[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 दलित
[VIEWED 2080 TIMES]
SAVE! for ease of future access.
Posted on 04-02-16 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कृष्ण विश्वकर्माको हर्ष - अभय श्रेष्ठ

पुस २५, २०७२- 

१. कृष्ण विश्वकर्माको हर्षका तीन कारण थिए । एक, छोरा अजयको बिहेभोजमा टोलका बाहुन, क्षत्री र नेवार खलकका सबैजसो सहभागी भए । दुई, बुहारी मगर समुदायकी परे पनि तिनका आफन्तले नाइनास्ती गरेनन् । तीन, छोराले नेपालमै बिहे गर्ने निधो गर्‍यो । छोरोको मनसुवा बिहे सामान्य हिसाबले मन्दिरमा गर्ने र भोज खर्च कुनै गरिब समुदायको हितमा लगाउने थियो । कृष्णले माने पो ! ऊ कसैगरी गाउँका सारालाई निम्त्याएर भव्य भोज गर्ने र सम्पन्न भएपछि छुवाछूत बाँकी रहँदैन भन्ने देखाउन चाहन्थ्यो । छोराले सुरुमा विरोध गरेको थियो । किनभने बाहुन, क्षत्री र नेवारले उनीहरूलाई यस्तो कार्यमा कहिल्यै निम्त्याएका थिएनन् । दलित समुदायमै जन्मे पनि उच्च शिक्षा पाएको र अमेरिका बसेको हुनाले जात व्यवस्था उसका लागि केही थिएन । ‘यसले त हाम्रो अछूत मानसिकतालाई झनै छताछुल्ल पारिदिन्छ बुबा,’ अजयले तर्क गरेको थियो । तर, बाबुको असीम इच्छालाई अन्तत: उसले मार्न चाहेन । कृष्णले टोलमा घरैपिच्छे र गाउँभरिका गन्यमान्य सबैलाई चुल्हे निम्तो दिएको थियो । निम्तोकार्डमात्र दिएर पुगेन । भोजको दिन बिहान र फेरि जाने बेला सम्झायो । बाहुन, क्षत्री र नेवार खलकलाई सहभागी हुन अप्ठेरो नपरोस् भनेरै घरमा नगरी पार्टी प्यालेसमा भोज राखिएको बताउन पनि बिर्सेन । ------- 

कृष्ण अझै आरन चलाउँछ । सुँगुर पाल्छ । हँसिया, कुटो, चुच्चेकुटो, बन्चरो, कोदालो बनाउँछ । पाइन हाल्छ । त्यही काम गरेर उसले छोराछोरीलाई बोर्डिङ पढायो । दुवैले राम्ररी पढे र प्रगति गरे । गाउँका नेवार, क्षत्री–बाहुनका छोराछोरीलाई पढाइमा तिनले सजिलै पछारे । एसएलसीमा दुवैले डिस्टिंक्सन ल्याए । छोराले त स्कुल टप गर्‍यो । त्यो देखेर बुढाखालका बाहुन, क्षत्री र कतिपय नेवारहरूसमेत भन्थे, ‘पढेर के गर्नू, कामी त कामी नै हो नि ! क्षत्री–बाहुन हुने होइन क्यारे !’ छोरो लेखा परीक्षण गरेर राम्रो कमाइ गरिरहेको थियो । डीभी परेर अमेरिका गयो । टेक्सासमा ग्यास स्टेसनमा काम गर्‍यो । साह्रै दु:ख पायो । झन्डै फर्कन खोजेको थियो । पछि एउटा साथीको सल्लाह र सहयोगमा आफैँले ग्रोसरी खोल्यो । अहिले त्यसैबाट भव्य कमाइ गरिरहेको छ । ऊकहाँ काम गर्ने दुई भारतीय र तीन नेपाली छन् । यसै क्रममा ओहायोको युनिभर्सिटी अफ फिन्लेबाट डलासको सामुदायिक कलेजमा सरेकी अस्मिता मगरसित उसको मायाप्रीति बस्यो । छोराले अमेरिकाबाट पैसा पठाएपछि कृष्णले चारतले भव्य घर बनायो । गाउँमै क्षत्री, बाहुन र व्यापारी नेवारहरूको समेत यति भव्य घर थिएन । त्यतिखेर पनि उनीहरू भन्थे, ‘घर बनाएर के भो ? कामी त आखिर कामी नै हो नि !’ एक दुई ठालूहरू यो कुरा उसकै अगाडि भनिदिन्थे । ऊ नसुनेझैँ गरेर अर्कातिर लाग्थ्यो । यसरी कृष्ण विश्वकर्माको आर्थिक र सामाजिक स्थिति एकाएक उँचो भयो । पहिले ऊ किस्ने कामी थियो । अब कृष्ण विश्वकर्मा भयो ।  

२. गाउँमा कविका रूपमा चिनिने अरुण श्रेष्ठ प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य थियो । ‘थोत्रा रीत फाल्छौँ फाल्छौँ’ भन्दै गजल सुनाउन दिनभरि भोकै बसेर पनि सहरतिर गोष्ठी धाउँथ्यो । उसैले ‘किस्ने कामी’लाई ढाडस दिएको थियो । त्यसैले हौसेर कृष्णले क्षत्री–बाहुन, नेवार सबैलाई निम्ता दिएको थियो । नत्र पन्ध्र वर्षअघि बहिनीको बिहेमा कोही नआएको सम्झेर निम्ता नगर्ने पक्षमा पुगिसकेको थियो । अरुण जातपात मान्नु हुन्न भन्दै हिँड्थ्यो । तथापि बिहेभोजमा जान आफँै दोमन गरिरहेको थियो । आफ्नै काका भरतलाई सोध्यो । भरतले भन्यो, ‘ठेगान छैन बाबु ! मान्छेले के भन्ने हुन् !’ पण्डित शम्भु घिमिरेलाई सोध्यो । शम्भु पनि व्यंग्यपूर्वक मुसुक्क हाँस्यो । अर्थात्, कामीकहाँ पनि बाहुन भोज खान जान्छन् ! पूर्व गाविस अध्यक्ष रविन थापालाई सोध्यो । रविनले भन्यो, ‘त्यो बज्जिया अजयसँग मेरो ठ्याक मिल्दैन । अमेरिका पुगेँ भनेर त्यसका खुट्टा भैँमा छैनन् । आफू त राजनीतिक मान्छे, त्यसैले जानैपर्‍यो । बरु केही नखाई फर्कन्छु ।’ पसले रामप्रसाद श्रेष्ठ र कान्छालाल महर्जनले पनि मुन्टो बटारे । कसैलाई मनाउन नसकेपछि साँझ पाँच बजेतिर अरुण एक्लै हिँड्यो सूर्यविनायक पार्टी प्यालेसतिर । बाटोमा एक चिनारुले मोटरसाइकलमा लिफ्ट दियो । मोटरसाइकलवालालाई पनि निम्तो थियो । उसले नजाने भन्यो । पार्टी प्यालेस पुग्नै लाग्दा अरुणलाई अप्ठेरो लाग्यो । फर्केर जाऊँ कि जस्तो मन भयो । पूर्ववडाअध्यक्ष रविनलाई फोन गर्‍यो । उठेन । गेटैनिर कृष्णकी छोरी सुनन्दा भेटिएपछि फर्कन मिलेन । सुनन्दाले स्वागत गरी र बेहुला–बेहुलीकहाँ लगिदिई । छोराको बिहेभोजमा उपहार बोक्ने कुरा भएन । तैपनि उसलाई अप्ठेरो लाग्यो । अप्ठेरो मान्दै बधाई दिएर हिँड्यो । सुनन्दाले स्न्याक्स लिन आग्रह गरी । भोजमा झन्डै १५ सय निम्तालु थिए । तीमध्ये अधिकांश अजय र सुनन्दाका सहरिया साथी थिए । स्न्याक्सको व्यवस्था भव्य थियो । तारेको साना लोकल असला माछा । आलु चिप्स । हाँसको छोयला । चिकेन चिल्ली । मटन चिल्ली । चिकेन ससेज । बँदेलको उसिनेको मासु । बंगुरको फ्राई मासु । के के नाम हो, भएभरका हार्ड ड्रिंक्स, सफ्ट ड्रिंक्स र कोल्ड ड्रिंक्स । मेरी आम्मै ! यति भव्य स्न्याक्स त आजसम्म उसले खाएकै थिएन । अलिअलि लिँदैमा प्लेट भरिइहाल्यो । अरुण सिटमा बसेको मात्र के थियो, पूर्वअध्यक्ष रविन पकापक माछा खाँदै गरेको भेटियो । अरुण मुसुक्क हाँस्यो । ‘अघि त मोबाइल उठाउनु भएन !’ ‘एउटा हातमा प्लेट, अर्कोमा चम्चा थियो । कसरी उठाउनु ?’ हाँस्दै रविनले भन्यो । दिउँसो ठेगान छैन भन्नेहरू सबैजसो टेबुलमा बसेर स्न्याक्स खाइरहेका थिए । छुवाछूत होला भनेर तिनीहरूलाई लाइन नलागी क्याटरिङवालाले नै सर्भिस गर्ने सुविधा थियो । कोक, फेन्टा, मिरिन्डा, स्प्राइट, रोयल स्टाग, एन्टिक्विटी, रातो वाइन, सेतो वाइन, माछा र अरू सितन टेबुलमै तुरुन्त हाजिर हुन्थ्यो । आतिथेयतर्फका केही युवक हात जोडेर क्षत्री, बाहुन र नेवारहरूलाई कुशलमंगल सोधिरहेका थिए । फर्माइस हुुनासाथ युवकहरू क्याटरिङवालाकहाँ खबर पुर्‍याउँथे । चाहिएको सामग्री तुरुन्तै आउँथ्यो । थापा, घिमिरे र श्रेष्ठहरूसँग आँखा जुधेपछि अरुण मुसुक्क हाँस्यो । तिनीहरू पनि हाँसे ।  

३. ‘केही खान्नँ, मुख देखाउनमात्र आ’को’ भनी अघि नै फर्कन खोजेको शम्भु पण्डित पकापक खसीको सेकुवा खान थाल्यो । उत्साहित हुँदै कृष्णे रविन र शम्भु बसेका ठाउँमा हात जोड्दै आइपुग्यो । छोइएला कि भनेर अलिपर फाइबरको मेचमा बस्यो । ‘लौ बधाई छ, कृष्णदाइ । हजुरबाउ बन्ने बाटो खुलाइयो क्यारे ! अब चाँडै शुभ समाचार सुन्न पाऊँ,’ रविनले भन्यो । ‘अहिलेका ठिटाठिटीलाई बिहे गर्दिनुमात्र पर्छ, दसै महिनामा फुत्तै झार्दिहाल्छन् नि !’ शम्भु पण्डितले अन्तरमा कालो लागेको सबै दाँत देखाएर हाँस्दै भन्यो । खाँदाखाँदै रविन उठेर कृष्णेसँग हात मिलाउन आयो । पण्डित शम्भुले पनि हात दियो । तर, छोइएला भनेझैँ गरी अप्ठेरो मान्दै उसले हात मात्र जोड्यो । अरू बेला चियापसलमा ‘छोइएला उटा जाऊ’ भनेर एउटै बेन्चमा बस्न नदिने रामप्रसाद श्रेष्ठले समेत बसिरहेको ठाउँबाट उठेर ऊसँग हात मिलाउन खोज्यो । कृष्णेले उसलाई पनि हात दिन सकेन । बरु, बातैपिच्छे हात जोडेर कृतज्ञता व्यक्त गरिरह्यो । ‘ए दाजु, किन हच्केको तपैँ ? अब जातपात केही छैन बुझ्नुभो ?’ रविनले भन्यो । पण्डित शम्भु र रामप्रसादले सही थापे । ‘होइन हजुर, हजुरहरूलाई अप्ठेरो पर्छ भनेरै यहाँ भोज गर्नुपर्‍या, मैले छोएको हुने भए त यो भोज घरमै गरिहाल्थेँ नि ! बरु के टक्य्राउँm हजुर ?’ कृष्णेले सोध्यो । ‘दाइले सोधिहाल्नुभो । लौ अलिकति खसीको सेकुवा, मलाई एक प्याक र बाजेलाई अम्बाको जुस मागौँ । अँ क्याटरिङवालाले होइन, तपैँहर्ले नै ल्याउनुपर्छ । हामी छुवाछुत मान्दैनौँ, कसो शम्भु बाजे ?’ शम्भुले अप्ठेरो मान्दै टाउको हल्लायो । सेकुवा र जुस क्याटरिङवालाले नै ल्यायो । रविनले आपत्ति जनायो । ‘त्यो कृष्ण दाइलाई नै देऊ ! हामी जातपात मान्ने मान्छे हौँ र ?’ रविनले क्याटरिङवालालाई आदेश दियो । कृष्णेले मानेन । ‘किन अप्ठेरो मान्नुहुन्छ कृष्ण दाइ ? राखिदिनुस् बाजेको प्लेटमा सेकुवा । जुस पनि राखिदिनुस् । मलाई त्यो एक प्याक दिनुस् । बरु तपाईँ पनि एक प्याक लिएर ह्यैँ आउनुस् । अब कोही सानाठूला छैनन् । सप्पै समान । आउनुस्, सँगै बसेर खाऊँ ।’ कृष्णे डेग चलेन । क्याटरिङवालाले नै राखेर गयो । ‘मलाई पनि यो जाटभाटको कुरा गर्नुहुन्न जस्टो पो लाग्यो भन्या’, छोयलाको तिख्खर पीरोले सिउसिउ गर्दै अष्टनाराँ महर्जनले उताबाट भन्यो, ‘कामी भएर के गर्नु, कृष्णेले हाम्ले भन्दा छोराको डामी बिहे गड्र्यो । आ थ्व: जाटपाट खत्तम जुल का !’ ‘तपाईँ पनि एक प्याक लिएर आउनुस् कृष्ण दाइ । जरुरी बात मार्नु छ’, रविनले भन्यो । ‘हजुरहर्ले किन आज हत्ते गर्नुभ’को ? पहिला त यस्तो भन्नुहुन्नथ्यो । माफ पाऊँ है हजुर, मैले बुझ्न नसकेर मात्र सोधेको !’ अति भएझैँ लागेपछि कृष्णेले सोध्यो । रविन अकमकियो । शम्भु बाजे र रामप्रसाद पनि अकमकिए । ‘तपाईँले अप्ठेरो मान्या ? लौ आउनुस् !’ रविनले जुरुक्क उठेर प्लेट हातमै लिएर कृष्णेलाई अँगालो हाल्यो । शम्भुले पनि त्यसै गर्‍यो । त्यसपछि त अरूअरूले पनि त्यसै गरे । ‘पहिला लाटी (बहिनी) को बिहेमा कोही आउनुभको थेन । घरमै भोज गर्‍यो भनेर हो कि जस्तो ला थ्यो !’ कृष्णेले रविनतिर हेर्‍यो । ‘पहिलेको कुरा छाड्देऊ कृष्ण । हाम्रै पनि गल्ती भो होला । अब त देशै छुवाछूतमुक्त घोषित भइसक्यो । त्याँमाथि यो हाम्रो हिन्दु धर्मले कसैलाई होचोअर्घेली गर्दैन, सब नक्कलेहरूले बिगारेका हुन् । तिमेरु खुम्चेर बस्ने कुरै छैन । कसैले छुवाछूत गरेछ भने हामीलाई भन्न आऊ । रविन छ, म छु, केही नलागे पुलिसकैँ गए हुन्छ । लौ आऊ सँगै बसेर खाऊँ !’ शम्भु पण्डितले भन्यो । ‘धन्यवाद हजुर, आज म असाध्यै खुसी छु । सप्पैतिर हेर्नु छ । हजुरहरू आरामले ज्युनार गर्नुस् । म पछि आउँछु ।’ रविनले हात समाउँदै कामेको स्वरमा भन्यो, ‘यो भोज घरमै गर्नुपथ्र्यो ! यत्रो खर्चै गर्नै पर्दैनथ्यो । हामी सबै आएर सघाइहाल्थ्यौँ । अब जातपातको कुरा छैन क्या कृष्णदाइ !’ ‘हो नि, यसको आधा खर्चले यतिकै भव्य भोज घरमा गर्न सकिन्थ्यो । जे भए नि छोरोले राम्रो प्रगति गर्‍यो । तर, अब जातभातको कुरा छैन बुझ्यौ ? पण्डितहरू पनि दलितकाँ आउनुपर्छ । पर्दा सघाउन हामी तयार छौँ कृष्ण !’ शम्भु बाजेले भन्यो । ‘छोरीको बिहेभोजचाहिँ घरैमा गर्नुहोला है ! हामी सघाउँछौँ । त्यसपछि नातिनातिनाका पास्नी त अमेरिकामै गरिहाल्लान् ! तर, छोरो अमेरिका फर्कँदा गाउँका गन्यमान्य सप्पैलाई बोलाएर एउटा भोज फेरि गर्नुपर्छ । हामी सप्पै घरमै आउँछौँ । त्यो एउटा एक्जेम्पल हुनेछ । दलित र क्षत्री, बाहुन सप्पै मिलेर भोज बनाउने र सँगै खाने’, रविनले पत्याइनसक्नुको प्रस्ताव राख्यो, ‘तपाईँहर्ले सराद्धे, बिहेमा भान्जा वा ज्वाइँलाई पुरोहित बनाउनुपरेको बाहुन नआइदेर होइन ? द्याटस अल । अब तपाईँहर्ले शम्भु बाजेलाई बोलाए हुन्छ, कसो गुरु ?’ शम्भु एकछिन अकमक्क पर्‍यो । ‘हो कि होइन गुरु ?’ रविनले फेरि सोध्यो । यसपालि पण्डितले स्वीकृतिमा मुन्टो हल्लायो र अलि सानो स्वरमा भन्यो, ‘एकैचोटि यस्तो कुरा गरेर हुन्नँ । सुलोली (स्लोली) गर्न‘पर्छ । तर, तिमेर्ले साथ दिने भए म आउँछु के रे !’ ‘हस हजुर, हजुरहर्ले भनेको मैले सम्झिराख्या छु । म छोरोलाई भन्छु, के भन्ला कुन्नि’, खुसीले फुरुंग भएर हात जोड्दै कृष्णेले भन्यो, ‘अहिले म यताउति हेर्छु । के गर्नु हजूर, घरमूली भएसि सप्पै हेर्नै परो !’ रविनले स्वीकृतिमा हात उठायो । चर्को म्युजिकको तालमा कृष्णेले पनि एकछिन ठिटाठिटीसित कम्मर मर्काउँदै, टाई हल्लाउँदै, डँडालो भाँची भाँची नाच्यो । त्यसपछि टाउकोमाथि हात पुर्‍याएर सबैलाई नमस्ते गर्दै हिँड्यो । ‘ए कृष्ण दाइ, ह्याँ आऊ ! बुझ्यौ, कामी भनेर तिम्लाई सप्पैले हेप्थे । हेप्थे कि हेप्थेनन् भन त ?’ रक्सी लागेर असिनपसिन भएको हरेराम गिरीले सोध्यो । ‘आज यस्तो शुभ दिनमा छाड्दिऊँ हजुर दु:खका कुरा । आज त रमाइलो गर्ने, मनमा यस्ता कुरा ल्याउँदै नल्याउने ।’ ‘करेक्ट’, छाती ठोक्दै रुन्चे स्वरमा हरेरामले भन्यो, ‘तर, छोराको बिहे कसरी गर्नुपर्छ भनेर आज कृष्णे कामीले देखाइदियो यार ! क्या बात !’ ‘हजुरहरू आइदिनुभो, त्यै मलाई लाख भो । धन्यवाद हजुर !’ ‘तिमी त मेरो ह्याँ छौ ह्याँ’, छातीमा देब्रे हातले ठोक्दै, फेरि हात जोड्दै हरेराम रुन थाल्यो, ‘जानी नजानी तिम्रो चित्त दुखाएको भए माफ पाऊँ है कृष्णे दाइ ! मैले त कैल्यै हेपिनँ, तिम्लाई लाजभाँड भनिनँ नि ?’ ‘छैन हजुर छैन ।’ ‘बरु तिमीसँग बसेर जातभात नमानी जाँड खाइदिएँ, हो कि होइन भन त !’ ‘हो नि हजुर !’ ‘ए, जनके, ह्याँ मुन्टी, लु कृष्णे दाइसँग माफी माग् !’ ‘होइन के भन्छ यो जाँडको पुङ ! मैले किन माफी माग्ने ? कृष्ण दाइ त मेरो कलेजीमा छन्, कलेजीमा, के भन्न खोज्या तँ फुस्रा जोगीले ?’ ‘आजबाट कृष्णे दाइलाई कसैले हेप्न पाउँदैन, बुझिस् लुच्चा ? लु भाग् !’ ‘नकरा मूला !’ ‘छुवाछूत यस्तै सहभोज मार्फत हटाउनुपर्छ बुझ्नु भएन के !’ अलि परतिर गाउँकै चैते माओवादी हरि मगरले अरुणलाई भनिरहेको कृष्णेले सुन्यो । ‘यो आइडिया मैले नै दे को हुँ बुझ्नुभो त कँड !’ अरुणले घिरौँलाजत्रो नाक पार्दै भन्यो, ‘ऊ लौ कृष्ण दाइ नि आउनुभो । लौ हो कि होइन कृष्ण दाइ भन्दिनुस् त !’ ‘हो नि हजुर !’ ‘ट्वेन्टी फस्ट सेन्चुरीमा पनि यस्तो छ है ! यो त मानव समाजकै कलंक हो, बुझ्नुभो नि !’ ‘यी झ्यासहरूका कुरा के सुन्नु ! हिँड् उता डानस हान्दिऊँ ! त्यो पुन्टे दमाईकी छोरीलाई च्याप्पै समाइदिन्छु, हेरिराख् है त ?’ ‘नगर् यार, लफडा हुन्छ । बरु लभलेटर लेख् म पुर्‍याइदिन्छु ।’ ‘धत्, दमिनीलाई लभलेटर ! बुद्धि हेर् यसको ?’ अलिपर हरेराम र जनक दगावाद गरिरहेका थिए । हरेरामले मातेको सुरमा जबर्जस्ती जनकको गालामा म्वाइ खाँदै भन्यो, ‘गाउँमा आजसम्म यस्तो भव्य भोज कसैले गर्न सक्या थेन, बुझिस् ?’ त्यसैले कृष्णे कामी जिन्दावाद !’ ‘साला जाँडको घ्याम्पो, जाँड खान पाए तँलाई के चाहिन्छ र ! आज कामीको छोराले मगर्नी उडायो । भोलि तेरी छोरी र पर्सि कुनचाहिँ बाहुनकी छोरी ताक्छ, अनि चाल पाउँछस् । लौ भन् दमाई, कामीलाई तँ आफ्नी छोरी दिन सक्छस् ?’ ‘मान्छे लफंगै भए नि जनकेले कुराचाहिँ मुटुमै छुने गर्‍या हो है ?’ शंकर थापाले भन्यो । ‘सही कुरो जनक ब्रो ! कली लाग्या छ, विनाश हुने बेला, यस्तै हुन्छ भन्छन् ।’ ‘पहिले त त्यो ठुटे कविको ढाड भाँच्नुपर्छ, समाजभाँडा त्यही हो ।’ ‘जनकेको कुरा मनासिब हो । हाम्ले केई बोल्नु भएन के रे, बाहुनवादी भनेर ठाडै टिप्छन्, कसो नेताज्यू ?’ शम्भु पण्डितले रविनको मुख ताक्यो । रविनले स्वीकृतिमा मुन्टो हल्लायो । कृष्णे आउँदै गरेको देखेर जनक हाँस्दै हिँड्यो । ‘कृष्णे कामी जिन्दावाद ! जनके चोर मुर्दावाद !’ लर्बरिएको स्वरमा हरेरामले भन्यो । सबैजना मुख च्याती च्याती हाँस्न थाले । ‘कृष्ण दाइ, सरी ल’, मातेको स्वरमा जुठो लतपतिएको जुँगा तह लाउँदै हरेरामले भन्यो, ‘त्यो साला जनकेले भनेर हुन्छ र, तिमी त मेरो मुटुमै छौ क्या !’ हरेरामको कुरा ठिकै लागै पनि त्यसले बारम्बार ‘किस्ने कामी’ भनेको चाहिँ उसलाई बिझिरहेको थियो । तैपनि हाँस्दै सोध्यो, ‘के भो र हजुर ?’ ‘केही होइन, केटाहर्ले रमाइलो गरेका नि, लौ उता जाऊ हरेराम !’ रविनले भन्यो । 

४. कृष्णे हाँस्दै बेहुला–बेहुलीको कक्षतिर हिँड्यो । यतिन्जेल ऊ पूर्णरूपले अछुत र हेय प्राणी थियो । एकाएक आज उसको हैसियत र आत्सम्मान उँचो भयो । थामिनसक्नु आन्तरिक खुसीले ऊ बेचैन हुन थाल्यो । एक्कासि उसलाई के भयो ? शरीरलाई केही कुराले नराम्ररी थिचिरहेको थियो । त्यो कहाँ लगेर बिसाऊँझैँ भयो । त्यसै पनि कति दिनदेखि बिहेको धपेडीले ऊ थाकेको थियो । त्यसमाथि यो कोलाहलमा क–कसले हात मिलाए, क–कसले बधाई दिँदै अँगालो मारे उसलाई होसै भएन । एउटा मातेको युवक उसको हात समातेर नाच्न थाल्यो र उसलाई पनि नचाउन खोज्यो । उसले पनि एकछिन नाचेझैँ गर्‍यो । तर, त्यसले अझ जोडले उसको हात झट्कार्न थाल्यो । जसोतसो हात छुटाएर हिँड्यो । अर्कोले दुख्नेगरी हात मिलाएर छोराबुहारीको सुन्दर जोडीको बखान गर्‍यो । फोटो खिचाइरहेका ठिटाठिटीबाट छुट्टिएर ऊ छोराबुहारी बसेको मण्डपतिर लाग्यो । एक्कासि उसलाई हगूँ हगूँ, मुतूँ मुतूँ भयो । तर, शौचालय छिरेपछि जति कने पनि न दिसा आयो न पिसाब । भाउन्न भइरह्यो । त्यतिकै साबुन–पानीले हात धोएर बाहिर निस्कियो । बेहुलीको शृंगारकक्षमा छिर्दा त्यहाँ भर्खरका ठिटीहरू अनेक नखरा पारेर छिल्लिरहेका थिए । ऊ पूरै शुद्धि हराएझैँ भयो । ‘बाबु !’ उसले टाढैबाट छोरालाई बोलायो । यो कोलाहलमा उसले बोलाएको छोराले सुनेन । हिँड्दाहिँड्दै उसको छाती बेलुनझैँ भरिएर आयो । मुटु, कलेजो एकैचोटि मुखबाट बाहिर निस्केलाझैँ भयो । ‘हे भगवान्, मलाई बचाऊ, यो के भएको ?’ टाउको फनफनती घुम्न थाल्यो । भर्खर आएका दुइटी किशोरीले नमस्कार गरेजस्तो लाग्यो । तर, उसलाई नमस्कार फर्काउने होस भएन । घरी रविन, पण्डित शम्भु र रामप्रसादले खाँदाखाँदै हात मिलाउन आएको, घरी अरुणले गजल सुनाएको, घरी हरेराम गिरीले रुँदै माफी मागेको, घरी जनक र हरेरामले दगावाद गरेको दृश्य उसको वरिवरि रोटेपिङझैँ घुम्न थाले । छिनमै छोराबुहारी, रातो पाल टाँगिएको विवाहमण्डप र यो सिंगै भोजस्थल फनफनी घुमिरहेका थिए । बायाँ छातीतिर हज्जारौँ सियोले घोचेझैँ असह्य पीडा भयो । उसलाई कसैले आँखा छोपेझैँ लाग्यो, अनि अन्धकार फैलियो । स्न्याक्स खाइरहेका दुइटी तरुनीलाई धक्का दिएर ऊ केराको थामजस्तै गन्द्रम्म ढल्यो । मानिसहरू झुम्मिए । एकैछिनमा एम्बुलेन्स आइपुग्यो । 
प्रकाशित: पुस २५, २०७२ http://kantipur.ekantipur.com/printedition/news/2016-01-09/20160109092741.html

 
Posted on 04-06-16 6:11 PM     [Snapshot: 170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पानी छोएको निहुँमा दलित महिला माथी कुटपिट
२०७२ फागुन ६ गते ९:०३ मा प्रकाशित
dalit lai kutpit
६ फागुन, काठमाडाैं ।  राजधानीमै पानीको पाइप छोएको निहुँमा एक दलित महिलामाथि निर्मम कुटपिट भएको छ । टोखा, कोटाल-६ निवासी कमला नेपालीलाई छिमेकी शान्ता केसीले छिमेकीको आडमा कुटपिट गरेकी हुन् ।
यसरी भयो घटना
कमला नेपाली टोखाको आफ्नै घरमा बस्छिन् । उनीसँग छोराबुहारी, नातिनातिना पनि छन् । उनका श्रीमान भने रोजगारीका सिलसिलामा मलेसिया छन् । शान्ता केसीले कमला नेपालीलाई जग्गा बेचेकी थिइन् । गत भूकम्पमा घर क्षति भएपछि शान्ता कमलाको घरनजिकै घर बनार्इ बसेकी थिइन् ।
शान्ताको परिवारले प्रयोग गर्ने पानीको पाइपबाट चुहिएको पानी कमलाको परिवारले प्रयोग गर्दै आएकाे थियो ।  तर, पछिल्लो समय शान्ताले कमलालाई ‘तल्लो जात दमिनी’ भन्दै पानीको पाइप नछुन भनेकी थिइन् । यही विषयमा बेलाबेला भनाभन भइरहने पीडित परिवारले बतायो  ।
गत ३ फागुनमा साँझ ४स्३० बजे शान्ता र कमलाबीच पानीको पाइप छोएको निहुँमा भनाभन भएपछि घटनाले ठूलो रुप लियो । कमलाको घरमा आएर शान्ताले कुटपिट गर्न थालिन् । त्यसपछि वरपरका छिमेकीको भीड लाग्यो । त्यहाँ दलित समुदायको दुई घर मात्र हुँदा पीडित परिवार डरले घरभित्र लुक्न बाध्य भयो ।
तर, श्रीमान सादुराम केसीले शान्तालाई उक्साउन थाले । शान्ताले कमलालाई बेहोस हुने गरी कुटपिट गरिन् । घटनालगत्तै पीडित परिवार टोखा प्रहरी चौकी पुग्यो । त्यसपछि कमलालाई ग्रान्डी हस्पिटल लगियो । शान्ता र उनका श्रीमानलाई सामान्य सोधपुछ गरी टोखा प्रहरीले छाडिदियो ।
पीडितका आफन्त न्यायका लागि चक्रपथ प्रहरी चौकीमा दलित तथा महिला अधिकारकर्मी सरु सुनारको विशेष पहलमा ४ फागुनमा घटनाको विवरण चक्रपथ प्रहरी निरीक्षक टंक प्रसाद भट्टराईलाई जानकारी गराए । लगत्तै पीडकका दम्पतीलाई प्रहरीले पक्राउ गर्यो । दुवै पक्षबीच छलफल चलेपछि पीडित परिवारले न्यायका लागि प्रक्रिया अगाडि बढाउन माग गरे ।
तर, गाउँका भलादमीहरु आएर पीडित र पीडक परिवार राखी हिरासतमै मेलमिलापका लागि दबाब दिएपछि मेलमिलाप गरिएको छ ।

‘नयाँ संविधान २०७२ ले निजी तथा सार्वजनिक ठाउँमा गरिने अपमान विभेदलाई सामाजिक अपराध घोषणा भनेको छ,’ उनले भनिन्, ‘यो अमानवीय व्यवहार हो, जघन्य सामाजिक अपराध हो । यस्ता घटनाका दोषीलाई कारबाही हुनुपर्छ ।’

बिरामीको अवस्था
पीडित कमला अहिले ग्रान्डी अस्पतालमा उपचारत छिन् । उनको कम्मरमा सामान्य चोट लागेको छ भने घाँटीनेर सुन्निएको छ । बिरामीको टाउकोभित्र चोट लागेकाले धेरै बोल्दा, सुन्दा चक्कर आउने, टाउको उठाउन र फर्काउन गाह्रो भएको छ ।

‘चिकित्सकले टाउकोको रिपोर्ट आउन अझै २-३ दिन लाग्ने र अस्पतालमै आराम जरुरत भएको बताएका छन् ।

http://www.onlinekhabar.com/2016/02/389603/

एक्काइसौं शताव्दीको कलंक दलित बसेको कोठा चोख्याउन पूजापाठ 

चैत्र, १७ दाङ । तुलसीपुर नगरपालिका– ३ श्रीगैंका एक दम्पत्तिले आफ्नो घरमा दलित बसेको भन्दै घर चोख्याउन पूजापाठ गरेका छन् । श्रीगैका सीता भण्डारी र उनका श्रीमानले रोल्पा नुवागाउँ– ६ का नन्दुकुमार विक र उनकी श्रीमती भीमा विकलाई कोठाबाट निकाली घर चोख्याउन पूजापाठ गरेका हुन् ।

अध्ययनको सिलसिलामा गत असोज ५ गते भण्डारीको कोठा भाडामा ल्याई बस्दै आएका दुबै जनालाई कोठाबाट निकाली मंगलवार पूजापाठ गरेको पीडित नन्दुकुमार विकले बताए । १

५ महिने भेट्नरी पढ्दै आएका विकलाई पटक–पटक घरमालिक भण्डारीले दलित भन्दै मानसिक तनाव दिँदै आएको विकको भनाई छ । तुलसीपुरबाट प्रसारण हुँदै आएको रेडियो प्रकृतिमा “विषय हाम्रो विचार तपाईको” भन्ने रेडियो कार्यक्रममा फोन गरेको थिएँ ।

रेडियो कार्यक्रम घर साहुकी छोरीले सुनेकी रहेछिन् । मैले रेडियोमा नाम र थर भनेपछि त्यो कुरा उनीहरुले आफ्नो ठूली आमालाई आएर भनेछिन । त्यसै दिनदेखि मलाई तल्लो जातको मान्छे बसेको भन्दै कोठा छोड्न लगाइयो” विकले भने ।Chhuwachhut1

जात थाहा पाएपछि घरसाहु सीता भण्डारीले “हाम्रो घरमा अशान्ति, अशुद्ध, झगडा र श्राप परेको कुरा आज मैलै ज्योतिषकहाँ गएर हात हेराउँदा थाहा पाएँ । त्यसैले तपाईहरु घरबाट निस्कनुस्” भनेको विकले बताए ।

घर साहु भण्डारीले “हामीले मान्ने कुल देवताले पनि सानो जातका मान्छेलाई घरभित्र भित्राएको थाहा पाएर हाम्रा हात, खुट्टा शरीर काम्ने दुख्ने भएका छन् ।

त्यक्तिमात्र नभई यदि श्रीमानले थाहा पाउनु भएमा उहाँ काम्नु हुन्छ । त्यसैले यो सब नहुँदै समस्याको समाधान गर्न कोठा खाली गरिदिनुस् भन्दै भण्डारीले आफूलाई बताएको विकले सुनाए ।

दलित भन्ने थाहा पाउँदाको दिनदेखि नै घर साहु सीताले कोठा खाली गर्न आग्रह गरे पनि अहिलेसम्म कोठा नछाडेको विक परिवारको भनाई छ । भण्डारीले कोठा खाली गर्नका लागि बरु अन्यत्रै कोठा खोजेर तयार पारिदिएको बताइन् ।

विक परिवारले कोठा छाड्न नमानेपछि मंगलवार बिहानमात्र सँगैको अर्को कोठामा ओड्ने ओछ्याउने विस्तारा, भाँडाकुँडा लगेर राखिदिएर उनीहरु बस्दै आएको कोठा चोख्याउन पूजापाठ गरेको विकले बताएको भनाइ छ ।

यस्तै घर साहु सीता भण्डारीले विकको परिवार बसेको कोठामा मरेको मान्छेको हड्डी भएको बताउँदै ग्रहशान्ति मात्र गरेको बताएकी छिन् । ज्योतिषकहाँ गएर देखाउँदा घरको दक्षिण कोठामा मरेको प्रेतआत्मा छ ।

त्यसैले घर बान्नुपर्छ भनेपछि मात्र आफूले पूजापाठ गराएको सीताले दावी गरिन् । “रातको समयमा श्रीमान र छोराको गला खै कसले अचेट्छ । त्यसैले यसको समाधान गर्न मैले पूजापाठ गरेको हुँ” उनले भनिन् ।Chhuwachhut

ग्रह शान्ति गराउन पुगेका पण्डित डा. गंगादत्त शर्माले कुण्डलीमा हेर्दा उक्त कोठामा प्रेत आत्मा देखिएको कारण ग्रहजब गरिदिएको बताए ।

यो बाहेक अन्य कुरा आफूलाई थाहा नभएको बताउँदै यदि जातीय रुपमा विभेद भएको रहेछ भने यो गलत भएको उनले बताए । पीडित विकले पीडकलाई कानुनी कारवाहीको माग गर्दै राष्ट्रिय दलित आयोगमा समेत निवेदन दिएको बताएका छन् ।

त्यसैले गर्दा विकको दम्पतिले पीडकलाई कानुनी कारवाहीको माग गर्दे सबैमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

http://sadvabnews.com/archives/8327

 
Posted on 06-05-16 9:15 AM     [Snapshot: 316]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कागजमा मात्रै ‘छुवाछूत मुक्त राष्ट्र’

पर्वत पोर्तेल , काठमाडौं

जेष्ठ २१, २०७३-

  • गत साउनमा सिरहा धनगढी ३ नयनपुरका डोम समुदायलाई इनारको पानी भर्न प्रहरीको पहरा चाहियो ।
  •  जेठ ६ गते धरानमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले छुवाछूत प्रथा हटाउन नहुने विवादास्पद विचार राखे ।

यो प्रतिनिधि घटना हो । हाम्रो गाउँघर र समाजमा अझै दिनहुँजसो छुवाछूतजन्य अपराध भइरहेको छ । बाहिर नआएको मात्रै हो । सरकारले २०६३ जेठ २१ गते मुलुकलाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा त गर्‍यो ।

घोषणा कागजमा मात्रै सीमित छ । जातिका आधारमा हुने विभेद रत्तिभर कम भएको देखिन्न । बरु पछिल्लो घटनाक्रम हेर्ने हो भने यसले बढ्दो रूप धारण गरेको पाइन्छ ।

छुवाछूत मुक्त राष्ट्र घोषणा भएको ५ वर्षपछि अर्थात २०६८ जेठ १० गते जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन लागु गर्‍यो संसदले । ऐन आए पनि जातीय विभेद र छुवाछूतका घटनाहरूमा कानुन कार्यान्वयनको पक्ष सबल बन्नसकेको देखिन्न ।

गत जेठ ९ गते राष्ट्रिय दलित आयोगको आयोजनामा झापाको भद्रपुरमा ऐन कार्यान्वयनबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । कानुन कार्यान्वयन गर्ने मुख्य सरोकारवालाहरू नै कार्यक्रममा सहभागी भएनन् ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सरकारी वकिल कोही पनि थिएनन् । प्रजिअ मदन भुजेललाई आयोजकले पटक—पटक निमन्त्रणा गरेर जसरी भए पनि आइदिनुपर्छ भनेका थिए । उनी गएनन् ।

पछि मैले सोधेको थिएँ, ‘दलितको कार्यक्रममा जानुभएन भन्ने आयोजकको चित्त दुखाइ छ त ?’ उनले सहज उत्तर दिए, ‘बिर्सिएछु ।’ कानुन कार्यान्वयन गर्ने निकायका मान्छेहरूको ताल यो छ ।

अनि कहाँ हुन्छ, छुवाछूत मुक्त देश ? अनि कहिले पाउलान् दलित समुदायले न्याय ? छुवाछूत जघन्य सामाजिक अपराध हो । यस्तो घिनलाग्दो प्रथा अझै नेपाली समाजमा गढेर बस्नु हाम्रो दुर्भाग्य हो ।

विकिपिडिया भन्छ, छुवाछूत निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथा हो । यो सामाजिक कुरीति हो । धर्म, वर्ण, सम्प्रदाय, जाति आदिको नाममा गरिने छुवाछूत अल्पविकसित तथा अविकसित देशहरूमा बढी पाइन्छ ।

नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जात, जाति, वर्ण, लिङ्ग वा धर्म आदि कुनै आधारमा छुवाछूत गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । यद्यपि नेपालमा छुवाछूतको कुरीतिले निकै गहिरो जरा गाडेको पाइन्छ ।

तथाकथित तल्लो जात अथवा दलितले छोएको पानी बार्ने, धार्मिक स्थलहरूमा उनीहरूलाई निषेध गर्ने जस्ता अमानवीय कुप्रथा अझै विद्यमान छ ।

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन–२०६८ बन्नुलाई दलित मुक्ति आन्दोनको सकारात्मक र ऐतिहासिक महत्त्वको रूपमा हेर्नेहरू पनि छन् । २०२० सालमा मुलुकी ऐनमार्फत छुवाछूतलाई निरुत्साहित गरियो । तर कानुनी रूपमा दण्डनीय गरिएको थिएन ।

यो ऐन पूर्णरूपमा कार्यान्वयन गर्नसक्ने हो भने छुवाछूत आधाभन्दा बढी घटेर जाने कुरामा दुईमत छैन । तर कार्यान्वयन चुनौतीपूर्ण छ । संविधान र ऐन—कानुनअनुसार कथित तल्लो जात भनेर छुवाछूत गर्न पाइन्न ।

त्यसो गरे तीन वर्षसम्म कैद र २५ हजार रुपैयाँ जरिवाना हुनसक्छ । छुवाछूत मुक्त देश बनेको एक दशक बितिसक्दा पनि जातीय भेदभाव कम भएको भने देखिन्न ।

छुवाछूत गर्नेलाई कानुनी कारबाही भएको पाइँदैन । गाउँघरतिर यो कुप्रथाले बढी जरा गाडेको छ । यसो भन्दा सहरमा चाहिँ भेदभाव छँदै छैन भन्ने होइन । सहरमा पनि छ । तर गाउँमा भन्दा निक्कै कम ।

पानी छोएको, बिहेभोजमा भत्तेर छोएको, पूजामा प्रसाद छोएको आरोपमा अहिले पनि दलितहरू उपल्लो जातिकाहरूबाट कुटिएका, पिटिएकै छन् । छुवाछूत ऐनबारे गाउँका मान्छे बेखबर छन् । त्यही कारण ग्रामीण भेगका दलितहरू दिनहुँ छुवाछूतको सिकार भइरहेका छन् ।

गाउँमै मिलाउने, प्रहरीसम्म पुग्न नदिने परिपाटी बढी छ । त्यही कारण प्रहरी कार्यालयमा हत्तपत्त छुवाछूतको मुद्दा दर्ता हुँदैनन् । छुवाछूतकै कारण कतिपयले त ज्यानै पनि गुमाएका छन् ।

अन्तरजातीय बिहे गर्ने हजारौं जोडी विस्थापित भएका छन् । कुटिएका छन्, पिटिएका छन् । ज्यानैसम्म गएको उदाहरण छ । संसदमा ऐन पारित भएकै वर्ष २०६८ भदौमा दैलेखका सेते दमाई छुवाछूतकै कारण मारिए ।

२०६८ मंसिर २४ मा कालिकोट जुविथा गाविस–९ का मनवीर सुनारको हविगत पनि उस्तै भयो । २०६८ माघ १६ गते सप्तरी जिल्लाको पन्सेरा–३ का शिवशंकर दास, २०६९ असारमा बर्दिया बकलभारका रामबहादुर सार्की र रसुवा धैवुङका कुमार नेपालीले ज्यान गुमाउनुको मुख्य कारण जातीय विभेद नै थियो ।

छुवाछूत मुक्त राष्ट्र बनेको एक दशकपछि सरकारले जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको रूपमा मनाउने निर्णय गर्‍यो, १५ गते बजेट भाषणमा । यो दलित समुदायका लागि खुसीकै क्षण हो ।

प्रकाशित: जेष्ठ २१, २०७३






http://kantipur.ekantipur.com/news/2016-06-03/20160603080611.html

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Looking for Potential Match
chat girl -आजो सुक्रबार-२
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
How Covid-19 affecting your life/career?
$1200 only for US citizen?
हाम्रो #Quarantine समयको सदुपयोग
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
एउटी चन्द्रमुखी अर्की सूर्यमुखी
कोरोना बैनीलाई खुल्ला पत्र
पुलिसनी संग - आज बिहिवार - भाग १
कोरोनामा पनि भ्रष्टाचार
पुलिसनी संग - आज शुक्रवार - भाग २
Did Zuckerberg, Buffet, Bill Gates, Trump and other billionaires really lose money in this virus crisis?
Who does not get Stimulus Check
Jaha Chan Buddha Ka Aankha
कोरोना संक्रमणको बखतमा बैज्ञानिकहरुले ६ फीट टाढै बसेर यौन सम्पर्क गर्ने तरीका पत्ता लगाए
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
CISTIANS begin the event with Nepali national anthem and 1974 AD at Imperial BANQUET, KL TOWER
रूम चाहियमा तु सम्पर्क गर्नुहोस।
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters