[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 पोखरामा रेड लाइट एरिया
[VIEWED 1579 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-19 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपालको प्रमुख र लोकप्रिय पर्यटकीय गन्तव्य हो, पोखरा। आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गर्न सक्ने प्राकृतिक सुन्दरता तथा भौतिक पूर्वाधारले भरिपूर्ण पोखरामा ‘सेक्स टुरिजम’ विकास गर्नुपर्ने बहस बेला–बेला उठ्ने गर्छ। केही वर्षअघि तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारी पोखरामा ‘सेक्स टुरिजम’ पनि थपिनुपर्ने अभिव्यक्ति दिएका कारण विवादमा परेका थिए। पोखरामा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका केही व्यवसायी पनि ‘सेक्स टुरिजम’ हुनुपर्ने विषयमा कुरा गर्छन्। पछिल्लो समय प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा ‘रेड लाइट एरिया’ हुनुपर्छ वा पर्दैन भन्ने विषयमा बहस गर्न सकिन्छ भनेपछि ‘सेक्स टुरिजम’ का पक्ष-विपक्षमा फेरि बहस सुरु भएको छ। पोखराको प्राकृतिक सुन्दरता तथा सांस्कृतिक पक्षलाई उजागर गरेर पर्यटन व्यवसाय फैलाउनुपर्ने तर्क गर्नेहरूले ‘सेक्स टुरिजम’ को अवधारणालाई चर्को विरोध गरिरहेका छन्। कानुनी रूपमा नेपालमा यौन व्यापार वर्जित छ। नेपाली छोरी÷चेलीको शरीर बेचेर पर्यटनमा उधुम होला र देशले विकासको फड्को मार्ला भनेर सोच्नु नै गलत भएको तर्क गर्नेहरू थुप्रै छन् पोखरामा। तर, कानुनले वर्जित गरे पनि राजधानीलगायत देशका मुख्य शहर तथा राजमार्गमा सेक्सको किनबेच भने निर्बाध रूपमा चलिरहेकै छ।

सम्पूर्णले राजधानीमा संगठित रूपमा ‘सेक्स धन्दा’ सञ्चालन भइरहेका स्थानमा स्थलगत निगरानीसहित दुई वटा कभर स्टोरी प्रकाशित गरेको थियो (हे. तस्बिर)। जीर्ण तथा थोत्रा घर एवं खाजापसलको आवरणमा भइरहेको यौनधन्दाको बारेमा सम्पूर्णले कभर स्टोरी गरेको थियो। सम्पूर्णको वर्ष २ अंक ७० मा प्रकाशित ‘टेको लगाएको घरमा यौनधन्दा’ र अंक ८३ मा प्रकाशित ‘खाजाघरमा यौन तमासा’ स्थलगत निगरानीका आधारमा तयार पारिएका रिपोर्ट थिए। यस पटक हामीले काठमाडौँबाहिर पोखरामा रहेका केही ‘सेक्स प्वाइन्ट’ को स्थलगत रिर्पोटिङ गरेका छौँ। पोखरामा यौनधन्दा कसरी र कुन रूपमा सञ्चालन भइरहेको छ भन्ने बारेमा हामीले गत हप्ता बुधबार, बिहीबार र शुक्रबार पोखराका केही ‘सेक्स प्वाइन्ट’मा निगरानी गरेका थियौँ।

‘खाजा, खाना केही पनि नपाइने ठाउँमा चार÷चार जना स्टाफ किन चाहियो नि?’ हामीले भन्यौँ। ‘दाइहरू कति ल्याङ हानिरा’को। थाहा पाएर पनि थाहा नपाएजस्तो। हाम्रो काम नै अर्को हो। कति बेला हामी चारै जना व्यस्त हुन्छौँ। अहिलेलाई दुई जना व्यस्त हुनुपर्ला। तपाईंहरू दुई जना मात्रै आउनुभएको छ।’ उनीहरूले सीधा–सीधा सेक्स प्रस्ताव गरिसकेका थिए। हामी केही समय अलमल गर्ने र कुराकानी गरेर फुत्किने योजनामा थियौँ। उनीहरू ‘माथि जाऔँ’ भनिरहेका थिए। ‘हामीले यहाँ त नबस्ने डर हुन्छ’ भन्यौँ। उनीहरूले ‘यो रेस्टुरेन्ट सञ्चालकको गेस्टहाउस पनि छ त्यहाँ जाऔँ’ भने। दुई हजारमा सबै काम फत्ते हुने भन्दै युवतीहरू बिहानको बोहनी राम्रो बनाउन लागिपरेका थिए। हामीले रेस्टुरेन्टभन्दा माथिको सेटअप हेर्नका लागि ‘माथि हेरुँ अनि मात्र बसुँला’ भन्यौँ। एक जनाले हामीलाई माथि लगिन्। चार वटा चिटिक्क परेका कोठा थिए। ‘यहीँ हो बस्ने, डर मान्नुपर्दैन’ भन्दै युवती हामीलाई मनाउने प्रयास गरिरहेकी थिइन्। हामीले अरू दुई जना साथी पनि रहेको र उनीहरूलाई लिएर आउने भन्दै बाहिर निस्कन खोज्यौँ। चारमध्ये एक युवतीले ढोकामा उभिएर बाहिर निस्कन दिइनन्। ‘दुई बोतल बियर किनेर दिनुस् अनि मात्र बाहिर जान पाइन्छ’ भन्दै ढोकामा उभिएर बाटो छेकिन्। उनले भनेजस्तै दुई बोतल बियर किनिदिएर त्यहाँबाट हामी उम्कियौँ।

निर्भाना र न्यू रेस्टुरेन्ट बीचमा कबाडी संकलन केन्द्र छ। निर्भाना, न्यू रेस्टुरेन्टबाट पोखरा एयरपोर्टतिर छ। एकतले यो घरको छतमा पिल्लर ठडिएका छन्। युनिक होटल एन्ड थकाली किचेनसँग जोडिएको छ (हे. तस्बिर नं. २)। बिहानको १० बजे यो रेस्टुरेन्ट छिर्दा यहाँको माहोल मदिरामय थियो। दुई वटा टेबुलमा एक÷एक जोडी बियर खाएर बसिरहेका थिए। यो रेस्टुरेन्ट पनि फराकिलो नै थियो। भित्रको सेटअप पनि आकर्षक देखिन्थ्यो। हामीले खानाका परिकार हेर्नका लागि मेनु माग्यौँ। तर, त्यहाँ रहेकी युवतीले ‘केको मेनु चाहियो र? बियर, हार्ड ड्रिंक्स के खाने भन्नुस् न’ भनिन्। पोखरा एयरपोर्टबाट पृथ्वीचोकतिर जाँदा नागढुंगा भन्ने ठाउँ पार गर्दै जानुपर्छ। नागढुंगामा थोरै उकालो छ। यहाँका केही रेस्टुरेन्टमा यौनधन्दा सञ्चालन हुन्छ भन्ने जानकारीका आधारमा हामीले बुधबार यहाँ ‘रेकी’ गरेका थियौँ। रेस्टुरेन्टभन्दा ठीक पारिपट्टि उभिएर करिब एक घण्टा निगरानी गर्दा दुई वटा रेस्टुरेन्टमा पुरुषहरूको आवतजावत बाक्लो देखियो। भित्र पस्ने र बाहिर निस्कने अवधि छिटो÷छिटो थियो। खानपिनका लागि आएको हो भने त पक्कै पनि केही समय बिताउनुपर्ने हो। तर, भित्र पसेका पुरुषहरू बढीमा १० देखि १५ मिनेटमा बाहिर निस्किएको देखेपछि हामीले नागढुंगाका दुई वटा रेस्टुरेन्टमा निगरानी गर्ने निधो गर्‍यौँ।

पोखरा एयरपोर्टबाट पृथ्वीचोकतिर जाँदा नागढुंगाको उकालो पार गरेपछि बायाँतिर छ, यो रेस्टुरेन्ट। दुईतले घरमा एउटा सटरमा देव फ्रेस हाउस लेखिएको मासुपसल छ। एकातिर होटल र अर्कोतिर न्यू रेस्टुरेन्ट लेखिएको बीचमा ढोका छ। ढोकाबाहिर खानाका परिकारका नाम लेखिएका छन् (हे. तस्बिर नं. १)। हामी निगरानीका लागि न्यू रेस्टुरेन्टभित्र छिर्‍यौँ। निकै फराकिलो स्पेस भएको यो रेस्टुरेन्टमा एकातिर काउन्टर थियो भने दायाँबायाँ टेबुल–कुर्सी राखिएका थिए। एक र अर्को टेबुलको बीचमा पर्दा हालेर एकअर्कालाई झ्वाट्टै नदेख्ने बनाइएको थियो। रेस्टुरेन्टमा दुई युवती मोबाइल चलाएर बसिरहेका थिए। हामीले चिया÷खाजा के खान पाइन्छ भनेर सोध्यौँ। दुईमध्ये एक युवतीले ‘यहाँ चियाखाजा त केही छैन’ भनिन्। कोल्ड ड्रिंक्स, जुस, बियर मात्रै पाइने जानकारी गराइन्। ‘बिहानको ९ मात्रै बजेको छ। केको बियर खानु? हामी त खाजा खान पाइन्छ कि भनेर आएको?’ हामीले भन्यौँ। ‘खाजा त छैन, जुस खानुस्,’ ती युवतीले भनिन्। हामीले दुई वटा रियल जुस र एक बोतल पानी माग्यौँ। त्यति नै बेला एक युवती रातोपिरो हुँदै आइपुगिन्। हामीलाई जुस र पानी दिने युवतीले माथि रहेकी साथीलाई तल पुलिस आएको भनेर अत्याएर आएकी रहेछिन्। हामीलाई देखेर पुलिस होइन भन्ने लागेपछि लामो सास फेरिन् र साथीलाई गाली गरिन्। ‘हेर् न ! अर्कोपल्ट तँलाई पनि यसै गरी सातो लिन्छु,’ उनले आफ्नी साथीलाई भनिन्।

‘किन तपाईंहरू डराउनुभएको? यहाँ के गर्न आउँछन् र पुलिस?’ हामीले प्रश्न गर्‍यौँ। ‘आउँछन् नि बेला–बेलामा हामीलाई पक्रन’ युवतीले भनिन्। ‘किन पक्रनु नि? रेस्टुरेन्टमा काम गर्नेलाई?’ हामीले केही थाहा नपाएजसरी प्रश्न गर्‍यौँ। ‘तपाईंहरू यहाँ पहिला आउनुभएको थिएन र?’ एक युवतीले उल्टै प्रश्न तेस्र्याइन्। हामी दुईमध्ये एक जनाले पहिला पनि धेरै पटक आइसकेको बताएपछि ‘त्यसो भए त थाहा होला नि ! यहाँ विशेष काम हुन्छ’ भनेर ती युवतीले हामीलाई रेस्टुरेन्टमा हुने हर्कतबारे बुझाउन खोजिरहेकी थिइन्। हामी दुईमध्ये एक जनाले चिरपरिचितजस्तै व्यवहार गरेपछि दुई जना युवती चुरोट सल्काउँदै नजिकै कुर्सीमा बसेर ‘बियर खाऊँ न’ भन्न थाले। हामीले ‘बियर त हामी खाँदैनौँ, जुस खाने भए खानुस्’ भनेपछि तीनै जनाले जुस खान थाले। ‘बिहानै आउनुभएको छ। बोहनी नबिर्गानुस् है’ भन्दै युवतीहरू जुस र चुरोट खान थाले। त्यति नै बेला उनीहरूले ‘आमा’ भनेर सम्बोधन गर्ने एक जना महिला कोठाभित्रबाट बाहिर आइन्। उनी नै यो रेस्टुरेन्टकी सञ्चालक रहेको उनीहरूले बताए। घरबाट भागेर आएको बताउँदै एक युवती ‘आमा’ रेस्टुरेन्ट सञ्चालिकाले आफूलाई धेरै सुधारेको बताउँदै थिइन्। आमाबुबा नै वैदेशिक रोजगारीमा गएको र घरमा दाइ र आफू मात्रै भएको बताउने ती युवती आमाले ‘काम’ दिएपछि आफूलाई ढुक्क भएको बताउँदै थिइन्।
‘हामी त खाजा खान पाइन्छ कि भनेर आएको,’ हामीले भन्यौँ। ‘यस्तो ठाउँमा पनि भोकै आउने हो त? यहाँ त शक्तिशाली भएर आउने र शिथिल भएर जाने हो,’ ती युवतीले जिस्किँदै भनिन्। अन्दाजी तीन वर्षको बच्चा लिएर एक युवती अधबैँसे पुरुषसँग बसेर बियर पिउँदै थिइन्। काखमा छोरो च्यापेर चुरोटको धुँवा उडाउँदै बियर पिउँदै गरेकी ती युवतीले दूध खुवाउनुपर्ने बच्चालाई बियरको घुट्को लगाइदिइन्। बच्चालाई बियर खुवाएको देखेपछि हामीले ‘किन बहिनी, यति सानो बच्चालाई बियर खुवाएको?’ भन्यौँ। बियरले मातेकी उनी ‘तिमीहरूलाई के मतलब? मेरो बच्चा हो। म जे खान्छु, त्यही खुवाउने हो’ भन्दै कराउन थालिन्। बच्चा काखमा लिएर ग्राहकसँग बसेर बियर खाइरहेकी ती युवतीलाई हामीले ‘यो बच्चाको बाउ होलान् नि?’ भनेर सोध्यौँ। उनले जंगिँदै ‘छैन बाउसाउ, तिमीहरू बाउ बन्ने भए बन, होइन भने नकराओ’ भन्दै हामीलाई हपारिन्। हामीसँग टेबुलमा बसिरहेकी अर्की युवती हामीलाई ‘उसको बच्चा हो जेसुकै गरोस्, हामी हाम्रो काम गरुँ न’ भनिरहेकी थिइन्। हामीसँग दुई जना युवती दिए। उनीहरूलाई एक÷एक बोतल बियर किनिदिएर हामी केही बेर गफ गर्न थाल्यौँ। उनीहरूले बियर खाँदै गर्दा निर्भानामा हुने यौनधन्दाको बारेमा बताए। भित्रपट्टि सुरक्षित कोठा रहेको र एक पटक यौन सम्पर्क राखेको दुई हजार लिने गरेको जानकारी दिए। दुई हजारमा रेस्टुरेन्ट सञ्चालकले आधा लिने गरेको जानकारी उनीहरूले दिए। बिहान १० बज्दा नबज्दै निर्भानामा पनि चार जना युवती कामका लागि आइसकेका थिए।

जिरो किलोमिटरबाट हलनचोक जाँदा बीचतिर पर्छ, शान्तिनगर। यही शान्तिनगरमा छ, ए वान रेस्टुरेन्ट। बाहिरबाट हेर्दा नामजस्तै देखिन्छ ‘ए वान’ रेस्टुरेन्ट। दुईतले यो रेस्टुरेन्टको बाहिरी लुक्स पनि भव्य देखिन्छ (हे. तस्बिर ३)। ढोकामा हात जोडेर नमस्कार गरिरहेकी युवतीको स्केच छ। एकातिर भित्र राखिएका मदिराका बोतल देखिन्छन् भने अर्कोतिर कालो सिसा छ। यति भव्य देखिने रेस्टुरेन्टमा परिकार पक्कै पनि स्वादिष्ट होलान् भनेर पस्न खोज्नुभयो भने तपाईंले सजिलै प्रवेश पाउने सम्भावना निकै कम हुन्छ। किनकि, यो रेस्टुरेन्टमा सधैँ भित्रबाट चुकुल लगाइएको हुन्छ।

ए वानबारे जानकारी दिनेले हामीलाई भित्र पस्न मुश्किल पर्ने पहिले नै बताएका थिए। बाहिरबाट हेर्दा भित्र केही नदेखिने तर भित्रबाट हेर्दा बाहिर सबै देखिने खालको कालो सिसा लगाइएको यो रेस्टुरेन्टमा चिरपरिचितले मात्रै प्रवेश पाउँछन्। निगरानीका लागि गएका हामी रेस्टुरेन्टको साइडमा आधा घण्टाजति उभियौँ। कोही यस्तो व्यक्ति आओस् जसका लागि ढोका खुल्दा ऊसँगै हामी पनि फुत्त भित्र छिर्ने योजनामा रेस्टुरेन्टको साइडमा उभिएका थियौँ। एक जना पुरुष ढोकामा उभिए। हामी पनि उनको पछि उभियौँ। ढोका खुल्नेबित्तिकै उनैसँग हामी पनि सधैँ आउने÷जाने जस्तै गरेर ‘के छ हाउ हालखबर?’ भन्दै भित्र पस्यौँ। तीन जना युवती चाउचाउ साँधेर खाँदै थिए। हामी भित्र पसेपछि उनीहरूले साँधेको चाउचाउ खान छोडेर हामीलाई नियाल्न थाले। हामीभन्दा अघिअघि पसेका पुरुष र एक जना युवती माथितिर उक्लिए। सोफामा एक युवती सुतिरहेकी थिइन्।

रेस्टुरेन्टको इन्टेरियर र सेटअप निकै भव्य लाग्थ्यो। काउन्टर आकर्षक बनाइएको थियो। सीसीटीभी क्यामरा जडान गरिएको छ। चिभास रिगलको ठूलो बोतल काउन्टरअगाडि सजाएर राखिएको, आरामदायी सोफा राखिएको निकै भव्य देखिन्छ रेस्टुरेन्ट। ‘चिसो खाऊँ न’ भन्दै हामी टेबुलमा बस्यौँ। एक युवती फ्यान्टा लिएर आइन्। उनले ‘तपाईंहरूलाई चुरोट पनि चाहिन्छ कि?’ भनेर सोधिन्। हामीले ‘तपाईं खाने हो भने खानुस्’ भन्यौँ। ‘खाने नि’ भन्दै उनी चुरोट लिएर आइन्। चुरोट लिएर आएकी युवतीको चालढाल अन्य युवतीको भन्दा फरक थियो। ‘भित्र रुम छ, त्यता बसुँ न’ भनेर भित्र लगिन्। साइडमा स–साना लो बेड भएको र टेबुल–कुर्सीको सेटिङ पनि भएको ठाउँमा उनले हामीलाई राखिन्। तीन जना युवती आएर वरिपरि बसे।

उनीहरूले कत्ति पनि ढिला नगरी ए वानमा उपलब्ध सेवाबारे हामीलाई जानकारी दिए– यहाँ रेड बुल हालेर बियर खाने हो र मस्ती गरेर जाने हो। ‘तपाईंहरू पहिला पनि आएकाले मात्रै ढोका खोलेको हो’ भन्दै उनीहरूले हामीलाई पहिला नै चिनेको जसरी गफ दिए। तीन जना युवतीका लागि तीन वटा बियर र तीन वटै रेडबुल अर्डर गरियो। बियर तीतो हुने भएकाले रेड बुल हालेर खाँदा स्वाद आउने र फरक खालको ट्रिप दिने भन्दै उनीहरू बियर खान थाले। कञ्चन थापामगरको नाममा पोखरा महानगरपालिकामा यो रेस्टुरेन्ट दर्ता छ। हामीसँग बसेर बियर खाइरहेका बेला रेस्टुरेन्ट सञ्चालक महिला कराउँदै आइन्। ‘के हो केटीहरू, कुना कुनामा बस्ने? केटा मान्छेसँग किन नजिक बसेको? अलि पर–पर बसेर खान सकिँदैन’ भनेर कराइन्। रेस्टुरेन्ट साहुनी कोठाबाहिर गएपछि युवतीहरू ‘गेस्टसँग सुत्न पठाउन चाहिँ हुने, अहिले कराउनुपर्ने’ भन्दै साहुनीलाई गाली गर्न थाले। ‘तपाईंहरू नयाँ देखेर नाटक गरेकी हो। अहिले मिलाएर बस्नुहोला भन्दै आउँछिन्’ भन्दै थिए उनीहरू।

उनीहरूले बियर खाइसक्दा नसक्दै रोजेकोसँग माथि जान अफर गरिरहेका थिए। ‘यस्तो मध्यदिनमा हामी त नबस्ने। डर हुन्छ। पुलिस आयो भने’ भन्दै टारिरहेका थियौँ। ‘पुलिसले केही गर्दैन,’ उनीहरू निर्धक्क भन्दै थिए, ‘हामीलाई कहिलेकाहीँ पक्रेर लान्छ। केही बेरमा छोडिदिन्छ। बेलुका हामीसँगै रोमान्स गर्न आउँछ पुलिस। त्यही भएर चिन्ता लिनुपर्दैन।’ होटलजस्तै व्यवस्थित चार वटा रुम भएको ए वानमा रातदिन यौनधन्दा हुन्छ। राति बस्ने व्यवस्थासमेत भएको युवतीहरूले बताए। ‘यहाँ बसे पनि हुन्छ,’ उनीहरू भन्दै थिए, ‘तपाईंहरू बसेको होटलमा बोलाए पनि हुन्छ। हामीले चिनेको होटलमा गए पनि हुन्छ। च्वाइस तपाईंहरूको।’ उनीहरू ए वानले दिने यौन सेवाबारे सविस्तार बताउँदै थिए। ‘यहाँ बस्यो भने दुई हजार हो,’ एक युवतीले भनिन्, ‘राति होटलमा हामीलाई बोलाउनेले कम्तीमा पनि १० हजार तिर्छन्। राम्रो होटलमा बसेर ब्रोकरमार्फत खोज्दा हाम्रो भाउ त दशौँ गुणा बढी हुन्छ।’ उनीहरूले आफ्नो रेट बताए। ‘यस्तो सीसीटीभी क्यामरा जडान गरेको ठाउँमा पनि कसैले सेक्स गर्छ?’ भन्ने हाम्रो प्रश्नमा एक युवतीले भनिन्, ‘यो क्यामरा तलका लागि मात्र हो। देखाउनका लागि माथि कोठामा केही हुँदैन।’

उनीहरू ‘बसौँ–बसौँ’ भनेर कर गरिरहेका थिए। ‘अर्को पटक आउँदा हामी यहाँ नहुन सक्छौँ’ भन्दै उनीहरूले तीन÷तीन महिनामा शहर फेर्ने गरेको बताए। काठमाडौँ, पोखरा, बुटबल, नेपालगञ्ज विभिन्न शहरमा कन्ट्याक्टमा जाने गरेको बताए। एकै ठाउँमा बस्दा पुरानै केटी रहिछ भनेर ग्राहक पनि घट्ने र आम्दानी पनि कम हुने भएकाले ठाउँ परिवर्तन गरी–गरी काम गर्ने गरेको उनीहरूले बताए। तीनमध्ये अलि मोटी खालकी केटी भन्दै थिइन्, ‘मलाई सेक्स फाप्छ। अनि, त यसरी मोटाएकी छु।’ उनीहरूले ग्राहकले बुक गरेर तीन÷चार दिनको प्याकेजमा बाहिर लाने गरेको पनि बताए। ‘हामी यहाँ मात्र बस्ने होइन, कसैले काठमाडौँ बोलायो भने उतै जान्छौँ। बुटवलबाट काम आयो भने त्यतै लाग्छौँ,’ उनीहरूले भने। उनीहरूले बियर खाइसक्दा सोफामा सुतिरहेकी युवती पनि उठिन्। उनी पनि धन्दा गर्ने नै रहिछिन्। साहुनीलाई कसैले फोन गर्‍यो। उनले ती युवतीलाई होटलको नाम र ठेगाना दिएर धन्दाका लागि जान भनिन्। ‘यी दिदी पनि कता–कता पठाउँछिन्’ भन्दै उनी स्कुटी स्टार्ट गरेर यौनधन्दाका लागि बाहिर निस्किइन्। ‘स्कुटीवाली मन परेको भए ऊसँगै बसे हुन्छ। ऊ टिप लागेर बाहिर गएकी छे,’ बियर पिउँदै गरेका युवतीहरू भन्दै थिए। हामी अरू दुई जना साथी लिएर आउँछौँ भनेर ए वानबाट बाहिरियौँ।

शान्तिनगरमै रहेको यो रेस्टुरेन्टको कुनै नाम छैन। काउन्टरमा केही मदिरा सजाएर राखिएको छ। यहाँ पनि चार जना केटी फुलटाइम यौनधन्दाका लागि राखिएका छन्। ग्राहकलाई रोजाएर यौनधन्दा गराउने गरिएको भेटियो। हामीले यहाँ पनि चियाखाजा खान खोजेका थियौँ। छैन भनियो। यस्ता रेस्टुरेन्टमा मदिरा भने खोजेजस्तै पाइने रहेछ। रेस्टुरेन्ट सञ्चालक फोनबाट ग्राहक बुकिङ गर्ने, लोकेसन देखाउने र रातिका लागि कुन होटलमा युवती पठाउने भनेर चाँजोपाँजो मिलाउँदै थिए। दिउँसो रेस्टुरेन्टमा यौनधन्दा गर्ने युवती राति भने विभिन्न होटलमा ग्राहकको डिमान्डअनुसार यौनधन्दाका लागि पुग्ने गरेको निगरानीका क्रममा पत्ता लाग्यो।

सम्पर्क व्यक्तिमार्फत भेटिन्छन् यौनकर्मी -यौनधन्दा हुने केही सेक्स प्वाइन्टको निगरानीपछि हामीले सम्पर्क व्यक्तिमार्फत यौनकर्मी भेट्नका लागि बिहीबार राति ११ बजेसम्म पोखराका विभिन्न चोक र गल्ली चहार्‍यौँ। ट्याक्सी चालकमार्फत यौनकर्मी भेट्न खोज्दा निकै समय लाग्यो। सुरुमा ट्याक्सी चालक आफूलाई यो विषयमा केही थाहा नभएको भन्दै पन्छिन्थे। एक जना ट्याक्सी चालकले ‘मेरो नाम लिनू’ भनेर एक जना महिलाको नम्बर दिए। फलानो दाइले नम्बर दिनुभएको भन्नेबित्तिकै ती महिलाले फोनमा भनिन्, ‘ए ल ल कुरा बुझेँ, एक घण्टापछि फोन गर्छु।’ तर, उनले फोन नगरेपछि हामीले पुनः ती महिलालाई फोन गर्‍यौँ। उनीहरूले केटीहरू व्यस्त भएकाले समय लाग्ने बताइन्।

हामीलाई ‘केटीहरू सिर्जना चोकमा आउँछन्’ भनिएको थियो। हामी तीन पटक सिर्जना चोक जाँदै÷फर्किंदै गर्‍यौँ। ती महिलाले राति १० बजे यौनकर्मी युवतीको फोन नम्बर दिइन्। ‘फलानी दिदीले दिनुभएको’ भन्दै फोन गरेपछि उनीहरू आउन राजी भए। राति ११ बजे उनीहरू सिर्जना चोक आए। दिउँसो कपडा पसलमा काम गर्ने उनीहरूले राति मात्र यौनधन्दा गर्ने गरेको बताए। हामीले ‘आज निकै ढिला भयो, भोलि दिउँसो भेटौँ’ भन्यौँ। उनीहरू ‘दिउँसो भ्याइँदैन, बस्ने भए राति नै बसौँ’ भन्दै फर्किए। सम्पर्क व्यक्तिमार्फत होटलको कोठासम्मै यौनकर्मी पुग्ने गरेका छन्।

कुनै समय पोखराको बाग्लुङ बसपार्क रेड लाइट एरियाभन्दा कम थिएन। बसपार्क आसपास खुलेका दर्जनौँ होटलका ढोकामा अर्धनग्न युवती ग्राहकको प्रतीक्षा गरिरहेका हुन्थे। २०७१ सालमा वसन्त लामा कास्की जिल्लामा प्रहरी प्रमुख थिए। स्थानीयको सहयोगमा उनले नै कडाइ गरेपछि बाग्लुङ बसपार्कको यौनधन्दा बन्द भएको थियो। बसपार्कवरिपरि रहेका ७५ वटा होटलमा यौनधन्दा हुने गरेको थियो। पोखराको मुख्य यौनधन्दा हुने अखडा बन्द भए पनि शहरका विभिन्न चोकमा रहेका रेस्टुरेन्टमा अहिले निर्बाध रूपमा यौनधन्दा हुने गरेको ‘सम्पूर्ण’को निगरानीमा देखियो।

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको एउटा मन्तव्यले छेडेको बहस अझै सेलाएको छैन। त्यो हो, यौनकर्मीलाई वैधता दिने बहस। गत भदौ २६ गते पर्यटनकर्मीको एउटा कार्यक्रममा उनले भनेका थिए, ‘यौन व्यवसायलाई वैधता दिने÷नदिनेबारे बहस सुरु गरौँ।’
उनले त्यति के भनेका थिए बहस सुरु भइहाल्यो। जिज्ञासा उनीतिरै सोझिए। ‘जति रोक्न खोजे पनि भित्रभित्र धन्दा भइरहेकै छ, बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाउने हो कि,’ उनले थप प्रस्ट्याए, ‘त्यही नाममा प्रहरीले दुःख दिएको छ। व्यवसाय गर्नेले पैसा पनि नकमाउने र सुरक्षित पनि नहुने अवस्था छ।’ मुख्यमन्त्रीले ‘बहस सुरु गरौँ, वैधता दिने÷नदिने बहसपछि टुंगो लगाऊँ’ भनेका थिए। तर, यौन व्यवसायलाई तुरुन्तै मान्यता दिनेझैँ गरी आलोचना सुरु भयो। यसपालि फेरि उनैको मन्त्री परिषद्का सदस्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ‘इन्जोय जोन’ बनाउने भाषण गरेपछि अर्काे तरंग आएको छ।

मन्त्री लम्साल भने चौबीसै घण्टा खुला हुने पर्यटकीय ठाउँ बनाउने बताउँछन्। ‘सरकारले बनाउने ठाउँमा कानुनविपरीत कुनै काम हुँदैन,’ उनले मिडियामा जवाफ दिने गरेका छन्, ‘पर्यटकलाई चाहिने सबैथोक बनाउने भनेका हौँ।’ तर, खासमा उनले यौनलाई खुला गर्ने, गाँजालाई खुला गर्ने गरी ‘इन्जोय जोन’ बनाउने भाषण गरेका थिए। सामाजिक सञ्जालमा त्यसको चर्काे आलोचना हुनासाथ आफ्नो बोली मन्त्री लम्सालले सच्याए। अहिले भन्न थालेका छन्, ‘हाम्रो पर्यटन मर्यादित बनाउनुपर्छ। पर्यटनको सम्पत्ति भनेको प्रकृति हो। पर्यटनको सम्पत्ति संस्कृति हो। हाम्रो पर्यटनको सम्पत्ति एड्भेन्चर हो।’

तर, मन्त्री लम्सालले गाँजा, लागुपदार्थ, मदिरा सेवन गर्नेदेखि यौन गतिविधि गर्ने गरी इन्जोय जोन बनाउन नौ करोड रुपैयाँ बजेट छुट्याएको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए। अभिव्यक्ति उनले सच्याउनुको एउटै कारण हो, त्यसको सर्वत्र विरोध हुनु। गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्षबारे पर्यटन व्यवसायीसँगको छलफलमा मध्य वैशाखमा मन्त्री लम्सालले इन्जोय जोनको अवधारणा सार्वजनिक गरेका थिए। पछि उनले एक मिडियालाई दिएको अन्तर्वार्तामा समेत इन्जोय जोनबारे बोलेका छन्। तर, मन्त्री लम्सालले ‘सम्पूर्ण’सँग भने, ‘त्यस्तो नचाहिने कुरा मैले बोल्छु? कानुनविपरीत कुरा गर्ने होइन, तर पर्यटकका लागि स्पेसल जोन चाहिँ बनाउने हो।’ मन्त्री लम्सालले पर्यटकका लागि स्पेसल जोन फेवातालकै नजिक पामे वा मट्टिखान वा अन्त कतै बनाइने जानकारी दिए। ‘ठाउँ हेरिरा’छौँ,’ उनले भने।

मन्त्रीको उक्त अवधारणा आउनसाथ लेखक सरस्वती प्रतीक्षाले ट्वीट गरिन्। यहाँको सांस्कृतिक र भौगोलिक सौन्दर्यमा रमाउन पर्यटक पोखरालाई चाहिने उनको भनाइ थियो। प्रतीक्षाले त एउटा आलेखै लेखेर खबरदारी गरेकी छन्, ‘पोखराजस्तो स्वच्छता र सौन्दर्यको पावनभूमिलाई गाँजा र रक्सीको तालमा शरीर किन्ने र बेच्नेहरूको यौनभूमि बनाउने लज्जास्पद काम नगरियोस्।’ पोखरा विश्वविद्यालयका उपप्राध्यापक शिव संकल्पले पनि यौन बजार पोखरामा बनाउन नहुने धारणा सार्वजनिक गरेका छन्। उनी भन्छन्, ‘अद्वितीय प्राकृतिक दृश्य, असाधारण जलवायु अनि अनुपम संस्कृतिको संगमस्थल पोखरामा कुत्सित अपसंस्कृति बन्नु हुँदैन।’पोखराका पुराना पर्यटनकर्मी झलक थापा मर्यादित पर्यटनको वकालत गरिरहन्छन्। उनी पनि संस्कृति र प्रकृतिसँग रमाउने पर्यटक पोखरामा बोलाउनुपर्ने र उनीहरूलाई सुसंस्कारयुक्त सत्कार दिनुपर्ने विचार सधैँ व्यक्त गरिरहन्छन्। एक पटक आएको पर्यटक फेरिफेरि आइरहने बनाउनुपर्छ भन्ने उनको धारणा हो। पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल कानुन विपरीतका गतिविधि हुनु हुँदैन भन्छन्। थाइल्यान्डको बेइज्जत भएजस्तो पोखराको बेइज्जत नहोस् भन्ने आफूहरूको चाहना रहेको उनी बताउँछन्। भन्छन्, ‘हामीसँग एड्भेन्चर छ, प्रकृति छ, संस्कृति छ। त्यही नै हो हाम्रो पर्यटन।’ विद्यार्थी नेतृ प्रवीणा अधिकारी त झन् झोक्किँदै सामाजिक सञ्जालमा लेख्छिन्, ‘सेक्स टुरिजम, इन्जोय जोन झन्झटिलो भो, सीधै मुम्बईमा लगेर बेच।’सम्पूर्ण साप्ताहिकबाट साभार ।

https://www.muldharpost.com/21908/

Related image


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Why you can't trust the vaccines 100%
How long does it take to get I485 approved?
TPS Timeline
Divorce Law in Nepal.
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
H-1B 2018/2019: कसैको approval notice आयो?
भाउजु आउनु भाकी छिन रे नि !
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
👭 👭 👭 👭 देसी भाभी 👭 👭 👭 👭
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
Gemstones in Nepal
Nepali Billionaires & Millionaires
NEPALI CHARLES SHOBRAJ ZUBIN SHARMA URF PRAKASH PAUDYAL!
अस्ट्रेलियामा नेपालकै बेइज्जत हुनेगरी एक नेपालीले यस्तो गरे
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
होलीको नाममा यस्तो अश्लिलता देखियो
तुरन्त सम्पर्क गर्नु होस् !
Don't apply Canada Immigration through COLIN R. SINGER
Former U.S. President Bill Clinton in Nepal
Build the Wall-MAGA
Finally tps extended (18 months) ( full statement)
Why you can't trust the vaccines 100%
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters