोजेको थ्यो। तर त्यहा माया थियो, छ र रहन्छ कि रहदैन उसलाई थाहा छैन। उसले सोच्यो "म तिमीसङ जिन्दगी बिताउन सक्दिन” र “म तिमीलाइ माया गर्न सक्दिन" को अर्थ उही हो, हैन फरक छ, आकाश जमीनको फरक छ।

म तिमीसङ जिन्दगी बिताउन सक्दिन भन्नु को कारण धेरै हुन सक्छन, तर माया त जस्ताको त्यस्तै छ है भन्ने हुन्छ। "म तिमीसङ जिन्दगी बिताउन सक्दिन" र "माफ गर! म तिमीलाइ माया गर्न सक्दिन" दुई भिन्दा भिन्दै वाक्यहरु हुन, यिनीहरुलाई एउटै अर्थमा राख्नु त ठुलो भुल हुन्छ। तर उसकी स्वास्नीले "म तिमी सित जिन्दगी बिताउन सक्दिन।" भन्नु अघी माफ गर भनिन। कती सजिलै उ के चाहन्छे भनेर गै। तर उ के चाहन्छ, छोरो के चाहन्छ बुझ्न कोशीश गरिन। बिबाहपछि, एउटै घरमा लोग्नेस्वास्नी भैसकेपछि कसरी एकै जनाले मात्र ब्यक्तिगत निर्णय लिन सक्छ? उसले नबुझेको धेरै कुराहरु मध्ये यो पनि एउटा हो। एकजनाको निर्णयले परिवारमा अरु क-कस्लाई कस्तो असर पर्न सक्छ भन्ने कुरा ब्यक्तीको खुशी भन्दा ठुलो नहुदो रहेछ। समय अनुसार प्राथमिकता बदलिदो रहेछ जिबनमा।

हैन यो त प्रमाणित गर्नै पर्छ, कसरी गिलासभरी राखेको पानी सकिन्छ? कि त त्यो गिलास चुहिनु पर्यो, हैनभने पोखिनु पर्यो। त्यसै गिलासको पानी रित्तियो भन्न पाइदैन। त्यस्तै माया पनि त चुहिनु पर्यो वा पोखिनु पर्यो, त्यतिकै सकिने त कारण हुँदैन। कुरा एकदम सजिलो छ, जसरी गिलासको पानी कसैले नखाए रितिदैन त्यस्तै माया पनि कसैलाई नदिए सकिदैन। माया त त्यही हो नि, दिने मान्छे र लिने मान्छे फरक होलान, त्यसको मतलब माया नै सखाप भएको, सिद्धिएको त हैन नि। उसले बिचार गर्यो, पानी गिलासमा राखेर एक्स्पेरिमेन्ट किन नगरने? उ सिसाको गिलासमा पानी भर्न थालयो। भरेको गिलास उसले टिबी नजिक राख्यो, र एकोहोरो हेरी राख्यो।

"गिलास त भरी छ, मुटु पनि मायाले भरिएको छ। अचानक किन कसैले कसैलाई माया गर्न सक्दैन?" उ सोची रह्यो।

"श्यामबाबु! ए श्याम बाबु! ढोका खोल्नुस् न!" घरपेटिको तिखो स्वर सुनियो।

एकछिन नसुनेको जस्तो गर्यो उसले, पक्कै डेरा बहाल माग्न आएकी होली! आज त छैन, समय पनि त भैसकेको छैन, कती चाहिने पैसा यो बुढीलाई? उ चुप लागेरै बस्यो। घरपेटि फर्किन, बोलाको बोलाई गर्न थाली। अती भए पछी उसले ढोका खोल्यो।

"साहुनी! आज त पैसा छैन। भोली मात्रै आउछ।" उसले घरपेटिको अनुहारमा हेर्न सकेन।

"कसले माग्यो र पैसा? तपाईंलाई अघी चोट त लागेन?" अरुबेला स्वार्थी देखिएपनी अहिले उसलाई सम्झेर घरपेटि सोध्न आएको देखेर उ मनमनै खुशी भयो। उसको बारेमा सोच्ने पनि त रैछन्। यो पनि त माया नै हो नि हैन र?

"छैन छैन, घुँडामा सानो घाऊ छ, त्यतिकै निको हुन्छ।" यतिखेर उसको स्वर अली ठुलो भयो, उसले घरपेटिलाइ हेर्यो।

"तपाइले आज ठुलो कर्म गर्नु भयो। त्यो नानीको ज्यान बचाउनु भयो, यसको सट्टामा भगवानले हेर्नु हुन्छ बाइ!"

"के ठुलो काम भन्नु साहुनी! तिनलाई केही नभए त हुन्थ्यो! अहिले नै के थाहा होला र?"



"श्वास त राम्रै फेर्दैथी, बाँच्छे होली। राम राम के देख्नु परेको त्यस्तो? मनमा पीर चिन्ता भए एक आपसमा कुरा गर्नु पर्छ, आँफै मरेर पनि केही हुन्छ?"

"मर्नु भन्दा बहुलाउनु निको भन्छन।"

"त्यही त! यती राम्रो जुनि कहाँ पाउनु?" कोठाको चारै कुना आँखाले निरिक्षन गरेर घरपेटिले कुरा घुमाइन।

"नानी कहिले आउछिन?"

"हजुर!" उ नबुझे झै भुइतिर हेर्न थालयो।

"राजुको आमा अब नेपाल कहिले आउछिन? ३-४ बर्ष भएन र बिदेश गाको?"

"बिदा छैन रे! मिल्यो भने छिट्टै आउछिन होला।" उ सधैं यस्तै जवाफ दिन्छ , जसको उत्तर उ आँफैलाई पनि थाहा छैन।

"छोरा छ, लोग्ने यही छन, धेरै टाढिनु नि हुन्न बा अब। कि उतै सबै परिवार जानु कि यतै आउनु! दिन जमाना ठीक छैन। लोग्ने स्वास्नी छुट्टीएर धेरै बस्न हुन्न श्याम बाबु।“

“भनेको जस्तो मिल्न गार्हो हुन्छ नि! मेरो काम छैन के गर्नु? लोग्नेमान्छे भएर पनि परिवार पाल्न सकिन। " उसलाई जहाँ छोए धेरै दुख्छ, मान्छेहरु त्यही घोचिदिन्छन।

"काम पाउन नि कस्तो गार्हो?"

"खोजेको हो, आफुले भने जस्तो पाइदैन, अरुले खोजे जस्तो आफुसँग सीप र पढाई छैन। काम मात्रै पाए त सानो ठुलो जे भने नि गर्थे," खासै भन्ने हो भने अब उसलाई काम गर्ने इक्ष्या छैन, के र कसको लागि काम? जो आँफैसँग छ भन्थ्यो, उ छैन, बास्तबमा भन्ने हो भने उ एक्लो छ यती धेरै मान्छेहरु बिचमा।

"राजु कहिले आउछ? न आमा आउछ, न छोरा आउछ, के हो यस्तो?"

"उसको जाँच छ, त्यसपछी आउछ। उ पनि ठुलो भयो, आफ्नै साथीभाइ मात्र मन पराउछ। घरमा बिग्रेला भनेर होस्टेलमा राखेको, उतै रमाउछ। राजु घरलाइ होस्टल ठान्छ र होस्टेललाइ घर। "

“ल श्याम बाबु, म माथि जान्छु, हस्पिटलमा के हुँदैछ, एकचोटि सुधाको लोग्नेलाई फोन गर्नु पर्यो।"

ढोकामा पुग्दा नपुग्दै घरपेटीले फेरी फर्केर भनिन।

"तपाइ पनि एक्लै कोठामा धुम्धुम्ती नबस्नु! मन बिरक्तिन्छ।"

उसले टाउको मात्रै हल्लायो। मन त कहिले पो न बिरक्तिएको छ र, ब्यक्त गर्न सक्ने भए, उ दिनदिनै आशुले मनको कुराहरु सेतो कागजको पानाहरुमा लेख्थ्यो।

"माफ गर! म तिमीलाइ माया गर्न सक्दिन!" हैन, हैन यो अरु कसैको सुसाइड नोट हो।

"माफ गर! तिमीले छोडेको यति बर्ष सम्म पनि म तिम्रो दयाको भिख बिना बाँच्न सक्दिन।"
" मर्न पर्ने त म हो, मेरो के अस्तित्व? मेरो इज्जत गल्लीको भुस्याहा कुकुरको जती पनि छैन। अघी बिहान झुन्डिनु पर्ने त म हो, किन अरु कोही झुन्डियो?”
टङ्रङ के आवाज आयो, टिबिको छेउबाटै एउटा सानो मुसा अघी उसले पानी भरेर राखेको गिलासलाइ हल्लाएर गयो। गिलास ढल्ला ढल्ला जस्तो गर्यो, पानी हल्लियो, तर पोखिएन।

"गिलास त अझै भरी छ, पानी पोखिएको छैन, माया पनि टम्मै छ, सकिएको छैन।"

क्रमश:











 
Posted on 03-23-17 7:55 PM     [Snapshot: 1639]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thank you fuche, thaane, kalikopoi and kyajhoor Ji!
 
Posted on 03-23-17 8:18 PM     [Snapshot: 1650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म पनि आफ्नै खैला बैलामै थिएअ तेश्रो भाग पुगिसकेछ ?
श्याम बाबु पनि मन मनै गुन्दै होलान
जिन्दगि कसैलाई भाबि को लहना हो कसैलाई विलासको गहाना हो मलाइ चै बाच्ने एक बहाना हो |


 
Posted on 03-27-17 6:34 PM     [Snapshot: 1930]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

भाग-४

संसार मायामा बाचेको छ, उसले आँफैले आँफैलाई सम्झायो। एकछिनमै उसलाई निद्रा झपझप लाग्न थालयो। एक्छिन आँखाको बिष मार्नै पर्यो भनेर ढलिकियो। ब्युझँदा चर्को घाम लागिसकेको थ्यो, मध्यानह होला भन्ठानेको थ्यो उसले तर ४ बजिसकेको रहेछ। एकचोटि बाहिर निस्किनु पर्ने दाल चामल सकिएको छ, तर पैसा पनि छैन। दिदीको घरतिर जाउ कि भन्ने लागेको थ्यो, भोली जाउला भनेर बस्यो तर ५ बज्न लागेपछी उ बाहिर निस्क्यो। बानेश्वर पुगेपछी पानीले भिझेको कुकुर जस्तै लत्रायक लुत्रुक भएर जेठी सासुलाई नमस्ते गर्यो। जेठी सासुले उसलाई सामान्य कुराकानी पछी बेलुकीको खाना खुवाइ वरि छोराको स्कुलको फि, डेराबहाल र महिनाभरिको खर्च दी। उसलाई लाग्यो, स्वास्नीको दिदीलाई उसमाथि मायाभन्दा दया लाग्छ। पहिले जस्तो घुमाएर कुरा गर्दिनन, "राजु कस्तो छ?" "तपाइलाई आरामै" यस्तै भन्दा धेरै कुरा गर्दिनन। शायद, बहिनीले सिकाएकी हुनुपर्छ।

बानेश्वरबाट अनामनगर पुग्न उसलाई धेरै समय लागेन, तर बाटोमा उधारो तिर्यो, अलिअली घरको नुन, तेल, मसला, चामल तरकारी किन्यो, र दुइटा झोला हातमा झुन्ड्याउदै डेरा पुग्यो। अध्यारो भैसकेको हुनाले उसले दुइटा झोला भुइमा राखेर ढोका खोल्न लाग्दा, ढोकाको अघी भरेङको खुड्किलोमा कोही झोक्राएर बसेको देख्यो। उसले नदेखेझै गरेर झोला बोकेर भित्र जान लाग्दा "दाइ!" भनेर बोलाएको सुन्यो। यतिखेर को आयो भनेर यताउती हेर्यो।

"श्याम दाई! के म तपाईंसँग एकछिन कुरा गर्न सक्छु?" त्यही झोक्राएर बसेको मान्छे रैछ।

"तपाइ को?" उसले ढोकै नजिकको बत्तीको स्विच खोज्दै सोध्यो।

"को हुनु, उही अभागी लोग्ने!" रुन्चे स्वरले त्यो मान्छेले भन्यो।

उ झस्क्यो, कसैले उसैको कुरा उसँग गरेको जस्तो। हैन, अचेल किन छाया पनि बोल्न थाल्छ उ सँग, उ आँफै बौलायो कि क्या हो? सोध्यो मनमनै आँफैलाई। बत्तीको उज्यालोमा उसले भरेङको खुडिकिलोमा एउटा जवान युबक देख्यो।

"दाइ, म सुधाको लोग्ने, तपाईंले मलाई बिर्सनै नसक्ने गुन लाउनु भएको छ।"

"सुधा!" उ एकैछिन अलमलियो, उसले कुनै सुधालाई चिनेको छैन।

"बिहान पासोमा झुन्डिएर आत्महत्या गर्न खोजेकी केटीको नाम सुधा हो, उनी मेरी जिबन सङीनी हुन।"

"भित्रै आउनुस उसोभए।" उसले बिहानो घटना सबै सम्झ्यो फेरी।

"अली अली खाएको छु, तपाईंलाई गनाउला म यतै बस्छु।" सुधाको लोग्ने भुइमै टुक्रुक्क बस्यो।

"होइन, होइन, यहाँ बसौ न।" उसले थोत्रो सोफा देखायो।

"अनी कस्तो छ सुधा बहिनीलाई?" उसलाई सुधा मात्रै भन्न मन लागेन।

"दाइ, हजुरको खुट्टा ढोग्छु म त! तपाईंले गर्दा उसले नयाँ जिबन पाएकी छे आज। उ खतरामुक्त छे, धेरै भन्दा धेरै एक हप्तामा उसलाई घर पठाउने भनेको छ।" सुधाको लोग्नेले उसको खुट्टा समाएर टाउको बिसायो, उसले हत्तनपत्त खुट्टा तान्यो।

"राम्रो राम्रो! धेरै राम्रो! धेरै खुशी लाग्यो!"

"यो सबै तपाईंको कारण हो दाई! यदी तपाईंले नबचाउनु भएको भए---" आँखाको आसु पुछ्न थालयो सुधाको लोग्ने।

"भाइ--" के भन्ने के भन्ने भयो उसलाई। "कालो चिया पकाउ?"

"पर्दैन दाई, आजको दिन त म जिबनको अदालतले अभियुक्त बनाएको मान्छे! सबै तर्किदै हिड्छन, सुधाको आत्महत्याको प्रयासमा मेरै दोष देख्छन। कोही सुन्दैनन दाई, म के भन्न चाहन्छु। मेरै आफ्नै परिवार पनि म सँग कुरा गर्न हिच्किचाउछन।"

"भाइ, पानी पिउनु हुन्छ त?" उसले टिबी अगाडी राखेको पानीको गिलास हेर्दाइ सोध्यो।

"हजुर दाई, पानी चाँही प्यास लागेको छ।" सुधाको लोग्नेले जुन गिलासमा उसले माया जस्तो पानी भरेको थ्यो, सबै पिएर रित्यायो।

माया त फेरी रित्तियो, अर्को गिलासमा पानी भर्यो र फेरी राख्यो टिबी नजिक। रित्तो गिलास राम्रो देखिदैन, भर्नै पर्छ उसले आँफैसित कुरा गर्यो।

"हजुर दाई, के भन्नु भयो?"

“माया गर्ने मान्छेलाई कसरी छोडेर जान सकिन्छ भनेर नि!"

"हजुरले ठीक भन्नु भो। सुधालाई मैले जती माया गरेपनी उसको रोग निको हुँदैन।"

“रोग!! "के रोग?"

"उसलाई धेरै पहिलेदेखी "डिप्रेसन" रहेछ, मैले बिहेपछी मात्रै थाहा पाए। मागी विवाह भएकोले मैले उसलाई बिहे अघी त्यती चिन्न पाइन। कम् बोल्थी, साधारण रुप, उ अरु केटीभन्दा बेग्लै थी। केटी राम्रै होली भनेर बिहे गरे, तर उ त सधैं उदास बस्थी। उसलाई केही कुराले खुशी बनाउदैनथ्यो। डक्टरका लगे। अौषधी उपचार गरे, तर उ कहिले राम्ररी निको भएन । उसको मन उदास हुन्छ भनेर म आफुसङै काममा लान्थे, ब्यस्त गराउन सानोतिनो काम दिन्थे। उसले कहिले पनि कुनै कुरामा रुची देखाइन।" सुधाको लोग्ने टाउको एक हातमा अड्याएर परपर हेरिरह्यो।
"कतै केही कुराले उनको चित्त दुखेको थ्यो कि?"

“हिजो मैले मीरालाई भेटेको थिए, तर त्यो कुरा मैले उसलाई लुकाएको थिइन। उ मीरालाई चिन्छे."

"मीरा, को मीरा?"

"मीरा मेरो स्कुल देखिको साथी। तर हामी मात्रै साथी हौ। त्यो सुधालाई नि थाहा छ।"

"तपाइको र मीरा साथी मात्र हो भने त त्यस्तो ठुलो कुरा त नहुनु पर्ने।"

"त्यही त भन्दैछु दाई। उसले बिहे पहिले पनि धेरै पटक मर्ने प्रयास गरेकी रैछ। उसको साथीबाट थाहा पाए। तर आज मेरो कुरा कसले सुन्छ? मैले उसलाई दु:ख दिए, अरुसँग अफेर गरे, यस्तै यस्तै अड्कल काटिदै छ।"

"जिबनमा नसोचेको कुरा हुन्छ भाई! त्यो कुरा कसैले कसैलाई बुझाउन सक्दैन।"

"दाइ, अलिकती पिउ है?" सुधाको लोग्नेले सोध्यो।

"पानी?"

"हैन दाई, आँफैलाई भुलाउने औषधी! हजुरले "हुन्छ" भन्नु भए मात्रै।

"कहा छ त्यस्तो औषधी? त्यस्तो नि हुन्छ र?"

" म ल्याउछु नि पसलबाट! हजुरले हुन्छ मात्रै भन्नुस् न!"

"हो र?"

" हो त!"

"म जाउ, एकैछिनमा आउछु!"

"म पनि आउ?"

"पर्दैन, यही कुर्नोस न। दाइलाई के को दु:ख?"

सुधाको लोग्ने गयो आँफैलाई भुलाउने औषधी किन्न।

उ किनेर ल्याएको सामानहरु थन्काउन लाग्यो, भाडाहरुमा खनाउन लाग्यो।

"जिन्दगीले यसरी धोका दियो की--- “ आफ्नै तालमा गाउदै सुधाको लोग्ने फर्क्यो औषधी किनेर, बोतलबाट खनायो दुइटा गिलासमा, पहिलो गिलासमा आधा जती राखेपछी दोस्रो गिलासमा राख्नु अघी सोध्यो।

"दाइलाई कती राखौ दाई?"

"धेरै नराख्नु होला, म त साच्चिकै चक्की औषधी भनेको भाई!" हास्यो ऊ।

" यो झोल औषधी हो दाई, साच्चिकै भन्दा कडा औषधी “

"यस्तो कडा औषधी खाएपछी मरिदैन भाई?"

"यो खाएन भने चै छिट्टै मरिन्छ दाई! जिन्दगीको जाँच फेल गराउछ, यो झोल खाए पछी दोस्रो चोटि पास हुन्छु कि भन्ने आशा जगाउछ, दाई। अझै थपु?"

"पुग्यो, पुग्यो।"

अली टिल्ल भएपछी सुधाको लोग्नेले सोध्यो।

"दाइ, एउटा कुरा सोधु?"

"के कुरा?"

"तपाइलाई नि यस्तै भएको थ्यो?"

"कस्तो भाई? मैले कुरा बुझिन।"

"समाजले, परिवारले साथीभाइले "तेरै गल्ती छ, सब तेरो दोष हो " भनेर औंला ठड्याएको थ्यो?"

"कहिले भाई? किन र?"

"भाउजुले तपाईंलाई छोडेर जादा !!"
उ बोल्दै बोलेन।

क्रमश:










 
Posted on 03-27-17 6:35 PM     [Snapshot: 1931]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hi Magorkhe1,

ke cha halkhabar? dherai pachi dekhiyo.

Thank you for you comment!
 
Posted on 04-06-17 6:37 PM     [Snapshot: 2359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


अली टिल्ल भएपछी सुधाको लोग्नेले सोध्यो।

"दाइ, एउटा कुरा सोधु?"

"के कुरा?"

"तपाइलाई नि यस्तै भएको थ्यो?"

"कस्तो भाई? मैले कुरा बुझिन।"

"समाजले, परिवारले साथीभाइले "तेरै गल्ती छ, सब तेरो दोष हो " भनेर औंला ठड्याएको थ्यो?"

"कहिले भाई? किन र?"

"भाउजुले तपाईंलाई छोडेर जादा !!"
उ बोल्दै बोलेन।

क्रमश:

भाग- ५

"सरी" दाई, यदी मैले गर्न नहुने कुरा गरेछु भने। मन ठेगानमा छैन, मुखमा पनि के के कुरा आउछ आउछ?"

"कसले भन्यो तपाईंलाई?"

"के दाइ ?"

"अहिले जे सोध्नु भएको थियो नि!"

"सबैले त्यसै भन्छन दाई, त्यो चोकको पसले, घरपेटि आमा, छरछिमेकी। भैगो छोड्नुस् दाई त्यस्ता कुरा!"

"सबैलाई थाहा छ, मलाई किन थाहा छैन त?" गम्न थाल्यो उ, छोडेरै त जान्छु भनेकी थिइन। खाली तिमीसित जिन्दगी बिताउन सक्दिन भनेकी चाँही हो।

"दाइ!" भन्दाभन्दै सुधाको लोग्ने छेउको सोफामा घुर्न थालयो। उसको काम शुरु भयो, उसकी स्वास्नी उसलाई छोडेर गैसकी भनेर दुनियाँलाई थाहा छ, उसलाई मात्र किन थाहा भएन। उसलाई त सधैं उसकी स्वास्नी आउछे र सबै परिवार गाउ फर्किनु पर्छ भन्ने बिचार अाइरह्यो। उ गाउ छोडेदेखी एक्लो थ्यो र काम गर्दागर्दै उसले प्रेमिका भेट्यो। प्रेमिका उसकी स्वास्नी भइ बच्चा भयो, अब पहिले जस्तो जिबन भएन। छोरा भन्दा ठुलो अरु कुरा रहेन, त्यसै बेला उसको काम गर्ने फ्याक्टरी बन्द भयो, उ बेरोजगार भयो र बेकामको भयो। स्वास्नी बिदेश गै, छोरा होस्टल गयो र उ एक्लो भयो नितान्त एक्लो।

अब के हुन्छ उसलाई थाहा छैन। उसकी स्वास्नी स्वदेश फर्केकी थिइ। तर उ सँग भेटिन, भेट्नै चाहिन, छोरासँग भेटी कुरा गरी। उसलाई सन्चो बिसन्चोको कुरा सम्म सोधिन। छोराले सोध्यो "ममीलाई फोन किन नगरेको?" उसलाई त आएको पनि थाहा भएन, गएको पनि थाहा भएन।

---------------------------------------------

दुई हप्ता पछी एक साँझ सुधाको लोग्ने खुशी हुँदै आयो। अर्को दिन सुधा आउँदैछे। सुधा हस्पिटलबाट डिस्चार्ज भएर माइत गइ, एक हप्ता भैसक्यो, उ सधैं माइत बस्न चाहन्न, आफ्नै लोग्ने सँग बस्न चाहन्छे। तर बेला बेलामा काउन्सेलिङ र थेरापीको लागि जान्छे। सुधालाई नयाँ औषधीले राम्रो गरेको छ। उसमा निराशपन कम भएको छ।


एक्दिन यस्तै मध्यानहतिर उसको ढोकामा कसैले ढक्ढक गर्यो।

उसलाई कोही आउछ भन्ने आशा सधैं हुन्छ तर यसरी हैन। यो समय पनि हैन, भुतको खाजा खाने बेला जस्तो मध्यानहमा कोही पनि नआओस। दिउसो पनि कहिले कही आवाजहरु आउछन जान्छन। फेरी "ढकढक" गर्यो।

"को हँ?"

"म" बाहिर नारी स्वर सुनियो।

"को म?"

" हजुर, म सुधा!"

सुधा आउछे भनेको सुनेकोथ्यो उसले, तर अाइसकिछ भनेर बल्ल थाहा पायो। ढोका खोल्नु अगही एकछिन उ रोकियो, सुधाको के काम हुन सक्छ उ सँग?

"नमस्ते!" ढोकाअघी एकदमै साधारण केटी थिइ, काली काली, अनुहार फुस्रो उराठ लाग्दो, कपाल पनि नकोरेको जस्तो।

"नमस्ते, नमस्ते!" उसले भुइतिर हेर्दै सोध्यो "के काम थियो कि?"

"के म तपाईंसँग कुरा गर्न सक्छु?" आकर्शनबिहिन केटीले सोधी।

"म एक्लै छु।" उसको मनसाय एक्लो लोग्नेमान्छे भएको बेलामा एक्लै केटीमान्छे कुरा गर्ने राम्रो समय होइन।

"तपाइलाई डर लाग्छ?" सुधालाई हेर्दा डर त लागेकै थ्यो उसलाई किन किन?

"होइन, होइन! मेरो कोठा अली सफा छैन, तपाइलाई अप्ठ्यारो लाग्ला कि भनेर।" हिच्किचाउदै उसले सुधालाई भित्रै बोलायो।

"तपाइलाई मलाई दोस्रो जिबन दिनु भयो। म तपाईंको धेरै आभारी छु।"

"बैनी, तपाईंलाई यसरी देख्न पाउदा मलाई खुशी लाग्यो। यती राम्रो जिबन, त्यती राम्रो लोग्ने!"

"म मा क्रोनिक डिप्रेसन छ! खुशी, सुख, सफलता र पैसा कुनै कुराले मेरो डिप्रेसनमा परिवर्तन ल्याउन सक्दैन।"

"तर त्यस्तो राम्रो जिबनसाथी पाउनु भएको छ, कती धेरै माया गर्ने मान्छे।" उसले सुधाको जिबनसँग आफ्नो जिबन दाँज्यो, केही पाएन आफुमा।

"राम्रो लोग्ने हुँदैमा सबै राम्रो हुँदैन।" सुधाले भन्न नसकिने कुरा गरी।

"बाहिरी सौन्दर्य मात्रै सुन्दर भएर हुँदैन।" सुधाले कुरा मिलाउन प्रयास गरी।

"मैले बुझिन। तपाईं हस्पिटलमा हुँदा पनि तपाईंको लोग्ने तपाईंको पीर गर्नु हुन्थ्यो। तपाईंलाई धेरै माया गर्नु हुन्छ।"

"उ राम्रो छ, मलाई माया पनि गर्छ। उ म जस्तै अरु कसैलाई पनि माया गर्छ।"

"मलाई त्यस्तो केही थाहा भएन। उहा जस्तो माया गर्ने लोग्ने भाग्यले मात्रै पाईन्छ।"

"त्यो मामिलामा मैले आफुलाई भाग्यमानी मान्नुपर्छ। उहा मेरो डिप्रेसनलाइ बुझ्ने कोशीश गर्नु हुन्छ, मलाई साथ दिनु हुन्छ।"
"त्यस्तो माया गर्ने लोग्नेलाई कसरी तपाईं माया गर्न सक्दिन भन्नु हुन्छ?"
"हजुर-- के भन्नु भयो?" सुधा अलमलीइ, "म आँफैलाई पनि माया गर्न सक्दिन।"
"आँफैलाई माया गर्नु भन्दा अरुलाई माया गर्नु ठुलो हैन र?"
"सबै भन्दा पहिले त आँफैलाई माया गर्न सक्नु पर्यो नि।" सुधालाई उसको कुरा मन परेन।

"त्यो त स्वार्थ भएन र? आफुलाई मात्रै माया गर्नु?"

"अह, स्वार्थको कुरा कसरी हुन्छ? जब तपाईं आँफैले आँफैलाई माया गर्नु हुन्न, आफ्नो जिबनलाई माया गर्नु हुन्न, तपाईं कसरी अरुलाई माया गर्न सक्नु हुन्छ?"

"यो माया पनि कसरी अचानक परिवर्तन हुन्छ?"

"कस्तो रे? के भन्नु भयो?" सुधाले बुझिन।

"सरी, म के के सोचिरहन्छु, कुराहरु कहिले कहिले बेप्रसँग निस्किन्छन।"

"तपाइले मेरो सुसाइड नोट राख्नु भएको छ?"

"हँ???" उ झस्कियो।

"म त्यही नोट लिन आएकी!"

"जसमा "माफ गर! म तिमीलाइ माया गर्न सक्दिन" लेखिएको थियो।"

"त्यो मैले आबेशमा लेखेकी थिए। म अरु कसैले त्यो नोट नपढोस् भन्ने चाहन्छु।"

"त्यही नोटले मैले अली अली कुराहरु बुझ्ने प्रयास गर्दैछु।"

"जस्तै?? कस्तो कुराहरु?" सुधा आत्तिइ।

"माया त भरी हुन्छ मुटुमा, कसरी सकिन्छ त्यो माया? कसरी पोखिन्छ त्यो माया?"

सुधाले केही बुझ्न नसकेपछी उसले फेरी गिलासमा पानी भर्यो र देखायो।

"हेर्नुस्! यो गिलास मुटु रे, पानी माया। जब यो गिलासको भरी पानी रितिदैन वा सकिदैन, माया त जतिको त्यती हुनु पर्ने हो, माया जतिको त्यती हुँदाहुँदै कसैले कसैलाई माया गर्न किन सक्दैन?"

"तपाइले आफ्नै कुरा गर्नु भएको हो दाई?"

"आफ्नो, अरुको, सबैको। संसारको कुरा नि!"

"त्यो गिलासको माया कतै पोखिसकेको छ। तपाईंलाई थाहा छैन?"

"कसको माया रे?"

"तपाइको कुरा गर्दैछु म, तपाईंको श्रीमतीको!"

"मेरो श्रीमतिलाई चिन्नु भएको छ र?"

"छैन, तर उहाले तपाईंलाई त्यतिकै छोड्नु भएको त हैन होला।"

"कसले भन्यो उसले मलाई छोडी भनेर?"

"दाइ, एउटा कुरा थाहा छ?"

"के?"

"तपाइलाई पनि मलाई जस्तै बिरामी छ।"

"कस्तो?"

"डिप्रेशन!"

"कसरी?"

"तपाइ अझै श्रीमतीले छोडेर गएको कुरालाई स्वीकार्नु हुन्न। हेर्नुस् तपाईंको कोठा, कतै केही ठेगानमा छैन, छरप्रस्ट। तपाईं दिनभरी एक्लै कोठामा बस्नु हुन्छ, केही काम गर्नु हुन्न। “
"काम गर्न त पाउनु पर्यो नि।"

"काम खोज्नुभन्दा पहिले तपाईं उपचार गर्नुस् दाई। मैले चिनेको राम्रो मनोचिकित्सक छ। पहिले तपाईं ठीक हुनुहोस्। यो निराशाको बादलबाट निस्किनुहोस्। डिप्रेशन रोगले हाम्रो सम्बन्धहरु बिगारछ दाई। जिन्दगी बर्बाद हुन सक्छ। "

उ चुपचाप बस्यो, भित्तातिर हेर्न थालयो। कहिलेकही त्यतिकै उसको आँखा रसाउछ।

"तपाइ जानु हुन्छ त मैले भनेको डक्टरकहा? म कुरा गरु!"

"मलाई केही दिन सोच्न दिनुस्।"

"हुन्छ!" सुधा निस्किनै लागेकी थिइ। उसले पाइटको खल्तीबाट सुधाको सुसाइड नोट निकालेर दियो।

सुधाले हेर्दै नहेरी च्यातेर भुइमा फालिदिइ।

"सुधा, तिमीलाइ थाहा छ बैनी?”
“के दाई?"
“तिम्रो भाउजुले दोस्रो बिहे गरी सकी। उ अब कहिले फर्केर आउदिन।" उ भक्कानियो। आज कता कताबाट उसभित्रका बरफहरु पग्लिए।

सुधा बसी त्यही सोफामा, जहाँ उसको लोग्ने दुई हप्ताअघी सुतेको थ्यो। उ घुँक्क घुँक्क गर्दै रोइरह्यो भुइमा। सुधाले नरुनु भनिन, केही नबोली सुनिरही उसले कहिले नभनेका कथाहरु, जुन उसको आसुसङै बगिरहेको थ्यो।

उ रोहिरह्यो, सुधा बसीरही, आज सुधालाई कही जानु छैन, कतै पुग्नु छैन, कसैलाई भेट्नु छैन।
कहिलेकही केही नभनी केही नगरी पनि धेरै कुरा गर्न सकिन्छ। कसैको पीडामा साथ मात्रै दिदा पनि एक अर्काको एक्लोपन कम हुन्छ।
आज सुधालाई हतार छैन।

समाप्त!












 
Posted on 04-09-17 8:30 AM     [Snapshot: 2604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साझा आजभोलि सजिएको दुलही झैँ भएकी छन् | नबोदित साहित्यकारले पस्कनु भएका कथा हरुले सुनसान मा बस्नु भएका चौतारीका गाम्ले हरु सबै एती तिर टहलिदै गरेको देख्दा कुराकानीमा बसन्त छाएको छ |
क्रेजी ब्रो ले सम्झनु भएको मा धन्यबाद : सकी नसकी व्यग कोर्न खोज्थे मुहान नै सुके जस्तो भएको छ | माथि तासेको अन्स कुनै साहित्यकारले बाच्नु भएको एक अंश हो | कुनै बेला गोरखा पत्रमा छापिएको थियो होला , वहा अमेरिका छिरे पछि नोट बुक मा मात्र सिमित छन् जस्तो छ |



 
Posted on 04-11-17 8:45 AM     [Snapshot: 2837]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 04-11-17 9:25 AM     [Snapshot: 2855]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Was a good read. Thank you.
May be it is coincidence, but did you write in the context of WHO's world health day? Just curious.
 
Posted on 04-12-17 9:45 AM     [Snapshot: 2986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I thought readers didn't like my depressive story when I didn't see any comments after 4th part. But, I couldn't stop it once started. Also thought may be people like other type of stories than crazy_love's story.

Anyway, felt better when saw some responses after the last part.
Thank you guys for your nice comments!

magorkhe1,

You should write stories in Sajha too if you have been writing in a notebook.

IT_Guy,
Thank you for short and sweet comment.

kalikopoi,
I didn't write for WHO's world health day (when???), the protagonist in the story was bothering me for a couple of months (u know I am crazy!). It may be coincidence if my story came at the same day as world health day.

once again, thank you very much!
CL

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
आयाहूआस्का
यसरी मेरो कुमारत्व गुमेको थियो
loose हुन्छ रे हो ?
How to make the right decision?
अमेरीकामा यसरी, शेयर भन्दै ठग्न पनि पाइन्छ?
निक्कै खुकुलो भयो त !!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters