[Show all top banners]

timi_mero_sathi

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jhapali_Thito

lolitalover
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कथा-नजन्मिनुपर्ने मान्छे---धीरकुमार श्रेष्ठ
[VIEWED 4593 TIMES]
SAVE! for ease of future access.
Posted on 05-24-14 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा-नजन्मिनुपर्ने मान्छे

२०७१ जेठ १० गते ९:४९ मा प्रकाशित

धीरकुमार श्रेष्ठ


आज ठीक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा गजब गरी कसरी बाँच्न सक्यो ! जीवनमा त्यति विधि भोगिसकेपछि एउटा मान्छे कि त आत्महत्या गर्छ कि त परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्छ । यो मेरो प्रमाणित मान्यता थियो र छ । उससँगको भेटले यस मान्यतालाई असत्य प्रमाणित गरिदियो ।

Dhir-Kumar-Shresthaबितेका तीस वर्षमा उसले आत्महत्याचाहिँ गरेको छैन भन्नेमा म विश्वस्त थिएँ । किनभने ऊजस्ता मान्छेले जतिसुकै हन्डर र दुःख पाए पनि ती चर्चायोग्य विषय बन्दैनन् तर जब त्यस्ता व्यक्तिले आत्महत्या गर्छन् तब तिनका विगत खोतलिन्छन् र अखबारका पानाहरू भरिन्छन् । विगत तीस वर्षका अखबारमा मैले थुप्रै आत्महत्याका समाचार पढेँ । तिनमा कसैले आफ्नी मन परेकी प्रेमिकासँग विवाह गर्न नपाएको झोँकमा आत्महत्या गरे भने कसैले स्वास्नी–छोराछोरीलाई खानलाउन दिन नसकेको अपराधबोधमा आत्महत्या गरे । स्वास्नी पोइल गएको पीडा खप्न नसकेर अथवा प्रेमीले धोका दिएको पीडामा आत्महत्या गर्नेको खबर पनि प्रशस्त पढेँ । तीमध्ये परीक्षामा फेल र बेरोजगार भएर आत्महत्या गर्नेको सङ्ख्या पनि कम थिएन । त्यस्ता आत्महत्याका खबरमा सधैँ चनाखो भएर उसको नाम सबभन्दा पहिले खोज्थेँ तर कहिल्यै भेटिनँ । यही कारण ऊ बाँचेकै हुनुपर्छ भन्ने विश्वास उससँगको आजको भेटले सार्थक पारिदियो ।

यसबीचमा कहिल्यै श्रद्धाञ्जली अथवा समवेदना पढ्ने आवश्यकता देखिनँ । ऊजस्ता व्यक्ति अकाल मृत्यु मरे पनि श्रद्धाञ्जली अथवा समवेदना व्यक्त गर्ने मानिस पाउन गाह्रो छ । उसले आफ्नो जीवनमा कसलाई के गुन लगाएको होला र उसप्रति कसैले श्रद्धाञ्जली अथवा समवेदना व्यक्त गरोस् ! ऊजस्ता मान्छे केवल आफ्नो स्वार्थ हेर्न सक्छ अरूको होइन । त्यसैले श्रद्धाञ्जली अथवा समवेदना नहेरेर ठीक गरेँ ।

बितेका तीस वर्षमा न त उसले आत्महत्या गरेछ न त अकाल मृत्यु मरेछ । उससँगको आजको भेटले प्रमाणित गरिदियो ।

उसले आत्महत्या पनि नगरेको र अकाल मृत्यु पनि नमरेपछि पक्कै परिस्थितिसँग सम्झौता गरेर बाँचेको हुनुपर्छ । आखिर ऊ पनि मान्छे हो । मान्छे हुनुको नाताले ऊसँग पेट छ । त्यसै नाताले एउटा आङ छ । यतिमात्र नभई उसलाई जन्माउनेहरू र उसलाई जन्माउनेले जन्माएकाहरू उससँग गाँसिएका छन् । ती सबैले आ–आफ्ना पेट र आङ लिएरै जन्मेका छन् । सबैको पेट र आङले उसभित्रको योद्धालाई पक्कै पराजित गरेको हुनुपर्छ । एक्लो बृहस्पति झुठ्ठा भएपछि आफ्ना कारणले नभए पनि परिवारको आवश्यकताका अगाडि उसले शिर निहुराएको हुनुपर्छ ।

उसका विषयमा मेरा सोचाइ र विश्वास यस्तै बनिसकेका थिए विगत तीस वर्षमा तर आज अचानक उससँग भेट हुँदा मेरा अनुमानका विपरीत न उसले आत्महत्या गरेको थियो न परिस्थितिसँग सम्झौता न अकाल मृत्यु मरेको थियो ! मेरा सबै अनुमान बेकार थिए । जति सम्झिँदा पनि थाहा पाउन सकिनँ । उसले आत्महत्या गरेन भने किन गरेन ? परिस्थितिसँग सम्झौता गरेन भने कसरी गरेन ? अथवा अकाल मृत्यु मरेन भने किन मरेन ? रहस्य थाहा पाउन नसकेपछि म उससँग जोडिएका विगत सम्झिन थालेँ ।

उससँगका प्रसङ्ग सुरु हुनुभन्दा अगाडि म मेरा प्रतिद्वन्द्वीलाई तह लगाउन व्यस्त थिएँ । मेरा प्रतिद्वन्द्वी मभन्दा सिनियर थिए । उनलाई पछारेर विभागीय प्रमुख बन्नु असम्भव भए पनि मेरो एकमात्र लक्ष्य त्यही थियो । विभागीय प्रमुख बन्न आवश्यक पर्ने शैक्षिक योग्यता, दुर्गमक्षेत्रको अनुभव, तालिम, कार्यक्षमता, कृतिलेखन, जेष्ठता आदि उनीसँग थिए । विभागीय प्रमुखको निर्विरोध उमेदवार उनीमात्र थिए । ती कुरा मलाई पचेनन् । चानचुने हिसाबले उनलाई पछाडि पार्न सकिन्नथ्यो । वैध (?) तरिकाले जित्न नसकिने भएपछि मैले बाध्य भएर अवैध (?) बाटा समाउनुपर्यो ।

बेलैदेखि योग्यता प्राप्त गरी कम्तीमा उनको बराबरी अङ्क प्राप्त गर्नेतिर लागेँ । त्यसका लागि छिमेकी मित्रराष्ट्रका विश्वविद्यालयहरूको चक्कर लगाइनँ कि ‘ङ’ क्षेत्रको दुर्गममा बसेर ‘क’ क्षेत्रमा दरबन्दी राखी सोबापतको अङ्क कमाइनँ ! अल्पअवधिको तालिमको समकक्षता मूल्याङ्कन गराई उनी बराबरको अङ्क प्राप्त गरिनँ कि भूतलेखकलाई लेखाएर आफ्ना नाममा कृति छपाइनँ ! कार्यसम्पादन मूल्याङ्कनमा पूर्णाङ्क प्राप्त गर्न सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिका सदस्यहरूको घरघर धाइनँ कि ? के–के गरिनँ ! विभागीय प्रमुख बन्न जे गर्नुपरे पनि पछाडि परिनँ । त्यति गर्दा पनि जेष्ठता र कार्यक्षमतामा उनलाई पछाडि पार्न सक्ने क्षमता क्षीण थियो । यो कुरा मलाई बढुवा समितिका सदस्यले बताए । त्यसपछि बढुवा समिति नै बस्न नदिने चाँजोपाँजो मिलाएर लागेँ उनको स्वाभिमानले कमाउन नसक्ने अङ्क कमाउन । त्यो थियो बढुवा समितिका सदस्यहरूलाई प्रभावित पार्ने । म आफ्ना योजनामा सफल भएँ । अन्ततः उनले पाउनुपर्ने बढुवा मैले पाएँ । विभागीय प्रमुख बनेँ ।

नियुक्ति बुझेर विभागीय प्रमुखको कुर्सीमा बसेका दिन मलाई संसार जितेको आनन्द भएको थियो । त्यस दिन बधाइ दिन र नमस्कार गर्न मेरा प्रतिद्वन्द्वी पनि आए । मैले विजित मुस्कानका साथ उनको नमस्कार फर्काएँ । त्यति हुँदा पनि उनको नूर गिरेन तर लक्ष्य प्राप्त गरिसकेकोले मलाई उनीबाट कुनै खतरा थिएन । विभागीय प्रमुखको कुर्सी मेरा लागि सुरक्षित थियो । त्यसलाई हल्लाउन सक्ने तागत कसैसँग थिएन । जोसँग थियो उनलाई उनको स्वाभिमानले ख्वापलाक्कै निलेको थियो । त्यसले गर्दा उनी मेरा लागि विष नभएका सर्प थिए । सपेराले सर्पलाई बिन बजाएर मनखुसी नचाएजस्तै जसरी चाह्यो त्यसरी नचाउन सक्थेँ ।

उनको सट्टा मेरो बढुवा भएकोमा विभागका सबै छक्क थिए । विभागमात्र होइन वरपरका सरकारी कार्यालयमा समेत ‘छोरोमान्छे हुनु त यस्तो पो !’ भन्दै मेरो बहादुरी र चलाखीको चर्चा गर्न तिनीहरू बाध्य थिए । मबाट छाडिएका सुलसुलेहरू त्यस्ता चर्चापरिचर्चा भुइँमा खस्न नपाउँदै मसम्म ल्याइपु¥याउन तँछाड्–मछाड् गर्थे । त्यति नगरे तिनको भविष्य मेरै प्रतिद्वन्द्वीको जस्तो हुने उदाहरण म स्वयंले प्रस्तुत गरेर देखाइसकेकोले ती बेलैमा बुद्धि पु¥याउनतिर लागे । ‘आँ’ गर्दा ‘अलङ्कार’ बुझ्ने तिनको योग्यताबाट म प्रभावित थिएँ । आश्वासन दिएँ, ‘मौकामा हेरौँला ।’ मेरो वचनलाई आशीर्वाद सम्झँदै ती आआफ्ना योग्यताप्रदर्शन गर्नतिर लागे । तीमध्ये थोरैतिनोले मेरो बढुवाको आलोचना गरेको खबर ल्याउँथे । ठूलो सङ्ख्या मेरो चातुर्य र खुबीको प्रशंसा गरेको खबर ल्याउँथे । पहिलो कोटीकाले खबर ल्याउँथे, ‘विभागलाई आधुनिक बनाउन उनले त्यत्रो योगदान दिए । ती सबै बेकार गए । सिनियर र योग्यता भएर बढुवा पाइन्छ भन्नु व्यर्थ रहेछ । ऐनकानुन हात्तीको देखाउने दाँतमात्र रहेछ । धाउन सक्ने र चढाउन सक्ने योग्यता छैन भने बढुवाको आश नगरे हुने भो ।’

यस्ता खबर ल्याउनेहरू आलोचना सुनेर म रिसाउँछु कि भनी अन्तिममा हतपत आफ्नातर्फबाट फुर्का जोडिहाल्थे, ‘यो अङ्गुर अमिलो छ भनेजस्तै हो हजुर । नाच्न नजान्ने आँगन टेढो भन्ने फटाहा र लाछीहरूले गर्ने कुरा यस्तै हुन्छन् । हजुरले चिन्ता नलिइबक्सियोस् । यस्तालाई बेलैमा ठेगान लाउनुपर्छ । नभए यिन’रूले टिकिखान दिँदैनन् । पु¥याइदिनुपर्छ हुम्लाजुम्ला अनि देख्छन् बाउको बे’ । खुब जान्ने भ’र चाइने नचाइने बोल्दार’छन् ।’

दोस्रो कोटीकाले आफ्नातर्फबाट मरमसला जोडेर भन्नै पर्दैनथ्यो । तिनले सुनेका कुरा हुबहु सुनाउँदा पनि रिसाउनुपर्ने एउटा शब्द हुँदैनथ्यो । ती सुनाउँथे, ‘हजुरको खुब प्रशंसा गर्छन् सबैले । आजको जमानामा चाइने भनेको हजुरजस्तै मान्छे हो भन्छन् । उन्नतिप्रगति गर्न हजुरलाई गुरु मानेर सिक्नुपर्छ भन्छन् । हजुरको गुनगान गाएर कोही थाक्दैनन् हजुर ।’

म दुवैखाले खबरलाई ध्यानपूर्वक सुन्थेँ । आफ्नो कटु आलोचना सुुन्दा उत्तेजित भएर प्रतिक्रिया व्यक्त नगरेकोले मेरो व्यक्त्विमा गम्भीरता थपिँदो थियो । जुन गम्भीरता देखेर सुलसुलेहरू छेउछाउ पर्न डराउँथे । तिनका अनुहारमा अव्यक्त आतङ्क रोप्न सफल थिएँ । त्यसबाट मलाई बोनस फाइदा भएको थियो । तिनका आतङ्कित अनुहार देखेर विभागका अरू मदेखि डराउन थालेका थिए । विभागका सबैलाई एकएक गरी आतङ्कित पार्न परेन । दुर्गमक्षेत्रमा नियुक्ति बुझेर त्यहीँबाट रिटाएर हुन लागेकाहरू पनि घरपायक सरुवा मागेको निवेदन फिर्ता लिएर विभागको ढोकैबाट फर्किन्थे अरे । तिनलाई मैले मेरो दिव्यवाणीबाट स्वागत गर्नै पर्दैनथ्यो । त्यसै गरी बीसौँ वर्ष बढुवा नपाएको गुनासो लिएर आउनेहरू जब सुलसुलेबाट मेरा प्रताप सुन्थे अनि हतारहतार ‘ट्वाइलेट कता छ ?’ भन्दै खोज्थे अरे । ट्वाइलेट खोज्न गएकाहरू कता सुइँकुच्चा ठोक्थे पत्तै हुँदैनथ्यो । बुद्धि पु¥याउनेहरूचाहिँ मेरो घरको ठेगाना सोध्दै त्यहीँ बिहानबेलुका भेट्थे । तीबाट मलाई कुनै खतरा थिएन बरु जिल्ला फर्केर मेरो निःशुल्क विज्ञापन गर्थे ।

यसरी प्रतिद्वन्द्वीलाई पछारेर सबैतिरबाट विभागीय प्रमुखको कुर्सी पूर्णतः सुरक्षित पारेपछि मेरो भेट ऊसँग भएको थियो तर उसका अनुहारमा मेरा आतङ्कको छाया थिएन । त्यो देखेर मैले मेरा सुलसुलेहरूतिर आँखा तरेर हेर्दै जुँगा हल्लाएँ । घुम्ने कुर्सीलाई अस्वाभाविक रूपमा तीनचारपटक फनक्क घुमाएँ । मेरो व्यवहारबाट सुलसुलेहरू लगलग काम्न थाले । मैले उसलाई ‘एकछिन बाहिर बस्दै गर्नू’ भनी पठाएँ । सुलसुलेतिर हेरेँ ।

ती धामी बकेझैँ बक्न थाले, ‘हजुर हामीले सम्झाएका हौँ । तर्साउँदा पनि नमानेर आफै भित्र छिरेको हो हजुर । भर्खरको ठिटो हो । विभागको चलन बुझेकै छैन । बुझेपछि आफै ठेगान लागिहाल्छ । आत्तिनुपर्ने क्यै छैन हजुर । लोक सेवाबाट एक नम्बरमा सिफारिस भ’र आ’को घमन्ड होला । बस्दै गए’छि ठीक लागिहाल्छ हजुर । कि अैफले नै कालिकोटतिर पठाइदिम् हजुर ।’

मैले केही नबोल्दै तिनले त्यति बोले । तिनले जतिसुकै ढाडस दिए पनि उसको कलिलो अनुहारमा जमेर बसेको आत्मविश्वास देखेर पहिलोपटक झस्केँ । मेरो विजित मानसिकतामा सानोतिनो भूकम्प गयो । टाउकोमाथि पहिरो खस्तै गरेको अनुभव गरेँ । सम्भावित अनिष्टको सङ्केत उसका आँखामा देखेँ । त्यो अनिष्टले तर्र्सायो । बाघको मुटु लिएर हिँडेको म खरायोसँग डराएँ ।

खरिदारको नियुक्ति लिन लोक सेवाको सिफारिससहित सरासर मेरो कोठामा पसेको उसले पहिलोपटक सोधेको थियो, ‘म आउन सक्छु, सर ?’

उसका स्तरका कोही कर्मचारी मेरो कोठामा छिर्न त के ढोकाबाट च्याउनसमेत सक्तैनथे । त्यस्तो विभागमा उसको साहश देखेर म चकित भएँ । बाटामा हिँड्दा पनि उसका स्तरका कर्मचारी मबाट टाढै बसी झुकेर नमस्ते गर्थे तर उसले नमस्कार गर्दा शिर अलिकता पनि झुकाएन । त्यो नै मेरा लागि अनिष्टको पूर्वसङ्केत थियो । बेलैमा तह लगाउन नियुक्तिसँगै कालिकोटको सरुवा चिठी थमाएँ । त्यसो गर्दा घरपायक पठाइदिन याचना भरिएको अनुहार लिएर आउला भन्ने लागेको थियो तर अनुमानका विपरीत ऊ सरुवाचिठी बुझेर ठम्ठम्ती गयो । काठमाडौँको रिक्त दरबन्दीमा लोक सेवाले गरेको सिफारिसका विपरीत कालिकोट पु¥याइदिँदा पनि उसले गुनासो लिएर आएन । म चाहन्थेँ तर ऊ फर्केर आएन । उसका ठाउँमा कालिकोटबाट धेरै दिनदेखि सरुवा गर्न नसकेका एकजनालाई सरुवा गरेँ जसले धेरैपटक घरमै मलाई भेटेको थियो ।

ऊ कालिकोटको सरुवापत्र लिएर गएपछि मलाई हजार मनको भारी बिसाएको जस्तो भयो । मेरा वर्चस्वका दिन पुनः निष्कण्टक रूपमा चल्न थाले तर त्यो धेरै दिनसम्म कायम रहन सकेन । ऊ कालिकोट गएको दुई महिना पनि भएको थिएन ।

‘कालिकोटबाट त्याँको हाकिमको फोन छ हजुरलाई’ अचानक पी.ए.ले भने ।

‘हजुरले याँ कस्तो मान्छे पठाइदिनु भा !’ फोन उठाउनासाथ हाकिम गुनासो गर्न थाले ।

‘किन ? के भो’ ?’ पनि भन्न पाएको थिइनँ ।

‘भरखर सरुवा गरेर पठाउनुभ’को त्यो ठिटो हाम्ले भनेको मान्दै मान्दैन । कस्तो अटेरी र जिद्दी छ भने भनिसाध्य छैन हजुर ।’ हाकिम धाराप्रवाह भन्न थाले ।

उसको आँखामा पहिलोपटक हेर्दा जे देखेको थिएँ त्यही भयो । मेरो शङ्का सही ठहरियो । त्यो ठिटोले गरेको बदमासीभन्दा पनि मान्छेको अनुहार हेरेर उसको स्वभावका बारेमा थाहा पाउन सक्ने कला ममा विकसित भएकोमा गौरव लाग्यो ।

‘सम्झाउनू त्यल्लाई । म पछि फोन गरूँला ।’ निश्चिन्त भई भनेँ ।

आफू निश्चिन्त भएको प्रभाव दिन सके पनि उसलाई तह लगाउनु मेरा लागि चुनौती थियो । म ध्यानदृष्टिले जुक्ति खोज्न थालेँ ।

‘त्यो जाबो खरदारका लागि मजस्तो प्रथम श्रेणीको हाकिमले किन व्यर्थमा टाउको दुखाइराख्ने ! जे गर्छ गरोस् । मेरो कुर्सी छिन्न सक्ने होइन ।’ एक मन लाग्यो ।

‘त्यसो भनेर काँ हुन्छ ! चलन भनेको चलन हो । बसाउन जति गाह्रो हुन्छ निरन्तरता दिन त्यति कठिन हुन्छ । एकपटक भत्केपछि ठड्याउन उतिकै मुस्किल हुन्छ । त्यस केटालाई समय छँदै ठेगान लगाइहाल्नुपर्छ । बदमासीको सजाय नदि’ काँ हुन्छ र !’ तुरुन्तै अर्को मनले भन्यो ।

+ + +

‘ऊ ठीक ठाउँमा आयो ?’ केही दिनपछि फोन गरेर हाकिमलाई सोधेँ ।

‘काँ ठीक ठाउँमा आउनु हजुर ! त्यो त यो ग्रहको मान्छे नै हैनजस्तो छ । आजको संसारमा पनि यस्ता मान्छे हुँदार’छन् । कैले सोचेको थि’नँ । क्यै भने कि मलाई सरकारले तलब दे’को छ । तपाईंहरूको चलनसलनको मतलब छैन भन्छ हजुर ।’ हाकिमको जवाफ थियो ।

फोनमा हाकिम रुनमात्र सकिरहेका थिएनन् । नयाँ जुक्ति निकालेर उसलाई फोनमा बोलाउन भनेँ ।

‘नमस्कार सर ।’ आवाज आयो ।

उसको स्वर सुन्नेबित्तिकै मभित्रको विजित मान्छे हरायो ! आँखाले मात्र होइन उसको स्वरले पनि झस्काउँदो रहेछ । त्यस बखतमात्र थाहा पाएँ तैपनि हारेको देखाउनु थिएन । जीवनमा असफलताको मुख नदेखेको मैले ऊसँग पराजित हुनुपर्ने आवश्यकता थिएन । कस्ताकस्तालाई ठेगान लगाएँ भने ऊ जाबो महŒव दिइराख्नुपर्ने विषय नै थिएन तर पनि ऊसँगको मेरो व्यवहार ऊजस्तै अरूसँगको भन्दा फरक भइरहेको थियो ।

‘किन ?’ थाहा भएन । डाँकोले निलेर मैले बोलेपछि ऊजस्ता ले फोन समातेको समात्यै तुरुक्क …. फेरेर रिसिभर छाडी भाग्थे अरे । त्यसरी मेरो हप्काइ भेटेकाहरू मेरो छेउ पर्ने त के आवाज सुनेरै लाखापाखा लाग्थे । मेरो प्रभुत्व निष्कण्टक थियो । कसैले रोकावट खडा गर्ने साहस गर्दैनथे ।

‘नमस्कार सर ।’ फोनमा धेरै बेर नबोलेपछि उताबाट उसको आवाज आयो ।

रिसिभर समातेको समातेकै हराएछु । उसको आवाजले यथार्थमा ओर्लें ।

‘नमस्कार–नमस्कार । के छ हालखबर ?’ सोधेँ ।

‘ठीक छ सर ।’ उसको जवाफ थियो ।

‘ल राम्रोसँग काम गर्नू । जनतालाई दुःख दिने होइन नि । जनता भनेका हाम्रा अन्नदाता र भगवान् दुवै हुन् । क्यै दिए भने पनि नलिनू ।’ अनायासै मेरो मुखबाट फुस्कियो ।

‘यो के भइरहेछ ! म उसलाई एक थोक भन्न चाहन्छु मुखबाट अर्कै थोक फुस्किहाल्छ । उसका अगाडि आफूलाई जति बलियो र कठोर देखाउन खोज्छु त्यति नै कमजोर प्रमाणित हुन्छु । मजस्तो जित्ने बानी परेका मान्छेलाई यो के भइरहेछ । अन्योलमा छु ।’ उसलाई आदेश दिइसकेपछि झल्याँस्स भएँ ।

रिसिभर राखिदिएँ । उसको छायासम्म नसम्झने भनी विभागको काममा लागेँ जहाँ कुनै अवरोध थिएन । मेरो प्रगति बगिरहेको खोलाको गतिमा गतिमान थियो ।

‘हजुरले त्यल्लाई के भनिदिनुभो’ ? याँ टिकिखानै दे’न । पैला त आफूमात्र लिँदैनथ्यो । हजुरले फोन गरे’छि हाम्लाई’नि खान दिँदैन । बाँच्नै गारो भइस’को हजुर । त्याँ कसरी पुर्याउँने ? क्यै भन्यो कि मलाई डी.जी. साबले भन्नुभा’छ भन्छ ।’ एक दिन अचानक उनै कालिकोटे हाकिमको फोन आयो ।

+ + +

‘त्यसो भए अनुशासनहीनमा कार्वाइ चलाउन लेखी पठाउनू । म ठीक पार्छु ।’ उसको नाम सुनेर चलनबाट चिप्लिनु थिएन । आफूलाई कठोर बनाएर आदेश दिएँ ।

हाकिमले त्यसै गरे । भन्नेबित्तिकै जिल्ला प्रशासन कार्यालयबाट ºयाक्स गरेर उसका विरुद्धका गोप्य चिठी पठाए । कारबाही गर्ने बहाना खोजेँ । दुर्गममा सरुवा गरी पठाऊँ भने कालिकोटभन्दा अर्को दुर्गम ठाउँ थिएन । अनुशासनहीन भएकै कारण देखाई अवकाश दिन लोक सेवाले स्वीकृत दिँदैन । जबरजस्ती अवकाश दिऊँ भने अदालतले मुद्दा जिताउँछ । कस्ताकस्ता काण्ड गर्नेले त जिते भने उसको दोष भनेको केवल परम्परादेखि बसिआएको चलन तोड्नु थियो जसलाई मैले कलात्मकतापूर्वक निरन्तरता दिएको थिएँ ।

यतिमात्र होइन, म विभागीय प्रमुख छँदै अदालतबाट मुद्दा जितेर आई मेरै टेबलमा फैसला पछारिदिए के गर्ने ? उसलाई पराजित गर्न खोज्दा आफै पराजित हुने सम्भावना प्रबल थियो । कति पुरानै सूत्रलाई प्रयोग गरिरहने ? नयाँ जुक्ति सोचेँ । कहिलेकाहीँ नयाँनयाँ प्रयोग हुनुपर्छ । आखिर जमाना शासनभन्दा उत्प्रेरणाको हो । यसलाई नवीन व्यवस्थापनको सफलताको रामवाण पनि मानिन्छ ।

‘चितवनका हरियाहरिया कटकटाउँदा गैँडाको दर्शन गरेपछि महादेवको त तीन नेत्र बल्छ भने ऊ जाबो कुन खेतको मुला हो र ! कतै झिक्राझाक्री बटुल्नुप¥यो भनी विद्रोह गरेको हो कि ? दुईओटै हातले सोहोर्दा नभ्याउने ठाउँमा पठाइदियो भने सुध्रिहाल्छ कि ?’ यही सोचेर ‘ङ’ श्रेणीको दुर्गममा उसको सरुवा गरिदिएँ ।

उसको सरुवा चिठीमा सही गरेपछि अनौठो आनन्द भयो । बाटो छेकेर बसेको ठूलो ढुङ्गो तह लागेको अनुभव भयो तर त्यो पनि धेरै दिन कायम रहेन । त्यहाँ पनि उपद्रो मच्चाउन थालिहालेछ । अफिसमा हाजिर भएको दिनबाटै रङ देखाउन थालिहालेछ ।

‘अफिस स्याप्पै सुकाइदिन आँट्यो हजुर । हाम्रो केही सीप लागेन । गुन्डा लगाउँदा पनि डराउँदैन । उल्टै जाइलाग्छ । गुन्डा पनि अचम्ममा छन् । यस्तो मान्छे त जिन्दगीमा कहिल्यै देखेको थि’नँ भन्छन् !’ हाकिमले आँत्तिएर फोन गरे ।

सम्पूर्ण विभाग एकछत्र पार्न सक्ने मेरा लागि ऊ टोक्नु न बोक्नु भयो ।

‘म आफै आउँदै छु केही दिनपछि । त्यतिन्जेल जगेडामा राख्नू ।’ केही सीप नलागेपछि भनेँ । फोन राखेँ ।

जिल्लाभ्रमणमा जानुअघि आफ्नो अनुपस्थितिमा निमित्त विभागीय प्रमुखको जिम्मेवारी आफैले हराएका प्रतिद्वन्द्वीलाई दिनुपर्ने भयो । त्यो चाहँदिनथेँ । उनलाई तह लगाउने जुक्ति सोचेँ ।

‘जहाँ इच्छा त्यहाँ उपाय ।’ ठीक त्यहीबेला छोटो अवधिको विदेश तालिम आयो । सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने गरी खरदार स्तरका कर्मचारीका लागि आएको तालिममा उनैलाई पठाएँ । त्यसबाट जेष्ठताको तेस्रो नम्बरमा रहेका आफ्ना हनुमानलाई निमित्त विभागीय प्रमुखको जिम्मेवारी दिन बाटो खुल्यो ।

म निस्केँ जिल्लाभ्रमणमा । पहिलो गाँसमै ढुङ्गा नपरोस् भनी सुरुमा वरपरका जिल्ला पुगेँ । त्यहाँ मेरो राम्रो पकड थियो । राम्रो खातिरदारी भयो । जुँगा हल्लिनेबित्तिकै कुरो बुझ्नेहरू थिए त्यहँँ । मुख फोरेर क्यै भन्नु पर्दैनथ्यो । अनुहारको रङ हेरेर आवश्यकता पहिल्याउन सिपालु थिए तिनीहरू । ती त्यस्ता क्षमतामा गौरवबोध गर्थे । मेरा लागि फाइदाकै विषय थियो । नियमित आय छँदै थियो । अतिरिक्त बोनस फाइदासमेत भयो । त्यो के भने वरपरका जिल्लाबाट ऊ भएको जिल्लासम्म मेरा प्रतापका खबर निरन्तर पुग्थे । ऊ गल्दै गएको होला भन्ने मेरो अनुमान थियो । बेकार रहेछ । म पुग्दा उसको अनुहारको ओज कम थिएन । मलाई पचेन । दुईचार दिन बसेर तह लगाउने विचार गरेँ ।

मेरा नयाँ प्रविधि एकपछि अर्को असफल हुँदै थियो । यसैले पुरानै प्रविधि दोहोर्याउने निधो गरेँ ।

‘यत्रो जिल्लाको अफिस फोहोर राख्ने हो । सफा गर्न पर्दैन । के गर्छन् यहँँका पिउनहरू ? खोइ हाकिम ? यही हो तपाईंको चाला ? आफ्ना कर्मचारीलाई ठीक ठाउँमा राख्न सक्नुहुन्न ? जनताको काम नगरेर किन तपाईंहरू यहाँ ? के फुटबल खेल्न जम्मा हुनुभएको हो ?’ कार्यालय पुग्नुभन्दा अगाडि मेरा स्वागतमा दुई पङ्क्तिमा उभिएका हाकिमलगायतका कर्मचारीको सातो खाने गरी डुक्रिएँ ।

त्यसो भनिरहँदा आफू बसेकै विभागलाई सम्झेँ जहाँ फोहोर र अव्यवस्थाको डङ्गुर थियो तर पनि सङ्लो पानी धमिलो पार्ने सोचेँ । अब यो भनिरहन परोइन कि धमिलो पानीमा माछा मार्ने सोच थियो । आफ्नो आङको जुम्राभन्दा अरूका आङको भैँसी देखाउँदा फाइदा थियो ।

‘बल्ल तह लाग्ने भए यहाँका गतिछाडा कर्मचारी । दुःख दे’र हैरान पारेका थे । हाकिम हुनु त यस्तो पो जनताका पिरमर्का बुझ्ने ।’ मेरो डुक्राइ सुन्ने जनता भन्न थालेका थिए ।

तिनीहरू उत्साहित हुँदै गुनासाका ज्वाला ओकल्न थाले तर तिनलाई थाहा भएन, निकट भविष्यमा ती महाबेबकुफ बन्नेवाला छन् । मेरो यो मूल मन्त्रलाई तिनले बुझेनन् । तिनका गुनासामा मैले आफ्नो फाइदा देखेँ । गुनासामा नाम आएका कर्मचारीलाई बोलाउँदै जनताकै अगाडि झपार्नुसम्म झपारेँ । कर्मचारी लगलग कामे । जनताका अगाडि कारबाही गर्ने आश्वासन दिएँ । आश्वासनका पोका बोकेर ती लाखापाखा लागे । लगलग कामेका कर्मचारीबाट बर्सिन थाले । मलाई फाइदा भयो ।

आनन्द लाग्यो बेलामा बुद्धि पु¥याउन सकेकोमा । बालुवाबाट तेल निकाल्ने कलाको कलाकारलाई जनताले चिन्दै चिनेनन् । चोखो बचेँ । एकातिर जनताका नजरमा जनपक्षीय हाकिम र कर्मचारीका नजरमा आपत्का बेला बचाउने उद्धारकर्ता भएँ । जनताका अगाडि कर्मचारीलाई नझपारेको भए अचार बनाउँथे । गर्न पनि तिनले क्षम्य गल्ती गरेका थिएनन् । अक्षम्य नै गरेका थिए ।

गुनासामा उसको पनि नाम आउँछ कि भनी ध्यान दिएर सुनेँ तर आएन । जगेडामा राखिएकोले उसबाट कोही परिचित रहेनछन् । एउटा फाइदा भने भयो । त्यो फाइदा थियो, उसलाई देखाएर कसैले अरूको मूल्याङ्कन गर्ने अवसर पाएनन् । त्यसो भएको भए उसलाई तह लगाउने मेरो लक्ष्यमा बाधा पथ्र्यो ।

मलाई थाहा थियो, सकेसम्म खोट देखाउनुपर्छ । जति बढी खोट देखायो त्यति बढी फाइदा हुन्छ । जनताका अगाडि झपारेर खडा गरेको एउटा आतङ्कमा अर्को आतङ्क थपिन्थ्यो । आतङ्कित ती मलाई खुसी पार्नतिर लाग्थे । मेरो फाइदा त्यहीँनिर थियो । एक तीर दुई निसाना साध्ने लक्ष्य थियो । अरू सबै आतङ्कित भइसकेपछि ऊ पनि मलाई देख्नेबित्तिकै कट्टुमा तुरुक्क …. फेरेर त्वं शरणम् हुन्छ कि भन्ने लागेको थियो । त्यही सोचेर जनताले गुनासा गरिरहँदा म सकेसम्म कर्मचारीका खोट देखाउँदै थिएँ ।

पहिलो भेटमै डाँकोले निलेर सातो लिएपछि सबैजना मुन्टो निहुराउँदै मेरो पछि लागे तर मेरो अनुमानका विपरीत ऊ मुसुमुसु हाँस्तै ठाडो शिर पारेर आफ्नो कुर्सीतिर लाग्यो । एक तीरले दुई निशाना साध्ने र नाङ्लो ठटाएर हात्ती तर्साउने मेरो सूत्र उसका अगाडि पराजित भयो । हाकिमले अगाडि सारिदिएको कुर्सीमा बसेँ । त्यहाँ पनि हाकिमले नभएर उसले कुर्सी अगाडि सारिदेओस् भन्ने सोचेको थिएँ तर शिष्टाचारवश पनि उसले त्यसो गरेन । म बसेपछि सबैजना परपर बसे । त्यो भिडमा ऊ थिएन ।

‘के यहाँ तमासा भइर’को छ ? खुरुक्क आफ्नो–आफ्नो काम नगरेर … ।’ उसलाई नदेखेपछि मेरो रिसको पारो बढ्यो । वाक्य पूरा भई नसक्दै कोठा रित्तो भयो । म र हाकिमबाहेक अरू भएनन् ।

‘काँ ठीक लाग्नु हजुर । उस्ताको उस्तै छ कस्तो कोकल्याँटे र जब्बर छ भने भनिसाध्य छैन । एक्लो बृहस्पति झुठ्ठा भएर पनि उसको सानमा कुनै कमी आएको छैन ।’ हाकिमले भन्यो ।

दोस्रो अस्त्र फ्याँक्ने निश्चय गरेर उसलाई बोलाई एउटा चिठी लेख्न लगाएँ । भरखर नियुक्ति पाएकोले प्रशासनिक काम सिकिसकेको छैन भन्ने मेरो दृढ निश्चय थियो । त्यसैलाई अस्त्रका रूपमा प्रयोग गर्ने सोचेँ तर मेरो दृढ निश्चयका विपरीत उसले मैले भनेजस्तै चिठी लेखेर दियो । लेखाइमा कुनै खोट पाइएला र त्यसैलाई देखाएर उसलाई झपार्नुसम्म झपारूँला भनेर चिठी हेरेँ तर त्रुटि कुनै भेटिनँ । उसको सातो खाने ठाउँ नभेटेपछि बाहिर पठाएँ । उसमाथि आक्रामक बन्ने सोच बनाएँ ।

जगेडामा राखिएको भए पनि सुको नआउने ठाउँमा उसलाई काम लगाउने गरिएको रहेछ । हाकिमको त्यो चतु¥याइँ भने मलाई मन प¥यो । त्यस्तै काममा ऊ कतै जाँदै थियो । त्यो देखी मैलै निशानामा अचूक वाण फ्याकेँ, ‘ससुराली जान हिँडेको ?’

मलाई विश्वास थियो अप्रत्याशित तीरबाट ऊ ठाउँका ठाउँ ठहरै हुन्छ, तिरमिराउँछ र अरूजस्तै विनित हुन्छ । मलाई थाहा थियो, उसको बिहे भएको छैन तैपनि उसको स्वाभिमानमा चोट परोस् भनेरै तीर हानेको थिएँ । मेरो विश्वासका विपरीत उसले टक्क अडिएर ठाडो जवाफ दियो, ‘होइन सर, अफिसको काममा हिँडेको ।’

बाङ्गो तीरलाई उसले एक वचनमा सोझ्यायो । घुमाउने कुर्सीलाई फनक्क विपरीत दिशातिर फर्काएँ । उसलाई महŒव नदिएको अभिनय गरेँ । उसलाई वास्ता नगरिएको भन्ने जनाउन हाकिमसँग अफिसको भावी कार्ययोजनाका बारेमा छलफल गर्न थालेँ । मलाई थाहा थियो मैले आफैलाई ढाँटिरहेको थिएँ । हाकिमसँग अफिसको भावी कार्ययोजनाका बारेमा गरिएको छलफल वास्तवमा उसलाई देखाउनका लागि मात्र थियो । वास्तविकता के थियो भने भत्किन लागेको चलनलाई कसरी बाटोमा ल्याउने र आफ्नो आयलाई घट्न नदिने भन्ने बारेमा सोचिरहेको थिएँ । बाबुबाजेका पालादेखि चलिआएको चलन बिगार्न खोज्ने उसलाई कसरी तह लगाउन सकिन्छ र निरन्तरता दिन सकिन्छ भन्ने बारेमा सोचिरहेको थिएँ । आफूलाई बाहिरबाट जस्तो देखाउन खोजिरहेको थिएँ त्यस्तो थिइनँ । ऊ मेरो बेवास्ताका अतिरिक्त नमस्कार गरेर बाटो लाग्यो ।

मेरा एकपछि अर्को अस्त्र परास्त हुँदै गए । अन्ततः उसको घरको अवस्था बुझ्न लगाएँ । कतै हुनेखानेको छोरा भएकाले त्यस्तो गरेको हो कि ? होइन रहेछ । घरको अवस्था कमजोर रहेछ । बाबुआमा, दाजुभाइ कोही उसको व्यवहारसँग सहमत रहेनछन् । तिनीहरू उसलाई सम्झाउँदासम्झाउँदा थाकिसकेका रहेछन् । उसका बारेमा बुझ्न पठाएकै मान्छेसँग एक मुखले गुहार मागेछन्, ‘लौ न त्यल्लाई सुधारिदिनुप¥यो । हाम्रो याँ बेहाल छ । त्यल्लाई भने चिन्तै छैन । हाम्ले क्यै भन्यो भने ‘जनता मारेर तपाईंहरूलाई पाल्नु छैन’ भनेर उल्टै जवाफ फर्काउँछ । हामी त यो केटो बिग्रेको देखेर दिक्क भइसक्यौँ । कत्ति सम्झाउँदा ‘नि बुद्धि पलाउँदैन । क्यै गर्दा नभएपछि मागेर पो नलिनु दिएको लिए के हुन्छ ! भन्यो मान्दैन ।’

मान्छे कि पढेर चेत्छ कि परेर चेत्छ । पारेरै चेताउने जुक्ति निकालँे । उसले थाहा नपाउने गरी ऊविरुद्धका प्रमाण जुटाउन लगाएँ । सबै ठीकठाक भएपछि सहमतिका लागि लोक सेवा पठाएँ तर आरोपीलाई आफ्नाविरुद्धमा लागेको अभियोगमा सफाइ पेश गर्ने मनासिबमाफिकको मौका नदिएको भनेर फाइल फिर्ता भयो । प्रभावमा लिएका मान्छेहरू मेरा हातबाट चिप्लिन थालेको अनुभूति भयो तैपनि हार मानिनँ । उसलाई छ–छ महिनामा सरुवा चिठी थमाउन थालेँ तर ऊ गल्नुको साटो झन्झन् दृढ बन्दै गयो । केही सीप लागेन अनि मभन्दा खली खाएका विभागीय प्रमुखको मातहतमा सरुवा गरिदिएँ । त्यसदिन लामो सास तानेँ । ऊजस्ताका बारेमा सपनामा पनि सोच्नु नपरोस् भनेँ ।

सरुवा गरेर पठाएको विभागमा उसलाई सोझ्याउने उपायहरू अपनाइँदै छ भन्ने सुन्दा मलाई सन्तोष लाग्थ्यो । किनभने सँगै सरुवा भएर जाने गोप्य फाइलमा उसलाई लगाउन सकिनेजति अभियोग लगाएर पठाएको थिएँ । त्यतिले चित्त नबुझी उसका विरुद्धमा नयाँ विभागीय प्रमुखको कान भर्नसम्म भरेको थिएँ । लिखितमभन्दा बकितम प्रभावकारी हुन्छ त्यसैले ।

‘क्यै छैन ! कस्ताकस्ता बाङ्गालाई सोझ्याइयो । यो फुच्चे के हो र !’ विभागीय प्रमुखले ढाडस दिएका थिए ।

‘यो अरूजस्तो बाङ्गो होइन । अरू बाङ्गोलाई सोझ्याउन सकिन्छ । यो बाङ्गोको पनि बाङ्गो हो । योसँग बेलैदेखि होस पु¥याएर बेबहार गर्नुहोला ।’ भनेँ ।

‘ए ! हो र ?’ उसका कर्तुतका बेलिविस्तार लगाएपछि नयाँ विभागीय प्रमुख पनि एकपटक झस्केका थिए ।

‘चिन्ता नलिनुस् । म हेरूँला ।’ उनले आफूलाई कमजोर देखाउन चाहेनन् ।

नयाँ विभागमा उसको अस्मितामाथि पटकपटक प्रहार भई छियाछिया भएपछि पक्कै कुनै दिन आत्महत्या गर्छ भन्ने मेरो विश्वास थियो । त्यसकारण समाचारपत्रमा ‘आत्महत्या’को शीर्षक देख्नेबित्तिकै हतारहतार आँखा नझिम्क्याई पढ्थेँ । पढ्दै जाँदा उसको नाम भेटिहालिन्छ कि भनी सास रोकेर पढ्थेँ । पढ्दा छाती ढक्क फुलेको हुन्थ्यो । मुटु जोडजोडले धडकिरहेको हुन्थ्यो । समाचारमा उसको नाम भेटिहालियोस् भनी कहिलेकाहीँ देवीदेउता सम्झिन्थेँ तर मेरो चाहनाका विपरीत आत्महत्या गर्नेको पङ्क्तिमा उसको नाम कहिल्यै पढ्न पाइनँ । त्यो मेरा लागि ठूलो दूर्भाग्य थियो ।

देशको परिदृश्यमा परिवर्तन सल्बलाउन लाग्दा मेरो हैकम र आतङ्कले डाँडा टेकिसकेको थियो । मेरा अगाडि कोही ठाडो सिर पारेर बोल्न त के अगाडि पर्न पनि सक्तैनथे । सक्नेको शरण पर्ने र नसक्नेलाई कज्याउने नीतिले शतप्रतिशत सफलता प्राप्त गरेको थियो । मलाई विश्वास थियो, पूर्व कृत्यका कारण मेराविरुद्धमा कम्तीमा बाँकी दस वर्ष कसैले टाउको उठाउन सक्तैनन् । मैले चलाएको एकछत्र चलनमा कसैले भाँजो हाल्न सक्तैनन् । कल्पनासम्म पनि गर्न सक्तैनन् । त्यसैले मैले आफ्नो क्रूरतामा कमी ल्याउनेभन्दा झन्झन् वृद्धि गरेँ ।

त्यही एउटा भूल गरेँ । परिवर्तनका सङ्केत देखिइसकेपछि आफूलाई सच्याउनुपथ्र्यो । सकिनँ । परिणामस्वरूप जजसलाई कज्याएर राखेको थिएँ र जो आफूलाई हनुमान प्रमाणित गर्नमा गौरव गर्थे तिनै मेरो विरोधी भए । छेपाराको रङ बदल्ने कलालाई आत्मसात् गर्न नखोजेको होइन तर ढिला भइसकेछ । परिवर्तित परिस्थितिले विभागीय प्रमुखको कुर्सीमात्र खोसेन, मलाई जागिरबाटै अवकाश दियो । देशमा केही समय यस्तो आयो कि मजस्ताले आफ्ना पूर्व कृत्यका कारण सडकमा निस्किन पनि मुस्किल भयो । विपरीत परिस्थितिमा अर्जुनजस्ता धनुर्धारीले त गुप्तवास बस्नुपरेको थियो भने म के गर्न सक्थेँ र ! केही समय देशको परिदृश्यबाट आफूलाई अलग राखेँ ।

तर परिदृश्य परिवर्तन भएर मात्र नहुँदो रहेछ । मानसिकता परिवर्तन हुनुपर्ने रहेछ । देशको परिदृश्यमा परिवर्तन भए पनि देशवासीको मानसिकतामा परिवर्तन हुन नसक्ता कुना पसेको युगौँको संस्कारले पुनः टाउको उठाउन थाल्यो । मजस्तालाई पुनः बाहिर निस्किने सुवर्ण अवसर प्राप्त भयो । अवसरको उपयोग गरेँ । आफूलाई चोख्याएँ । त्यो छुट मलाई समय परिवर्तन भएर पनि परिवर्तन हुन नसकेको राष्ट्रिय मानसिकताले दियो । फलतः मैले आफूलाई समयानुकूल पार्न सकेकैले बाँकी सफलताका शिखरहरू चढ्दै गएँ । फरक यति थियो कि पहिला प्रशासकीय रूपमा सफलता पाएँ भने पछि प्राज्ञिक रूपमा ।

परिवर्तन हुन नसकेका जडसंस्कारले सफलता पाउन मलाई सघायो । अनुहार परिवर्तन भएर मात्र नहुँदो रहेछ । जबसम्म संस्कारमा परिवर्तन हुँदैन तबसम्म परिवर्तन केवल नाममात्रको हुने रहेछ । नयाँ बोतलमा पुरानै रक्सीजस्तो हुने रहेछ । यो तथ्य जब सार्वजनिक भयो अनि केही समयका लागि थाती राख्न बाध्य पुराना सूत्र काम लागे । तिनै सूत्रका भरमा सफलताको सिँढी पुनः चढ्दै जान सकेँ । सफलताका ती दिनमा पनि म उसका बारेमा खोजखबर गर्थें ।

कहिले उसले थुप्रै अवरोधका अतिरिक्त पढ्न थालेको छ अरे भन्ने सुन्थेँ । कहिले पढ्नमा राम्रो छ रे भन्ने सुन्थेँ । उसलाई पढ्न नदिने प्रयास हुँदै छन् भन्ने पनि सुन्थेँ । जाँचमा लेख्न बसेको उसको कलम छिनेर भाँच्नमात्र बाँकी छ भन्थे । गर्नु जति गरिसकियो भन्थे । त्यो सुनेर मेरो अन्तरआत्मामा शान्तिको आभास हुन्थ्यो । मेरो जलिरहेको छाती ठन्डा हुन्थ्यो ।

मानसिकता र संस्कारमा परिवर्तन नहुँदासम्म परिवेश परिवर्तन भएर मात्र ऊजस्तालाई परिवर्तित परिदृश्यले स्वीकार्दो रहेनछ । आज पनि हिजोकै मानिस थिए जो पैत्रिक संस्कार परिवर्तनका लागि क्रियाशील थिएनन् । त्यसैले उसले आज पनि पाउनुसम्म दुःख पाइरहेको छ भन्ने सुन्दा पक्कै ऊजस्ताले कुनै दिन आत्महत्या गर्न बाध्य हुनुपर्छ र हामी जस्ताको संस्कारले निरन्तरता पाउँछ भन्नेमा आशावादी थिएँ । मेरो आशाका विपरीत पढिसिध्याएर खुला प्रतिस्पर्धाबाट उसले अधिकृत पास गरेर द्वितीय श्रेणीसम्म पुगिसकेको रहेछ ।

मैले सुधार्ने चेष्टा गरेर पनि सुधार्न नसकेको त्यही द्वितीय श्रेणीसम्म पुगिसकेको अधिकृत अर्थात् उससँग आज भेट भयो । भेटका बखत मेरो अपराजित व्यक्तित्वले ऊसँग चार आँखा गर्न सकेन । त्यहाँ उसको आँखामा तीस वर्षअगाडिको चमक यथावत् थियो । त्यो चमक देखेर मैले अनुमान लगाएँ, ऊ गलेको रहेनछ र परिस्थितिसँग सम्झौता पनि गरेको रहेनछ । उसका अगाडि मेरो सफल व्यक्तित्व खुम्चियो ।

‘नमस्कार सर ।’ उसको उही तीस वर्षअगाडिको शालिन ध्वनि पुनः गुन्जियो । नमस्कार फर्काउनुको सट्टा मेरो दाहिने हात ऊतिर बढ्यो । अगाडि बढेको मेरो हातलाई च्याप्प समातेर उसले मलाई गल्नबाट बचायो ।

- See more at: http://www.onlinekhabar.com/2014/05/203002/#sthash.CqD4Xdy3.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
My facebook archive (for sale)
Top 10 Anti-vaxxers Who Got Owned by COVID
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters